PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पृथ्वी प्रज्ञा-पुरस्कार सत्यमोहन जोशीलाई, भाषासाहित्यमा योगदान दिने अन्य सात जना सम्मानित



पृथ्वी प्रज्ञा-पुरस्कार सत्यमोहन जोशीलाई, भाषासाहित्यमा योगदान दिने अन्य सात जना सम्मानित

काठमाडौँ  : सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशिको पृथ्वी प्रज्ञा–पुरस्कार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिइएको छ। 
 

नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा दिने पुरस्कारको राशि चार लाख रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र छ। राष्ट्रपति निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष जोशीलाई पुरस्कार प्रदान गरेकी हुन्। 

यसैगरी नेपाल प्रज्ञा सामाजिक शास्त्र÷संस्कृति÷दर्शन पुरस्कार प्रा डा त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरियो। प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि एक लाखसहित दोसल्ला र सम्मानपत्र छ। नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा डा टङ्कप्रसाद न्यौपानेलाई प्रदान गरियो। प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारको राशि रु एक लाख, दोसल्ला र सम्मानपत्र छ।

नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७५) मदन रेग्मी, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७६) भागीरथी श्रेष्ठ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमर तुम्याहाङ, नेपाल प्रज्ञा मातृभाषासाहित्य पुरस्कार (२०७५) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अयोध्यानाथ चौधरी, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमृत योञ्जन तामाङ तथा नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अशोक थारुलाई प्रदान गरिएको थियो।
 
उक्त पाँचवटै पुरस्कारको राशि एक लाख नगद, दोसल्ला र सम्मानपत्र छ। राष्ट्रपति भण्डारीले राष्ट्रिय कविता महोत्सव २०७६ मा विजयी कविलाई पनि पुरस्कृत गरिन्। महोत्सवमा पहिलो स्थान हासिल गर्ने धादिङका हेम प्रभासलाई ३५ हजार, दोस्रो स्थान हासिल गर्ने डोटीका सुभाषचन्द्र भण्डारीलाई २५ हजार, तेस्रो स्थान हासिल गर्ने लमजुङका प्रज्वल अधिकारी, सोलुखुम्बुकी शान्ति शर्मा र काठमाडौँका प्रकाश बस्नेतलाई रु २० हजार प्रदान गरिएको थियो। 
 
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले वाङ्मय क्षेत्रको विकासका लागि सम्मानले सहयोग गर्ने बताइन्। प्रकृति र संस्कृतिसँग एकाकार गरी साहित्य सिर्जना गरेर राष्ट्रियतालाई अभिवृद्धि गर्न सकिने भण्डारीको भनाई थियो। 'राजनीतिक परिवर्तनलाई कला र साहित्यले ऊर्जा प्रदान गर्नुपर्छ, प्राचीन संस्कृति बोकेको स्वाधीन मुलुकमा सुदृढ सहिष्णुता छ, त्यसलाई कायम राख्न साहित्य क्षेत्रले योगदान गर्नुपर्छ,' राष्ट्रपति भण्डारीले भनिन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वीय सभ्यताले एकताको सन्देश दिएकाले अनेकौँ अप्ठ्याराबाट मुलुक जोगिँदै आएको धारणा राखे। एक सय २३ भाषा, अनेकौं धर्म संस्कृति भएका नेपाली राष्ट्रियताबाट सङ्गठित भएको उनको भनाइ थियो। प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यसै साताभित्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई सङ्ग्रहालयका रुपमा स्थापित गर्ने अभियान शुरु हुने जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell