PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चीनबाट फर्किएको ४८ घण्टापछि वाइडबडी जहाज दोहा उड्दै



चीनबाट फर्किएको ४८ घण्टापछि वाइडबडी जहाज दोहा उड्दै

काठमाडौं : चीनको वुहानबाट गत आइतवार १७५ जना नेपाली लिएर काठमाडौं फर्किएको नेपाल वायुसेवा निगमको जहाजले ४८ घण्टापछि पुनः नियमित उडान गर्ने भएको छ।

नाइन-एन-एएलवाई कलसाइनको वाइडबडी ‘अन्नपूर्ण’ले मंगलवार राति १०:२५ बजे दोहाको नियमित उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले बताइन्।

‘निगमले ४८ घण्टाको अवधिमा जहाजलाई पुनः सिल गरेर संक्रमण निवारण (डिस-इन्फेक्ट) गरिसकेको छ’, उनले भनिन्, ‘नेपाल अवतरण भएलगत्तै जहाजभित्र औषधि छर्केर सिल गरिएको थियो। त्यसपछि आन्तरिक र वाह्य भाग पखालेर सिट कभर फेरिसकिएको छ।’

चीनमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट त्रसित नेपालीको उद्धारका लागि सरकारले निगमको वाइडबडीलाई चीन पठाएको थियो। गत शनिवार बेलुकी चीनको वुहान उडान गर्दा जहाजका सबै सीटमा प्लास्टिक कभर गरिएको थियो।

निगमले वुहान गएर फर्किएका आफ्ना चालक दललाई सम्मान गर्ने योजना रहेको बताउँदै प्रवक्ता खड्काले भनिन्, ‘उहाँहरुले वुहानमा रहेका नेपालीको उद्धार गर्नुभएको छ। यो साहसिक कामलाई कदर गर्दै उहाँहरुलाई सम्मान गर्ने योजना बनाएका हौं।’

संक्रमण विरुद्धको सतर्कताका लागि हाल भक्तपुरको क्वारेन्टाइनमा रहेका उडानमा सहभागी क्याप्टेनले एक सातापछि बाहिर आउन पाउनेछन्। बाँकी चालकदलका सदस्यले १५ दिनको अवधिपछि बाहिर आउन पाउने उनले बताइन्। क्वारेन्टाइनमा बसेको अवधिभर चालकदलको समय ‘वर्किङ डे’ अर्थात काम गरेकै दिनसरह गनिने छ।

हुवेई प्रान्तका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानस्थित थियान्ह अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमको जहाजले नेपाल ल्याइएको थियो। वुहानबाट ५५, अनसीबाट २६, सियानबाट २९, यीचाङबाट ८, जिङमनबाट ९ र जिङचोबाट ४८ जना नेपाली निगमको जहाजमा आएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell