PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फ्राइडे रिलिज : ‘आमा’ र ‘सेन्टी भाइरस’सँगै तीन विदेशी फिल्म प्रदर्शनमा



फ्राइडे रिलिज : ‘आमा’ र ‘सेन्टी भाइरस’सँगै तीन विदेशी फिल्म प्रदर्शनमा

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आएका छन्। त्यस्तै, बलिउडतर्फ ‘शुभ मंगल ज्यादा सावधान’ र ‘भूत’ प्रदर्शन भएको छ भने हलिउडतर्फ ‘द कल अफ द वाइल्ड’ प्रदर्शनमा आएका छन्।

सुरक्षा पन्त स्टारर फिल्म ‘आमा’लाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। यस फिल्मको लागि सुरक्षाले आफ्नो कपाल मुण्डन गरेकी थिइन्। फिल्ममा मिथिला शर्मा र सुरक्षा पन्त आमा छोरीको भूमिकामा देखिएका छन्। सामाजिक कथावस्तुमा निर्माण भएको यस फिल्ममा आमाको माया, त्याग र समर्पणलाई प्रस्तुत गरिएको छ।

रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ पनि आजबाट रिलिज भएको छ। यहि फिल्मबाट सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फिल्म निर्माणमा होमिएका छन्। कमेडी जनरामा निर्माण भएको यस फिल्ममा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्शन विक्रम राई लगायतका कलाकारको अभिनय छ।

बलिउड फिल्म ‘शुभ मंगल ज्यादा सावधान’लाई हितेश केवाल्याले निर्देशन गरेका छन्। कमेडी जनरामा निर्माण गरिएको यस फिल्ममा आयुष्मान खुराना, जितेन्द्र कुमार, गजराज राव, निना गुप्ता लगायतका कलाकारले अभिनय गरेका छन्।

अभिनेता विक्की कौशल स्टारर फिल्म ‘भूत’पनि आजबाट रिलिज भएको छ। हरर जनरामा निर्माण भएको यस फिल्मलाई भानु प्रताप सिंहले निर्देशन गरेका हुन्। फिल्ममा विक्की कौशलसँगै भूमि पेडनेकार, आशुतोष राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

हलिउड फिल्म ‘द कल अफ द वाइल्ड’लाई क्रिश स्यान्डरले निर्देशन गरेका छन्। फिल्ममा ह्यारिसन फोर्ड, किरेन जिलन लगायतको अभिनय रहेको छ। फिल्म ‘द कल अफ द वाइल्ड’ फ्यामेली ड्रामा र एडभेन्चर जनरामा निर्माण भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell