PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विराट मेडिकलमा युरोगाइनोकोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन हुने



विराट मेडिकलमा युरोगाइनोकोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन हुने

विराटनगर : विराटनगरको विराट मेडिकल एन्ड टिचिङ हस्पिटलमा साउथ एसियन फेडरेसन अफ युरोगाइनोकोलोजी (साफग)को अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।

नेपालमा युरोगाइनोकोलोजी विषयमा पहिलो पटक यही फागुन ९ र १० गते अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हुने भएको हो। अस्पतालका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीका अनुसार सम्मेलनमा दक्षिण एसियाका १ सय ५० वरिष्ठ विशेषज्ञ चिकित्सक उपस्थित हुनेछन्। दक्षिण एसियाबाहेक बेलायत, अमेरिका, अस्ट्रेलिया र सिङ्गापुरबाट पनि विशेषज्ञ आउने कार्यक्रम छ।

सम्मेलनमा सहभागी चिकित्सकले २ दिनमा सम्बन्धित २० जना बिरामीलाई शल्यक्रिया गरेर अनुभव आदानप्रदान गर्नेछन्। बिरामीको छनोट भइसकेको र उनीहरूको शल्यक्रिया तथा उपचार निःशुल्क हुने अध्यक्ष डाक्टर कार्कीले जानकारी दिए।

बिरामीमध्ये योनि नै नभएका महिला, पिसाब चुहिने, पिसाब नलीमा पिसाब रोकिने लगायतका समस्या भएका छन्।

यस क्षेत्रमा काम गर्ने चिकित्सकहरूले प्रमाणका आधारमा वैज्ञानिक खोजमूलक अनुसन्धान तथा उपलब्धिका विषयमा प्रकाशन र आफ्ना अनुभवको आदानप्रदान गर्नु तथा उक्त विषयमा विभिन्न सञ्चार माध्यमबाट जनचेतना फैलाउनु यस सम्मेलनको मूल उद्देश्य रहेको बताइएको छ।

सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले गर्नेछन्। फागुन १० गतेका दिन प्रतिबद्धतासहितको श्वेतपत्र जारी गरी कार्यक्रमको समापन गरिने कार्कीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell