PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्वास्थ्यमन्त्री ढकालले भने, ‘चीनबाट कोरोना संक्रमितलाई स्वदेश ल्याउन लागिएको होइन’



स्वास्थ्यमन्त्री ढकालले भने, ‘चीनबाट कोरोना संक्रमितलाई स्वदेश ल्याउन लागिएको होइन’
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल।

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरुलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारीको काम सकिएको बताएका छन्।

मंगलवार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले १९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको बताएका हुन्। भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १९९ बेड तयार गरिएको र महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार भएको उनले बताए।

कुनै व्यक्तिमा भोलिबाटै संक्रमण देखिएको अवस्थामा पनि उसलाई राख्ने र क्वारेन्टाइन गर्ने कुरामा समस्या नहुने उल्लेख गर्दै मन्त्री ढकालले चीनमा विद्यार्थीहरुलाई लिन जाने डाक्टर, नर्स र पाइलटहरुलाई समेत १४ दिन क्वारेन्टाइनमा राखिने बताए।

चीनबाट संक्रमितहरुलाई स्वदेश ल्याइन लागेको भन्ने भ्रमहरु हटाउनुपर्ने उल्लेख गर्दै ढकालले कुनै एक जनामा मात्रै पनि लक्षण देखिए चीनले नपठाउने र नेपाल ल्याएपछि १४ दिन नियमित परिक्षण गरिने बताए। क्वारेन्टाइनमा परीक्षणका क्रममा कुनै व्यक्तिमा संक्रमणको लक्षण देखिएमा तत्काल राख्नका लागि विभिन्न अस्पतालहरुमा ४३ वटा आइसोलेसन बेडको व्यवस्था गरिएको उनले उल्लेख गरे। त्यसका लागि २४ घण्टा नै एम्बुलेन्स र आइसोलेसन बेड उपलब्ध रहेको उनले बताए।

मन्त्री ढकालले सबै अस्पतालका प्रतिनिधिहरुलाई बोलाएर आ-आफ्नो अस्पतालमा आइसोलेसन सहितको ठाउँ छुट्याउनुपर्ने निर्देशन दिइएको बताए। उनका अनुसार कुनै व्यक्तिमा आशंका देखिएमा अर्को अस्पताल रिफर नगरी त्यही राखेर उपचार गर्नुपर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको छ।

विश्वका विभिन्न मुलुकमा ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिए पनि चीनमा रहेका नेपाली मध्ये एक जनामा पनि यसको लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चीनमा रहेका १८० जना विद्यार्थीहरुले स्वदेश फर्किनका लागि त्यहाँस्थित नेपाली दूतावासमा फारम बुझाएका छन्। सरकारले सम्पूर्ण तयारी पूरा भएको बताएपनि कहिले फर्काउने भन्ने मिति भने तय गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell