PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वीरगंज नाकाबाट भित्रियो ६ महिनामा ३ अर्बको धान, सवा अर्बको चामल



राधेश्याम पटेल

वीरगंज नाकाबाट भित्रियो ६ महिनामा ३ अर्बको धान, सवा अर्बको चामल
वीरगंज नाका हुँदै नेपाल भित्रियका धान बोकेका ट्रकहरु।

वीरगंज : भारतबाट हुने धान र चामलको आयातमा वृद्धि हुँदै गएको छ। नेपालको लागि चाहिने चामल र धान स्वदेशमा उत्पादन हुन नसक्दा भारतबाट यसको आयात हुने क्रम बढेको हो।

मुलुककै प्रमुख भन्सार नाका वीरगंजबाट गत आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आव २०७६/७७ को साउनदेखि माघ १२ सम्म १८ हजार ४ सय ५ टन धान र १७ सय ३२ टन चामल बढि आयात भएको छ। आव २०७५/७६ मा वीरगंज नाका भएर भारतबाट ११ करोड ७ लाख भन्सार तिरेर २ अर्ब २० करोड ७१ लाख ४९ हजार मूल्य बराबरको ८३ हजार १ सय ८५ टन धान आयात भएको थियो। चालु आवको माघ १२ सम्म १४ करोड ७८ लाख ८ हजार भन्सार महसुल तिरेर २ अर्ब ९४ करोड ८२ लाख ७३ हजार मूल्य बराबरको १ लाख १ हजार ५ सय ९० टन धान आयात भएको वीरगंज भन्सारले जनाएको छ ।

त्यसैगरी गत आवको साउनदेखि माघ १२ सम्म १० करोड १६ लाख ३ हजार भन्सार तिरेर १ अर्ब २९ करोड ५७ लाख ६३ हजार मूल्य बराबरको २३ हजार ८ सय ८५ टन चामल आयात भएको थियो। चालु आवको माघ १२ सम्म १३ करोड १७ लाख २ हजार भन्सार तिरेर १ अर्ब २३ करोड १९ लाख ४७ हजार मूल्य बराबरको २५ हजार ६ सय १७ टन चामल आयात भएको छ।

वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार धानमा ५ प्रतिशत  र चामल आयतमा ८ प्रतिशत भन्सार महसुल लाग्छ। कृषिजन्य सामग्री भएकोले यी वस्तुको आयातमा भ्याट लाग्दैन। गत आवको तुलनामा चालु आवको ६ महिनामा धान आयतबाट ३ करोड ७१ लाख ८ हजार र चामल आयातबाट ३ करोड १९ लाख ७६ हजार राजस्वमा वृद्धि भएको भन्सार कार्यालयको विश्लेषण छ। भन्सारले सोना मन्सुली वा मोटका धानको प्रति किलो १५ रुपैयाँ र जिरा मसिनो धानको १८ रुपैयाँ प्रतिकिलोको दरमा राजस्व लाग्ने गर्छ।

वीरगंजस्थित ओम चावो विरो प्रालिका सञ्चालक सुरेश रुगंटाले नेपाली राइस मिल उद्योगलाई नेपालमा पर्याप्त मात्रामा चामल बनाउन धान नपाइने गरेकोले भारतको उत्तर प्रदेश, बिहारबाट आवश्यक पर्ने धान खरिद गरी ल्याइरहेको बताए।

‘दैनिक करिब सय गाडी भन्दा बढि धान आइरहेको छ, उद्योग चलाउनै पर्‍यो धान नल्याए कसरी उद्योग चल्छ? मजदुरलाई पाल्न र नेपालको मागलाई धान्न महँगो परेपनि भारतबाट धान ल्याउनु परेको छ,’ उनले भने।

एउटा गाडीमा २५ देखि ३० टन सम्म धान आउने गरेको उनी बताउँछन्। नेपालको धानबाट नेपालका उद्योगहरु एक महिना पनि चल्न नसक्ने जिकिर उनले गरे। भारतबाट सोना मन्सुली र जिरा मसिनो आयात गर्दा सबै खर्च जोडदा प्रति किलो ३२ रुपैयाँदेखि ३५ रुपैयाँ पर्ने गरेको उनले बताए।

भारतबाट भित्रिने धानबाट करिब ५० प्रतिशत मात्र चामल निस्किने गरेको छ। ३२ देखि ३५ रुपैयाँमा खरिद गरी ल्याइएको धानबाट चामल निकालेपछि सोना मन्सुली ४५ र जिरा मसिनो ६५ रुपैयाँ प्रतिकिलोको दरमा बेच्ने गरेको उनको भनाइ छ। उनले धान महँगो भएको बेला चामल पनि आयात गर्ने गरेको बताए।

चामलको आयात रोक्न भन्सार महसुल १५ प्रतिशत पुर्‍याउन पर्ने माग

स्वदेशी चामल उद्योगलाई संरक्षण गर्न चामल आयातमा भन्सार महसुल ८ बाट १५ प्रतिशत पुर्‍याउनु पर्ने नेपाल चामल दाल तेल उद्योग संघका केन्द्रीय अध्यक्ष सुबोध गुप्ताले माग गरे। भारतबाट अहिले विशेष गरी जिरा मसिनो धान र चामलको आयात बढि हुने गरेको उनले बताए। सरकारको अव्यवहारिक नीतिले करिब २ हजार स्वदेशी चामल उद्योग संकटमा परेको उनको आरोप छ।

उनले वीरगंज करिडोरमा मात्रै अढाई सय चामल उद्योग रहेको चर्चा गर्दै सरकारले चामल आयातमा भन्सार महसुल वृद्धि नगरे सबै स्वदेशी चामल उद्योग धराशायी हुने र उद्योगीहरु ट्रेडिङ व्यवसाय तिर लाग्ने तर्क गरे।

‘दुई ट्रक धान आयात गरे १ ट्रक चामल निस्किन्छ, जसमा भन्सार महसुल र सबै खर्च जोडने हो भने चामल आयत कम खर्चिलो देखिन्छ। यस्तो अवस्थामा कसरी उद्योग चलाउने?’, उनले प्रश्न गर्दै भने, ‘यदि स्वेदशमा रोजगारी सिर्जना गर्दै स्वदेशी उद्योगलाई संरक्षण गरी राजस्व पनि उठाउने हो भने चामललाई हरहालतमा राकेर धान मगाएर उद्योग चलाउने वातावरण बनाउनु सरकारको दायित्व हो।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell