PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

शिल्पीमा 'कुमारी, द डान्स ड्रामा', चर्या नृत्यबाट काठमाडौंको सभ्यता चिहाउने प्रयास



शिल्पीमा 'कुमारी, द डान्स ड्रामा', चर्या नृत्यबाट काठमाडौंको सभ्यता चिहाउने प्रयास
फोटो : सुदन मुनिकार

कुनै समय काठमाडौं एउटा विशाल ताल थियो। मञ्जुश्रीले चोभारको डाँडामा खड्गले प्रहार गरेपछि पानी बाहिर पठाएर यहाँ बस्ती बसालेको कथन छ। त्यसपछि यहाँ देवी देवताको बास भयो। सँगै यहाँ आए असुरहरु।

असुरुहरुले नेपालमण्डलमा अशान्ति फैलाउँदै गए। यसको रक्षाका लागि आठ स्थानमा अष्टमातृका देवीको स्थापना भयो। अष्टमातृका मध्येकै शक्तिशाली श्वेतकाली र श्वेतभैरवकी छोरी कुमारीले पनि नेपाल मण्डललाई असुरको राजबाट हटाउन महत्वपूर्ण भूमिका खेलिन्।

यही आउने शनिवार अष्टमातृका देवीहरु फेरि काठमाडौंको त्यही इतिहास देखाउन ओर्लँदैछन्, शिल्पी थिएटरस्थित रंगमञ्चमा।

नेपाल मण्डललाई सुरक्षित बनाउन अष्टमातृका देवीले गरेको संघर्ष, असुरहरुको उत्पत्ती र संहारका साथै जिवित देवी कुमारीको कथालाई रंगमञ्च मार्फत प्रस्तुत गर्ने तयारी भइरहेको छ।

नाटकमा मुख्य रुपमा कुमारी र असुरराज बीचको प्रेमकथालाई प्रस्तुत गरिनेछ। काठमाडौंमा शक्ति हासिल गर्न असुरराजले कुमारीलाई फसाउने नियत राख्नुदेखि कुमारीबाट असुरराजको अन्त्यसम्मको कथालाई नृत्यमार्फत प्रस्तुत गरिनेछ।

'कुमारी, द डान्स ड्रामा' नाम दिइएको नाटक चर्या नृत्यमा आधारित छ। अहिले शिल्पी थिएटरमा यही नाटकका लागि कलाकारहरु प्रशिक्षण लिइरहेका छन्।

कुमारीका बारेमा रहेको सोचलाई यस नाटकले भत्काउन सहयोग गर्ने नाटकका निर्देशन गरिरहेका घिमिरे युवराज बताउँछन्।

भन्छन्, 'कुमारीलाई हामी जिवित देवीका रुपमा पुज्छौं। वर्तमान समयमा कुमारी प्रथाबारे पनि बहस भइरहेको छ। कुमारी भए पनि बिहे गर्नु हुँदैन भन्ने मिथहरु अहिले पनि छन्। कुमारी भइसकेपछि कसैसँग सम्बन्ध राख्न नहुने जस्ता कुरा समाजमा व्यापक छ। कुमारी भनेको के हो? हामीले यस नाटकमा प्रश्न उठाएका छौं।'

घिमिरे कुमारीलाई हाल कौमार्यसँग जोडिएर मात्रै हेरिएको भन्दै यस नाटकले कुमारीको नयाँ व्याख्या गर्ने बताए। कौमार्यलाई शारीरिक सम्बन्धसँग मात्रै दाजिएको हुँदा त्यसतो मनोविज्ञानलाई चिर्न यो नाटक सफल हुने उनको दावी छ। 

यस्तै, काठमाडौंमा रहेका शक्तिपीठ र इतिहासमा त्यसको वर्णन र भौतिक विज्ञानले गरेको व्याख्या यस कथामा देख्न सकिनेछ। घिमिरेले0 भने, 'मञ्जुश्री बारेमा समाजको धारणा के छ। भौतिक विज्ञानले उनको कथा मान्छ कि मान्दैन। के देवी देवताहरुले नै काठमाडौंको रक्षा गरेको हो त? नाटकले यसबारेमा बहस हुन्छ।' 

नाटकमा ९५ प्रतिशत चर्या नृत्य रहेको छ। केही स्थानमा संवादबाट कथा प्रस्तुत हुनेछ। निर्देशक घिमिरेका अनुसार चर्या नृत्य काठमाडौंकै पूरानो शास्त्रीय नृत्य हो। त्यसैले त्यही नृत्य मार्फत् नै यहाँको धार्मिक र सांस्कृतिक कथा नाटक मार्फत् प्रस्तुत हुनेछ। नाटकमा लिखितका साथै मिथ कथाहरु समेत समावेश गरिएको छ। कतिपय कुरालाई आधुनिकीकरण गर्ने प्रयाससमेत भएको छ।

चन्द्रमान मुनिकारको कथा रहेको उक्त नाटकमा कुमारीका रुपमा अनिशा श्रेष्ठ, असुरराजको रुपमा सुदनमान मुनिकार, श्वेतकालीका रुपमा त्रिणा कुलु ,श्वेत भैरवका रुपमा योहाङ राई रहेका छन्। यस्तै, रश्मी महर्जन,सृष्टि शाक्य, भागिरथी शाही, नानीमैया महर्जन, रचना महर्जन, ऋतु दर्शनधारी, सिर्जना शर्मा र सुष्टिना मुनिकार अष्टमातृका देवीको भूमिकामा रहेनछन्।

काठमाडौंको शिल्पी थिएटरमा यही पुस २६ गते तीन दिन सम्म यो नृत्य नाटक मञ्चन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell