PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अवैध उत्खननको विरोध गर्दा टिपरले किचेर युवकको हत्या



अवैध उत्खननको विरोध गर्दा टिपरले किचेर युवकको हत्या

  • सुमित मिश्र-

जनकपुरधाम : धनुषामा एक युवकको टिपरले किचेर हत्या गरिएको छ।

मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरिएको हो। उनले अवैध ढंगले भइरहेको खोला उत्खननको विरोध गर्दै आएका थिए। शुक्रवार बिहान करिब साढे चार बजेको समयमा मर्निङवाक निस्किएका उनको घर नजिकै रहेको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ। टिपरले ठक्कर दिँदा महतोको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले घटनाको प्रकृति हेर्दा नियोजित ढंगले किचेर हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए। प्रहरीले टिपरलाई नियन्त्रणमा लिएको छ। हत्या गरिएका युवक भारतमा इन्जिनियरिङ पढ्दै थिए।

यता घटनापछि घटनास्थलमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन्। महतोको गिट्टी बालुवा उत्खनन् गरिरहेकै ठाउँमा हत्या भएको हो। दीलीपले पहिलादेखि नै अवैध रुपमा खोलामा भइरहेको उत्खनन्को विरोध गर्दै आएका थिए। सोही कारण क्रसर सञ्चालकले उनको हत्या गराएको स्थानीयले आरोप लगाएका छन्।

घटनाको विरोधमा मिथिला नगरपालिका श्रीपुरस्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। आन्दोलन चर्केपछि अवस्थालाई समान्य बनाउन प्रहरीले १० राउण्ड अश्रु ग्यास प्रहार गरेको छ।

क्रसर उद्योगीहरुले मृतकका बुवालाई छोरालाई क्रसर उद्योगको विरोध नगर्न भनी बारम्बार दबाब दिएको परिवारका सदस्यले दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell