PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ने क पासँग एकता गर्न तयार छौँ : महासचिव मैनाली



रासस

ने क पासँग एकता गर्न तयार छौँ : महासचिव मैनाली
फोटो : रासस।

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी (माले)का महासचिव सिपी मैनालीले सत्तापक्ष दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)सँग एकता गर्न आफू तयार रहेको बताएका छन्।

रिपोर्टस् क्लब दाङले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले ने क पाले प्रस्ताव ल्याए आफू एकता गर्न तयार रहेको बताए।

'सबै कम्युनिस्ट पार्टीसँग एकता गर्ने भनेर बाहिर हल्ला गर्ने तर आफूसँग अहिलेसम्म छलफलमा आएका छैनन्', उनले भने, 'प्रस्ताव लिएर आएमा हामी कुरा गर्न तयार छौँ।'

भारतले सीमा मिचेको विषयमा सरकारले ठोस पहल नथालेको भन्दै उनले आपत्तिसमेत जनाए। लामो समयदेखि भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेकमा आफ्ना सेना बसाएको भन्दै विगतका सरकार पनि यसमा गम्भीर नभएको बताए। अहिलेको सरकारले विगतका सरकारजस्तै कूटनीतिक पहल लिन नसकेमा मुलुकले ठूलो क्षति ब्यहोर्नेसमेत उनको भनाइ छ।

गैरनेपालीको हातमा नेपाली नागरिकता पर्न नहुने बताउँदै उनले विदेशी ज्वाइँलाई नागरिकता दिन नहुने तर नेपाली बुबाको सन्तानलाई अङ्गीकृत नागरिकताको व्यवस्था गर्नुपर्ने धारणा राखे।

'नेपाली बुबा तर विदेशी आमाबाट जन्मेको बच्चाले नागरिकता पाउनुपर्छ, यो हाम्रो पनि मुद्धा हो', उनले भने, 'तर विदेशी बुबालाई नागरिकता दिने कार्य मान्य हुने छैन।'

मुलुकबाट राजतन्त्र गएपछि सामन्तवाद शून्य भएको भन्ने कुरा गलत रहेको भन्दै महासचिव मैनालीले अहिले सामन्तवाद केही कमजोर भएको भए पनि निर्मूल भने भई नसकेकोसमेत बताए। उनले साना व्यवसायलाई प्रबर्द्धन गरेर मुलुकलाई समृद्ध बनाउन सकिनेसमेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell