PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आजबाट मौसममा सुधार हुने, वर्षा हुने सम्भावना कम



आजबाट मौसममा सुधार हुने, वर्षा हुने सम्भावना कम

काठमाडौं : पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीवारदेखि प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको मौसमविद् विभूति पोखरेलले बताए। 'भोलिबाट मौसम पूर्ण सुधार हुनेछ। तत्काललाई अब वर्षा हुने सम्भावना छैन,' पोखरेलले भने।

आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।

राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भगामा आंशिक बदली भई पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

आइतवार देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना औँल्याइएको छ। सोमबार देशभर मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell