PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर गरे राष्ट्रिय सभा निर्वाचनको रिपोर्टिङ



सुमित मिश्र

पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर गरे राष्ट्रिय सभा निर्वाचनको रिपोर्टिङ

जनकपुरधाम : पत्रकारहरुमाथि भएको हातपात तथा दुर्व्यवहारको विरोधमा आन्दोलनरत पत्रकारहरुले आज हातमा कालोपट्टी बाँधेर राष्ट्रिय सभा निर्वाचनको रिपोर्टिङ गरेका छन्।

प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी पत्रकारहरुमाथि भएको कुटपिट तथा दुर्व्यवहारको विरोध गर्दै पत्रकारहरुले कालोपट्टी बाँधेका हुन्। नेपाल पत्रकार महासंघ धनुषा शाखाले गठन गरेको संघर्ष समितिले पत्रकारहरुलाई कुटपिट गर्ने दोषीमाथि कारबाही नभएको भन्दै गत माघ ७ गतेदेखि नै कालोपट्टी बाँधेर विरोध जनाउँदै आइरहेको छ। आज जनकपुरधाममा जारी राष्ट्रिय सभाको निर्वाचनको समाचार संकलनको क्रममा समेत पत्रकारहरुले कालोपट्टी बाँधेका थिए।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा गत पुस २२ गते पत्रकारहरुमाथि भएको दुर्व्यवहारको घटनालाई साम्य पार्नका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले उपमहानगर र पत्रकार महासंघबीच दोषीहरुलाई कानूनी दायरामा ल्याउने सहमति समेत गरेको थियो।

सहमतिपछि पनि दोषीहरुलाई कानुनी दायरामा नल्याइएकोले शान्तिपूर्ण रुपमा विरोध गर्नु परेको नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कुमार कर्णले बताए। उनले प्रेस स्वतन्त्रता तथा सूचनाको हकको प्रत्याभूति नभएसम्म विरोध जारी रहने चेतावनी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell