PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१७ औं 'किम्फ'मा ७९ वटा फिल्महरु प्रदर्शन हुने, मंसिर २५ गतेदेखि शुरु



१७ औं 'किम्फ'मा ७९ वटा फिल्महरु प्रदर्शन हुने, मंसिर २५ गतेदेखि शुरु

काठमाडौं : मंसिर २५ गतेदेखि 'काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव' (किम्फ) शुरु हुँदैछ। सभा गृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुन लागेको किम्फको यो १७ औं संस्करण ५ दिनसम्म चल्नेछ।

विगत चार वर्षदेखि कमल पोखरीस्थित कुमारी हलमा आयोजना हुँदै आएको फिल्म महोत्सव पछिल्लो दुई वर्षदेखि राष्ट्रिय सभा गृहमा सञ्चालन हुँदै आएको छ। उक्त महोत्सवमा डकुमेन्ट्री, कथानक फिल्म, लघु फिल्म र प्रयोगात्मक फिल्महरु गरी २९ वटा देशका ७९ वटा फिल्महरु देखाइनेछ। 
'यसपटक महोत्सवमा देखाइने फिल्महरुले दर्शकहरुलाई रिझाउन सदा झैं सफल हुनेछ। साथै फिल्महरु हेरिसकेपछि नेपाली समाजलाई तरंगित पार्ने खालका मुद्दाहरुबारे बहस गर्न महोत्सवका गुणी दर्शकहरु प्रेरित हुनेछ,' महोत्सवका अध्यक्ष बसन्त थापाले बताए।  

सर एडमण्ड हिलारीको शत वार्षीकीको अवसर पारेर यो पटक किम्फको शुरुवात 'दि एसेन्ट अफ एभरेष्ट' नामक फिल्मको विशेष प्रदर्शनबाट हुनेछ। यस फिल्ममा हिलारी र तेन्जिङ नोर्गेले २९ मे सन् १९५३ मा सफलतापूर्वक सर्वोच्च शिखरमा पुगेको एतिहासिक क्षणलाई समेटिएको छ।

त्यस्तै किम्फ र ओपन सोसाइटी फाउण्डेसनले नेपाली युवा फिल्म मेकरलाई प्रोत्साहित तुल्याउन परिवर्तित नेपाल शिर्षकमा लघुफिल्म प्रतियोगिता आयोजना गरेका छन्। यस प्रतियोगितामा तिन उत्कृष्ट लघुफिल्मलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार पुरस्कार दिइनेछ। 

किम्फ नियमित खण्डमा रहेको नेपाल पानोरामामा नेपाली प्रतिभाहरुका १४ वटा फिल्महरु छानिएका छन्। 

किम्फमा छनोट भएका फिल्महरुमध्ये उत्कृष्ट छान्नका लागि निर्णायकमा कलाकार अस्मिता रञ्जित ‌(नेपाल), फेस्टिभल डाइरेक्टर गाब्रियला क्हून (पोल्याण्ड), फिल्म निर्देशक ली जे कू (कोरिया), र आरोही फिल कोट्स (बेलायत) रहेका छन्। अन्तर्राष्ट्रिय विधातर्फ १७ वटा फिल्म छानिएकामध्येबाट उत्कृष्ट तिन वटा फिल्म निर्णायकहरुले छान्नेछन्। 

उत्कृष्टमध्ये २ लाख रुपैयाँ पहिलो पुरस्कार नेपाल पर्वतारोहण संघले, डेढ लाख रुपैयाँको दोस्रो पुरस्कार दीपलक्ष्मी फाउन्डेसनले र एक लाख तेस्रो पुरस्कार स्वीट्जरल्याण्डकी फ्रेडी उसुर्ला बुहल्याण्डले प्रायोजन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell