PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हङकङबाट आएका एक जना नेपालीमा कोरोना आशंका, सीधै लगियो पाटन अस्पताल



हङकङबाट आएका एक जना नेपालीमा कोरोना आशंका, सीधै लगियो पाटन अस्पताल

  • फूलमाया पुरी-

काठमाडौं : हङकङबाट नेपाल फर्किएका एक जना नेपालीमा नोवल कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ।

ती नेपालीलाई कोरोना संक्रमणको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै ललितपुरको लगनखेलस्थित पाटन अस्पताल लगी भर्ना गरिएको छ। कोरोनाको आशंकामा एक जनालाई अस्पताल भर्ना गरिएको र यसबारे पुष्टि गर्न इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा नमुना पठाइएको अस्पतालले जनाएको छ।

ती व्यक्तिलाई आइसोलेसनमा निगरानीमा राखेको अस्पतालले जनाएको छ। यसअघि पनि एक जना नेपालीमा कोरोना संक्रमणको आशंका गरिएको थियो। हाल उनलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ।

चीनको हुवेइ प्रान्तको राजधानी ११ मिलियन (१ करोड १० लाख) जनसंख्या भएको वुहानमा पहिलो पटक देखा परेको यस संक्रमणले सबै भन्दा बढी वुहानलाई असर गरेको छ। यही सबै भन्दा बढी मानिसमा संक्रमण देखिनुका साथै ज्यान गुमाएका छन्। यसको संक्रमणबाट हालसम्म ३०४ जनाको मृत्यु भइसकेको बिबिसीले जनाएको छ।

एनसिभीको ‘आउटब्रेक इपिसेन्टर’ हुवेइ प्रान्तमा मात्र ६० मिलियन (६ करोड) जनसंख्या घरमा थुनिएका छन्।

संक्रमण फैलिँदै जाँदा पूरै चीनमा यसको संक्रमण देखा परेको छ। आइतबारसम्म १४ हजार मानिसमा संक्रमण भएको पुष्टि भएको छ। जसमध्ये हालसम्म संक्रमण नदेखिएको चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

हालसम्म यस भाइरसको संक्रमण १६ देशमा देखिएको छ। जसमा नेपाल पनि एक हो। संक्रमण नियन्त्रणमा नआउँदा विभिन्न देशहरुले आफ्ना नागरिकलाई उद्धारको काम थालेका छन्।

कोरोनाका कारण फिलिपिन्समा आज एक जनाको मृत्यु भएको छ। उनी कोरोनाका कारण चीन बाहिर ज्यान गुमाउने संक्रमित हुन्। उनी चीनकै वुहानका भएको बिबिसीले जनाएको छ। विश्व स्वास्थ्य संगठनकाअनुसार ४४ वर्षीय उनी वुहानबाट फिलिपिन्स आउने क्रममा संक्रमित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell