PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारत बन्द : सिम्लामा हिउँमै विरोध, कोलकत्तामा रोकियो रेल

भारत बन्द : सिम्लामा हिउँमै विरोध, कोलकत्तामा रोकियो रेल


दिल्ली : नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले प्रस्ताव गरेका नीतिहरुको विरोध गर्दै आज भारतीय ट्रेड युनियनहरुले 'भारत बन्द'को आह्वान गरे।

राजधानी नयाँ दिल्ली, कोलकत्ता, बैगलोर लगायतका शहरहरु बन्दका कारण धेरै प्रभावित भए। १० केन्द्रीय ट्रेड युनियनहरुले केन्द्र सरकारको 'जनविरोधी' नीतिविरुद्ध आवाज उठाउनका लागि भन्दै राष्ट्रव्यापी हड्तालको घोषणा गरेका थिए।

बन्दको समर्थनमा विभिन्न स्थानहरुमा विरोध र्‍याली निकालिएको थियो। कोलकत्ता लगायतका शहरहरुमा आन्दोलनकारीहरुले रेल वे ट्रयाक नै अवरुद्ध गरेका थिए। सिम्लामा हिउँ परे पनि सडकमा उभिएर प्रदर्शन गरियो। यसबीच धेरैस्थानमा प्रहरी र आन्दोलनकारीहरुबीच झडप समेत भएको थियो।

युनियनहरुले बन्दको समर्थनमा भारतभर २५ करोड मानिस सहभागी भएको दाबी गरेका छन्। 

बन्दका कारण आज भारतका प्रमुख शहरमा यातायात, शैक्षिक संस्था र बैकिङ सेवा प्रभावित भएका थिए। आन्दोलनरत मजदूरहरुले भारतको श्रम मन्त्रालयसँग भएको सम्झौता कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै बन्द गर्नुपरेको बताएका छन्।

आजको बन्दमा ६० भन्दा बढी विद्यार्थी संगठनहरुको पनि समर्थन रहेको बताइएको छ। विश्वविद्यालयमा शुल्क वृद्धि र शिक्षाको व्यवसायीकरणको विरोधमा विद्यार्थीहरुले आन्दोलनमा समर्थन जनाएका हुन्। दिल्ली, चेन्नई, बंगलुरु सिमला लगायतका क्षेत्रमा विद्यार्थीहरुले बन्दको समर्थनमा र्‍याली निकालेका थिए। 

फोटो : ANI / PTI



ट्रेन्डिङ पोस्ट

Ncell