PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

खरिपाटी क्वारेन्टाइन : बल्ल शुरु भयो जनचेतना कार्यक्रम, 'गाउँ नै खाली भयो भनेर मिडियाले भ्रम फैलाए'



खरिपाटी  क्वारेन्टाइन : बल्ल शुरु भयो जनचेतना कार्यक्रम, 'गाउँ नै खाली भयो भनेर मिडियाले भ्रम फैलाए'

भक्तपुर : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आउटब्रेक सेन्टर चीनको वुहानबाट फर्काएका नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। चीनबाट ल्याइएकालाई राखिको उक्त क्षेत्र आसपासका बासिन्दाका लागि जनचेतना फैलाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत संयुक्त सुरक्षाकर्मीको टोलीले घरदैलो अभियान शुरु गरेको हो।

खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थाका बारेमा जानकारी गराउँदै कुनै पनि भाइरसको सङ्क्रमणबाट कसरी बच्ने भन्नेबारेमा जानकारी गराउँदै संयुक्त टोली घरघरमा पुगेको हो।

प्रजिअ पाण्डेले स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण भइरहेका बताइन्।स्थानीयले स्वास्थ्यमा कुनै पनि समस्या देखिए त्यहाँ गएर परीक्षण गराउन सक्ने छन्।

चीनको वुहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा सङ्क्रमण हुने त्रासले स्थानीयवासीले घर छाड्न थालेको समाचार बाहिरिएपछि स्थानीयवासीलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको महासेनानी शिव पौडेलले बताए।

टोलीले घरघरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको र उनीहरुमा कोरोनाको सङ्क्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै छन्। यस्तै उनीहरुले मास्क लगाउने तरिका, हात धुने तरिका लगायतका बारेमा जानकारी दिएका छन्। घरदैलोमा स्थानीयवासीलाई प्रहरी उपरीक्षक प्रधानले रुघाखोकी नसरोस् भनेर पनि सावधानी अपनाउनुपर्ने बताउँदै नियमित हात धुनुपर्ने, फोहर हातले आँखा छुन नहुने, मुखमा मास्क लगाएर काम गर्नुपर्नेजस्ता सावधानी अपनाउनुपर्ने बारेमा जानकारी गराएका थिए।

स्थानीय शर्मिला खड्काले खरिपाटीका कसैले पनि घर छाडेर नगएको भन्दै दाबी गरिन्। उनले कोठा भाडामा बस्ने दुईचार परिवार केही दिनका लागि गाउँ फर्किएको बताइन्।

बारीमा काम गर्न हातमा सामान बोकेर गएकाहरुको फोटो खिचेर, काममा गएकाहरुको घरमा लगाएको ताल्चाको फोटो खिचेर गाउँ नै खाली भयो भनेर केही मिडियाले समाचार बनाएर उल्टै गलत हल्ला गरेको क्वारेन्टाइन नजिकै घर रहेकी खड्काको दाबी थियो।

खरिपाटी कै वासुदेव लामिछानेले क्वारेन्टाइनमा बस्नेहरुलाई घृणा गर्नुपर्ने कुनै कारण नभएको भन्दै बस्ती छाड्नुपर्ने कुनै कारण नभएको बताए। उनले पनि भाडामा बस्ने केही परिवार गाउँ फर्किएका र आफन्तकोमा गएकोमा वस्ती नै खाली भो भन्न नहुने उनको धारणा थियो।

सरकारले समयमै जनचेतना फैलाउन नसक्दा स्थानीयवासी लामो समय त्रासमा बस्नुपरेको गुनासो स्थानीयवासीको छ। राजाराम भण्डारीले भने, 'सरकार आफैँले यहाँका बासिन्दालाई आतंकित बनायो, लुकेर क्वारेन्टाइन बनाउँदा यो समस्या आएको हो, शुरुमै यहाँका जनतालाई तथ्य कुरा जानकारी गराएको भए, चेतना अभिवृद्धि गरेको भए र स्थानीयवासीसँग बेलाबेलामा अन्तरक्रिया गरेको भए कुनै पनि विरोध आउँदैनथ्यो, यसबारेमा जानकारी लिन जाने स्थानीयवासीलाई प्रहरीले लाठी तेर्साएपछि विरोधको आवाज आएको हो।'

तस्विर : अशोक शाह

उनले मुस्कानसहितको सेवा भनेर प्रहरीले जतिसुकै नारा घन्काए पनि प्रहरीको जनताप्रति गर्ने व्यवहार र शैलीमा कुनै परिवर्तन नआएकाले प्रहरीकै शैलीका कारण विरोध भएको दाबी गरे। जनतासँग प्रत्यक्ष जोडिने प्रहरीले नै जनतालाई अझै पनि डण्डा देखाएर तर्साउन खोज्छ भने जुनसुकै ठाउँमा पनि गलत सन्देश जाने भन्दै सरकारले समयमै जनतालाई जानकारी गराउन नसक्दा विरोध आएको र त्रासमा बस्नुपरेको स्थानीयवासीको भनाइ छ ।

सरकारले चीनको वुहानबाट उद्धार गरेर ल्याएका १७५ जनालाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण भइरहेको छ। उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको छैन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell