PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बिरामी परीक्षणका लागि काठमाडौंको जनस्वास्थ्य टोली पुग्यो सिन्धुपाल्चोक



बिरामी परीक्षणका लागि काठमाडौंको जनस्वास्थ्य टोली पुग्यो सिन्धुपाल्चोक

काठमाडौं : छिमेकी मूलुक चीनबाट फैलिएको कोरना भाइरससँग मिल्दोजुल्दो लक्षणका बिरामी देखा परेको भन्दै मंगलवार सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई सहयोगको पत्र लेख्यो। गाउँपालिकाले प्रदेशको समाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक र जिल्ला स्वास्थ्य कार्यालयलाई बोदार्थ दिएर लेखेको पत्र बाहिरिएसँगै झनै त्रास फैलियो।

एकैपटक ठूलो संख्यामा बिरामी परेको खवरपछि स्थानीय स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण गरिएको र अहिले बिरामीहरु निको हुन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले जानकारी दिए। एकैपटक सय भन्दा बढी मानिस बिरामी भएकाले सहयोगको पत्र लेखिएको उनले सुनाए।

उनले भने, ‘एकाएक १०० भन्दा धेरै संख्यामा बिरामी भएपछि पत्र लेखएको हो। स्थानीय स्वास्थ्यकर्मीबाट ‍औषधी गरेपछि अहिले अवस्था अलिक शान्त भएको छ। केही बिरामीहरु निको भएका छन्।’

गाउँपालिकाले बिरामीको स्वास्थ्य परिक्षणका लागि भन्दै पत्राचार गरेपछि बाग्मती प्रदेशले बिरामीहरुको परिक्षणका लागि काठमाडौंबाट प्रदेश जनस्वास्थ्य प्रयोगशालाको टोली सम्बन्धित क्षेत्रमा पठाएको छ। जनस्वस्थ्यको टोली उक्त क्षेत्रमा पुगिसकेको समाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए।

उनले भने, ‘प्रदेशको जनस्वास्थ्य प्रयोगशालाको टोली सम्बन्धित क्षेत्रमा पुगेको छ। उता बिरामी भएको थाहा पाउनासाथ स्थानीय स्वास्थ्यकर्मीहरुले निगरानी गरिरहनुभएको छ।’

अहिलेसम्मको रिपोर्ट अनुसार मौसमी रुघाखोकी भएको भन्ने कुरा आएपनि प्रयोगशालाको परिक्षणको रिपोर्टपछि मात्र यथार्थ पत्ता लाग्ने उनले बताए।

‘अहिलेसम्म सामान्य रुघाखोकी भन्ने रिपोर्ट छ। गाउँपालिकाको पत्रमा भनिएको जस्तो कोरना भाइरसको लक्षण देखिएको छैन। केही बिरामी निको पनि भएका छन्। हामी निरन्तर सम्पर्कमा छौँ,’ उनले भने।

उनले जलबिरेबाट चिकित्सक त्यहाँ गएको पनि जानकारी दिए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको पत्रमा गाउँपालिका वडा ३ साविक गुम्बा गाविस वडा ८ गुम्बा बस्तीमा माघ २७ देखि हाल विश्वमा फैलिरहेको कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामीहरु देखा परेको उल्लेख छ। सो को परीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाई आवश्यक सहयोग गरी दिन भन्दै पत्र लेखिएको थियो।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता  सागर दाहाल मानिसहरुमा सामान्य रुघाखोकी लागेपनि कोरोना भाइरस भएको हो कि भन्ने त्रास फैलिएको बताउँन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा के भएको हो भन्ने अध्ययनका लागि टोली खटाइएको बताए।

उनले भने, ‘के भएको हो अध्ययनका लागि टोली खटिएको छ। त्यसको रिपोर्ट आएपछि मात्रै सहयोग गर्नुपरेको अवस्थामा कदम अघि बढाउँछौँ। कोरना भएको हो कि होइन अध्ययनबाट थाहा हुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell