PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भारतीय अर्थतन्त्रलाई सुधार्न बैंकर कामथलाई वित्त राज्यमन्त्री बनाउने तयारीमा मोदी



भारतीय अर्थतन्त्रलाई सुधार्न बैंकर कामथलाई वित्त राज्यमन्त्री बनाउने तयारीमा मोदी
फोटो : daijiworld

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्त्रीमण्डलमा ब्रिक्स बैंकका अध्यक्ष केबी कामथलाई सामेल गर्ने तयारी गरिरहेका छन्। इकोनोमिक टाइम्सका अनुसार भारतीय अर्थतन्त्र कमजोर बन्दै गएको र वित्त मन्त्री निर्मला सितारमणले अर्थतन्त्र सबल बनाउन नसकेपछि मोदी सरकारमा वरिष्ठ बैंकर कामथ वित्त राज्य मन्त्रीको भूमिकामा भित्रिन लागेका हुन्।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर स्थापना भएको ब्रिक्स बैंकबाट कामथको भारत फिर्तीसँगै उनको भूमिका बढाइने बताइएको छ। कामथले आइसीआइसीआइ बैंक र इन्फोसिसका अध्यक्षका रुपमा काम गरिसकेका छन्।  उनलाई भारतमा प्रभावशाली बैंकरका रूपमा चिनिन्छ। उनी आइसीआइसीआइ बैंकको गैरकार्यकारी अध्यक्ष थिए।

मेकानिकल इन्जिनियर रहेका कामथले आइआइएमबाट एमबीए गरेका छन्। ६७ वर्षका उनले १९७१ बाट करियर सुरु गरेका थिए। १९९८ मा आइसीआइसीआइ बैंकमा राजीनामा गरेपछि उनी एसियाली विकास बैंकमा आबद्ध भएका थिए।

अहिले भारतीय अर्थमन्त्रको नेतृत्व वित्तमन्त्रीका रूपमा निर्मला सीतारमणले काम गरिरहेकी छन्। मोदी सरकारको दोस्रो कार्यकालमा अर्थतन्त्र र वित्तीय क्षेत्रमा समस्या देखिएको छ। लगातार आर्थिक वृद्धिदर घटिरहेको छ। यस्तोमा रोजगारी, उत्पादन, प्रत्यक्ष वैदेशिक लगानी बढाएर अर्थतन्त्रलाई उकास्नु पर्ने दबाबमा सरकार छ। त्यही भएर कामथलाई वित्त मन्त्रालय भित्र्याउन खोजिएको हो।

ब्राजिलमा भएको ब्रिक्स सम्मेलनमा ब्रिक्स देशका लागि १०० अर्ब डलरको विकास बैंक खोल्ने निर्णय भएको थियो। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको ब्रिक्स सम्मेलनमा भएको निर्णयअनुसार भारत यो बैंकमा आगामी ६ वर्षका लागि अध्यक्ष नियुक्त गर्ने छ। यो बैंकको मुख्यालय चीनको संघाइमा छ।

इकोनोमिक टाइम्सका अनुसार मोदीले नीति आयोगका प्रमुख कार्यकारी अमिताभ कान्तलाई पनि मन्त्रीमण्डलमा भित्र्याउने तयारी गरेका छन्। यसअघिको सरकारमा उद्योग वाणिज्य तथा रेल मन्त्रालय चलाएका सुरेश प्रभु पनि भित्रिने सम्भावना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell