PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पोखरामा साहित्य महोत्सव : तेस्रो दिन शृंखला खतिवडादेखि विनोद चौधरीसम्म



पोखरामा साहित्य महोत्सव : तेस्रो दिन शृंखला खतिवडादेखि विनोद चौधरीसम्म

पोखरा : आइएमई नेपाल साहित्य महोत्सवको तेस्रो दिन आइतवार पनि पोखराको तालबाराही चोक, लेकसाइडमा गरमागरम बहस भयो।

पहिलो सत्र रह्यो, अबको नेतृत्व कस्तो? यो सेसनमा नेकपाका नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, कांग्रेस नेता एवम् सांसद गगन थापा, साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र उमेश चौहानबीच छलफल चल्यो। यो सेसनमा नेपालमा आगामी नेतृत्व कस्तो हुनुपर्ने विषयमा नेताहरुबीच बहस भयो।

महोत्सवको अर्को सेसन रह्यो, पावरिङ सस्टेनेब्ली। यसमा गफिए, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र प्रियन्था विजयातुंगा र रुपक डी शर्मा। उनीहरुले दक्षिण एसियाली मुलुकमा ऊर्जाको अवस्थाबारे मात्र चर्चा गरेनन्, सँगै नेपालमा यसको सम्भावना र वस्तुस्थितिबारे पनि चर्चा गरे।

यही समयमा ट्रान्सलेसिङ साउथ एसिया विषयमा अन्तर्संवाद भयो। यसमा अरुणभ सिन्हा, रिफात मुनिम, कर्मेन विक्रमागामागे र अमिशराज मुल्मीले छलफल गरे। उनीहरुले दक्षिण एसियामा अनुवाद साहित्यको अवस्था र यसको प्रभाव, वस्तुस्थितिबारे अन्तर्संवाद गरेका थिए। 

अर्को सेसन थियो, मुर्झाएको निबन्ध। रोशन शेरचन, गीता त्रिपाठी, रमेश सायन र विमल आचार्यबीच चलेको छलफलमा पछिल्लो समय नेपाली निबन्धको अवस्थाबारेको प्रस्तुति रह्यो। अन्य विधाको तुलनामा निबन्धको बजार नबढेको विषयमा पनि उनीहरुले अन्तरसंवाद गरे।

यही समयमा कथाका अन्तर्कथा शीर्षक सेसन पनि चल्यो। सञ्जीव उप्रेती, मुना चौधरी र छुदेन काविमोसँग संवाद गरे, गुरुङ सुशान्तले। यसमा वक्ताहरुले कथा लेखन, पात्रको प्रस्तुति, घटनाक्रम आदिबारे चर्चापरिचर्चा गरे। साथै कथाका अन्तर्वस्तुबारे पनि उनीहरुले छलफल गरे। साथै दार्जिलिङ, कालेबुङ आदि भारतका नेपाली भाषी क्षेत्रमा नेपाली साहित्यको अवस्थाबारे पनि चर्चा परिचर्चा भयो।

महोत्सवमा अर्को सेसन रह्यो, नेपाली समाजको वर्गविन्यास। यो सेसनमा विश्लेषक आहुतिले प्रवचन दिए। यसमा नेपालमा भइरहेको वर्गविन्यासको अवस्थाबारे उनले विषद् व्याख्या विश्लेषण गरे।

हामीले बाँच्न चाहेको नेपाल शीर्षक सेसन महोत्सवको आकर्षणका रुपमा रह्यो। यसमा सहभागी थिए, शृंखला खतिवडा, सुम्निमा उदास, रेसु अर्याल ढुंगाना र गनेस पौडेलले छलफल गरे। छलफलमा उनीहरुले नयाँ पुस्ताले कस्तो नेपालको अपेक्षा गरेको छ भन्ने विषयमा आआफ्ना धारणा राखे।

यही समयमा अली मियाँ कक्षमा भवसागर घिमिरेको हजुरबाको बगैंचा र हेमलता राईको पुस्तक चंगा चैट विमोचन भयो। साथै किन हुर्किनुपर्छ बालसाहित्य शीर्षकमा संवाद पनि भयो। यसमा सहभागी थिए, शाश्वत पराजुली, हेमलता राई र भवसागर घिमिरे। बालबालिकाको बौद्धिक एवम् मानसिक विकासका लागि बालसाहित्यको उल्लेख्य भूमिका रहेको उनीहरुले बताए। साथै उनीहरुलाई खेल्दै सिक्दै भन्ने वातावरण बनाएर लैजान सके त्यसको प्रभाव राम्रो हुनेमा उनीहरुले जोड दिए।

महोत्सवको अर्को सेसन थियो, राइटिङ इन द एज अफ पपुलिज्म। यसमा जेरेमी थम्बिङ, हरीश नाम्बियर, जमिल जन कोचाई र अनाघा नीलकन्टनबीच अन्तरसंवाद चल्यो। लोकप्रिय हुने युगमा लेखनको अवस्थाबारे उनले छलफल गरे। जस्तो कि, भारतमा नरेन्द्र मोदी र बेलायतमा बे्रक्जिट आदि लोकरिझ्याइँमा लाग्दा लेखकको मनोबल कसरी खस्किएको छ भन्ने विषयमा संवाद भयो।

यही समयमा चल्यो, आर्टिफिसियल इन्टेलिजेन्स र कलाको नयाँ परिभाषा।  यो सेसनमा विशेष खनाल, विनोद भट्टराई, सुरेश मानन्धर र निरञ्जन श्रेष्ठबीच अन्तर्संवाद चल्यो। पछिल्लो समय नेपाललगायत मुलुकमा फस्टाइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को अवस्था र प्रभावबारे उनीहरुले चर्चापरिचर्चा गरे।

महोत्सवको अन्तिम सेसन थियो, नेपाली बजारको विश्वव्यापीकरण। यो सेसनमा उद्योगी एवम् अर्बपति विनोद चौधरीलाई संवादमा ल्याए, प्रतीक प्रधानले। यो सेसनमा चौधरीले नेपाली ब्रान्ड एवम् बजारलाई विश्वव्यापीकरण गर्दाको अप्ठ्यारा सप्ठ्यारा अवस्थाबारे चर्चा गरे। साथै आफूले सिजी ब्रान्डको विस्तारका क्रममा झेल्नुपरेका बाधा व्यवधान आदिबारे पनि उद्योगी चौधरीले धारणा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell