PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विष्टको भाग्यवाद र विकास नेपालीमा, 'तीन दशकपछि पनि उत्तिकै सान्दार्भिक'



विष्टको भाग्यवाद र विकास नेपालीमा, 'तीन दशकपछि पनि उत्तिकै सान्दार्भिक'

काठमाडौं : सन् ९० को दशकको सुरुवातमा डोरबहादुर विष्टले एउटा दुष्कर मार्ग रोजे। आफ्नै समाजको आलोचनात्मक परीक्षण गर्ने।

'फ्याटालिजम एन्ड डेभलेपमेन्ट, नेपालस् स्ट्रगल फर मोडर्नाइजेसन' नामक किताबमा उनले आधुनिकीकरणका हेतु नेपालको जमर्कोलाई प्रस्तुत गरे। फ्याटालिजम अर्थात भाग्यवाद। भाग्यमा मात्रै आश्रित बनेर विकासको सपना देखिरहेको नेपाली समाजको चित्रण उनले सो पुस्तकमा गरेका थिए। नेपाली मानवशास्त्रका पिता विष्टले उक्त किताबमा नेपाल विकास नहुनुमा रहेका अवरोधबारे प्रश्न खडा गरेका थिए।

भाग्यवादी सोचका कारण नेपाली समाजमा रहेको मेहनत गरी खाने संस्कार र सफलता हासिल गर्ने उत्प्रेरणाको भावना नष्ट भएको उनले उल्लेख गरेका थिए। चाकरी, नातावादको आडमा हुने विकासले नेपाल परिवर्तनको पथमा अग्रसर हुन नसक्ने उनको विश्लेषण थियो।

नेपाली समाजको मूल्य प्रणाली र सामाजिक सांस्कृतिक पक्षहरुलाई विस्तृत रुपमा विष्टले ३० वर्ष अगाडि नै उजागर गरेका थिए।

१९९१ मा अंग्रेजीमा लेखिएको 'फ्याटालिजम एन्ड डेभलेपमेन्ट' नामक किताबले एकातिर नेपालको वास्तविक चित्र देखाउँदै थियो भने अर्को तिर विष्टको किताब आलोचनाको सिकार बन्यो।

प्रजातान्त्रिक शासन व्यवस्था उत्कर्षमा रहेको बेला आएको यस किताबले नेपालका आदिवासी जनजाति, मधेसी दलितलगायत पिछडिएको वर्गहरुले आफूहरुमाथि भएको जातीय, क्षत्रिय, सांस्कृतिक, भाषिक विभेदबारे बुझे।

'नेपालको विकासमा बाहुनवाद बाधक' रहेको टिप्पणीसहित आएको उनको किताबप्रति खस समुदाय रुष्ट बनेका थिए।

बाहुनवादलाई विचारधारका रुपमा प्रस्तुत गरेका विष्टले त्यसै विचारबाट भाग्यवाद, नातावाद, चाकडीले प्रश्रय पाएकाले नै नेपालले आर्थिक, सामाजिक र राजनीतिक फड्को मार्न नसकेको उनको बुझाइ थियो। 

त्यतिबेला नै निकै विवादित बनेको उक्त किताब आज २९ वर्षपछि नेपाली भाषामा प्रकाशित भएको छ, 'भाग्यवाद र विकास, आधुनिकीकरण हेतु नेपालको जमर्को' का रुपमा।

नेपालको विकासमा असर पार्ने नेपाली समाजका सांस्कृतिक तथा सामाजिक संगठनका आयामहरुको विवेचना गरिएको किताब वर्तमान अवस्थामा पनि निकै सान्दर्भिक रहेको बताउँछन् वसन्त थापा।

विष्टले अंग्रेजीमा लेखेको किताबलाई नेपालीमा अनुवाद गरेका थापा भन्छन्, 'नेपाल किन अगाडि बढ्न सकेन। यतिका स्रोतसाधन हुँदा पनि नेपाल किन पछाडि पर्‍यो। यस किताबमा उनले यसबारे सिद्धान्तहरु अगाडि सारेका छन्।'

विष्टले लेखेको किताबमा नेपाली समाजमा नयाँ बहस सिर्जना गर्ने भन्दै उनले भने,' अहिले यहाँ चारैतिर बाहुनवाद हावी भएको देख्छु। उहाँले त्यही बेला नै यो कुरा भन्नु भएको थियो। यो कुरा कसैला ठीक लाग्न सक्ला कसैलाई ठीक नलाग्ला। तर उहाँले अगाडि सारेको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक नै छ।'

थापाले नेपाली भाषामा नै किताब प्रकाशित गर्ने बारेमा २५ वर्ष अगाडि नै सुरु गरेको उल्लेख गर्दै उनले भने,' मैले किताब नेपालीमा छाप्नुपर्छ भनेर विष्ट सरलाई भनेको थिए। उहाँले तिम्रो नेपाली राम्रो छ लेख भन्नु भयो। मलाई थाहा थियो कि यहाँ आफैले पनि उक्त किताबलाई नेपालीमा अनुवाद गर्दै हुनुहुन्थ्यो। मलाई अच्चम लाग्यो।'

आफूले सर भनिरहँदा जुम्ला हिँड्न लागेका विष्टले 'दाजुभाइ मिलेर फेरि किताब लेखौंला' भन्दा थापा निकै उत्साहित बने। अनि कोर्न थाले पाण्डुलिपी।

विष्ट कहिले जुम्लाबाट फर्केलान् र आफ्नो काम देखाउँला भन्ने बारे थापा उत्साहित थिए। तर उनको उत्साहमा पानी फेरियो। जुम्ला हिँडिका विष्ट फेरि फर्किएर कहिल्यै आएनन्। नेपाली मानवशास्त्रका पिता कहाँ छन्, उनी कहाँ गए, सबै रहस्यको गर्भमा नै छ।

त्यसपछि थापाको उत्साह सेलायो। विष्टको परिवार र साथीभाइबीच भेट हुँदा किताब त नेपालीमा प्रकाशित गर्नुपर्ने बारेमा जहिल्यै चर्चा हुन्थ्यो। यसबीच उनी हराएका विष्ट खोज्नसमेत हिँडे।

केसाङ छेतेन सन् २०१४ मा विष्टका बारेमा डकुमेन्ट्री बनाए 'कास्ट अवे म्यान'। थापा उनलाई एउटा भूमिका दिइयो- विष्टलाई खोज्न जाने।

भारतका धेरै ठाउँमा गए। तर विष्ट भेटिएनन्। तर डकुमेन्ट्री बनाउन लागि पर्दा उनमा फेरि 'फ्याटालिजम एन्ड डेभलेपमेन्ट' लाई नेपाली भाषामा प्रकाशित गर्ने हुटहुटी चल्यो। मानवशास्त्रका विद्यार्थी नभएता पनि आफ्ना साथीभाइ, विष्टका परिवार र मानवशास्त्रीहरुसँग सल्लाह गरे। र तयार भयो 'भाग्यवाद र विकास, आधुनिकीकरण हेतु नेपालको जमर्को ।'

विष्टको ९३ ‌औं जन्मजयन्तीको अवसरमा आज विष्टको प्रसिद्ध एवंम विवादित किताब आज विमोचन गरिएको हो। विष्टका परिवार प्रकाशक रहेको किताकको विमोचन कार्यक्रम कर्णाली इन्स्टिट्यूट र त्रिभुवन विश्वविद्यालय, मानव शास्त्र केन्द्रीय विभागको आयोजनामा भएको थियो। किताबको विमोचन पूर्व प्रशासक एवंम मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठले गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell