PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सहायक श्रीमान : बहुपति प्रथाको यथार्थ कथा



सहायक श्रीमान : बहुपति प्रथाको यथार्थ कथा

काठमाडौं : नेपालमा अधिकांश हिमाली क्षेत्रमा अझै यस्ता ठाँउहरु छन्, जहाँ बहुपति प्रथा कायमै छ। कर्णाली प्रदेशको हुम्लामा अझै पनि यो प्रथा कायमै छ। जसअनुसार जेठो दाजुले विवाह गरि भित्र्याएको दुलहीलाई सबै भाईहरुले श्रीमती मान्ने चलन हुन्छ।

यहि बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड) १७ औं अन्तराष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ)मा नेपाली पानोरामा अन्तर्गत प्रदर्शन गरिएको छ। कर्णाली प्रदेशको हुम्लाको भरगाँउमा छायांकन गरिएको उक्त डकुमेन्ट्री फिल्ममा जेठो दाजुलाई मुख्य श्रीमान र भाईहरुलाई सहायक श्रीमानको रुपमा देखाइएको छ।

डकुमेन्ट्रीमा देखाइए अनुसार सो क्षेत्रका अधिकांश तामाङ समुदायमा सबै दाजुभाईले एउटै श्रीमती विवाह गरेता पनि जेठो दाजु बाहेक अन्य भाईहरुले आफ्नो श्रीमतीलाई भाइजु भन्ने चलन छ। सो डकुमेन्ट्रीले हुम्ला, डोल्पा लगायतका हिमाली क्षेत्रमा रहि आएको बहुपति प्रथाको यथार्थलाई चिरण गरेको छ।

सहायक श्रीमानलाई निर्देशक तथा पत्रकार गणेश पाण्डेले निर्देशन गरेका हुन्।

उक्त डकुमेन्ट्री तीनवटा परिवारमा केन्द्रित छ। तीनै परिवारका पात्रमध्ये एक हुन् सांसद छक्क बहादुर लामा। सांसद लामा बहुपति प्रथाबाट पिडित छन्। यो प्रथाको विरोध गरेकै कारण उनी आफ्नो समाजबाट पनि बहिष्कृत छन्। प्रेम विवाह गरेका लामाको श्रीमतीमाथी अन्य दाजुभाईको पनि उतिकै हक लाग्दा त्यो उनलाई स्वीकार्य भएन।

सहायक श्रीमानको बन्धन तोड्दै समाजविपरित गएर उनले अर्को विवाह गरे। राजनीतिमा होमिएपछि लामो समयसम्म घरबाट बाहिर रहँदा घरकी श्रीमतीले बढी समय अन्य भाईसँग बिताँउदा आफूलाई श्रीमतीले कम माया गरेको भन्दै उनले दोस्रो विवाह गरे। संस्कृति र परम्परा विपरित जाँदा उनी समाजबाट बहिष्कृत नै भए।

सांसद लामा जस्तै यहि डकुमेन्ट्रीका अन्य पुरुष पात्र पनि बहुपति प्रथाबाट खुसी छैनन्। अन्य पात्रले पनि आफ्नो श्रीमतीलाई भाउजुको रुपमा स्वीकार गर्न नसक्दा दोस्रो विवाह गरेका छन्।

बहुपति प्रथामा घरको मुली नै श्रीमती हुने फिल्मका निर्देशक पाण्डे बताँउछन्।

उनी भन्छन्, 'यस प्रथामा महिलाले नै श्रीमानलाई यी कामहरु गर भनेर अयाउने गर्छिन्। अनि श्रीमती एक महिना एकजना भाईसँग र अर्को महिना अर्कोसँग बस्छिन्। घरमा कोही न कोही श्रीमतीसँग भइरहन्छन्।'

त्यसो त निर्देशक पाण्डेले निर्माण गरेको पहिलो डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ २०१५ को किम्फको ‍ओपनिङ फिल्म थियो। त्यस्तै सो डकुमेन्ट्रीले थुप्रै अन्तराष्ट्रिय अवार्डहरु समेत जितेको थियो।

साथै बेलायतको संसदमा प्रस्तुत गरिएको यो पहिलो डकुमेन्ट्री फिल्म हो। 'भाग्यले बाँचेकाहरु'मा २०७२ को भूकम्पमा परि बाँच्न सफल भएकाहरुको कथालाई प्रस्तुत गरिएको छ। पहिलो डकुमेन्ट्रीबाट किम्फमा दुईवटा राष्ट्रिय र थुप्रै अन्तराष्ट्रिय अवार्ड पाएसँगै निर्देशक पाण्डेले ‘सहायक श्रीमान’ निर्माण गरे।

सहायक श्रीमान बनाउन झण्डै ४ वर्ष लागेको पाण्डेले बताए।

‘भाग्यले बाँचेका यति लोकप्रिय भयो कि मैले अझै राम्रो फिल्महरु बनाउनु पर्छ भन्ने मलाई लागेपछि मैले सहायक बनाए', उनले भने, ‘यो डकुमेन्ट्री मैले चार वर्ष लगाएर किम्फलाई लक्षित गरि निर्माण गरेको हो। यो डकुमेन्ट्रीको विषय पनि एकदमै नौलो छ। अहिलेसम्म नेपालमा बहुपति प्रथाको बारेमा कुनै पनि फिल्म बनेको छैन। मलाई लाग्छ अब यो बारेमा फिल्म बन्न पनि गाह्रो छ।’

एक वर्षको रिसर्च र तिन वर्ष छायांकन गरि ४ वर्षको मिहेनतपछि निर्देशक पाण्डेले बहुपति प्रथामा आधारित सहायक श्रीमान निर्माण गरेका हुन्। ३५ मिनेट लामो उक्त फिल्मलाई शारदा गैरेले निर्माण गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell