PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आखिर किन मारिन्छन् यी अबोध हाब्रेहरू?



आखिर किन मारिन्छन् यी अबोध हाब्रेहरू?

  • राजु आचार्य-

दिवंगत डा. प्रह्लाद योञ्जन भन्ने गर्थे ‘प्राकृतिक अवस्थामा हाब्रे देखिन निकै गाह्रो हुन्छ। भाग्यमानीले मात्र देख्न पाउँछ।' उनले हाब्रेमा विद्यावारिधि गरेका थिए। उनले त्यसो भनेको केही समयपछि करिब २१ वर्षअघि मनाङको तिल्चे गाउँमा पासोमा परी मरेको अवस्थामा हाब्रे भेटिएको थियो। मरेको भेटे पनि अनुसन्धानकर्मी कमल थापा पहिलो पटक भेट्दा निक्कै खुसी भएका थिए।

त्यति बेलासम्म यो प्रजातिको बारेमा न्यून जानकारी र फोटोहरू उपलब्ध थियो। भेटि हाले पनि अहिलेको जस्तो सबैसँग क्यामेरा वा मोबाइल थिएन। तर आज भोलि यिनका फोटोहरू आइरहन्छन्। सामाजिक सञ्जाल यिनको फोटोले रङ्गिए पनि यिनको अवस्था भने ठिक उल्टो हुँदै गएको छ।

यी  लजालु र सोझो प्रजातिले मानिसहरूलाई कुनै पनि तरिकाले नोक्सान पुर्‍याउने गर्दैनन्। तर तिनै मानिस बिना कारण यसलाई मास्न जानी/नजानी लागि परेको  छ।

आखिर किन मारिएको छ? किन यिनको व्यापार भईरहेको छ? भन्ने बारे अझै पनि विज्ञहरूसँग कम जानकारी उपलब्ध छ। पछिल्लो समयमा यिनको ओखटोपाहार विशेष गरी छाला समातिएका घटनाहरू नियमित जसो  सञ्चार माध्यममा आइरहेका छन्।

किन मारिएका छन् त?

 

हाब्रेको छाला

हाब्रेसम्बन्धी अनुसन्धान लेख  इङल्यान्डको ‘ह्युम्यान डाइमेन्सन अफ वाइल्डलाइफ’ जर्नलमा छापिएपछि संरक्षण क्षेत्रमा तरङ्ग नै फैलियो। उक्त वैज्ञानिक लेखले गएको ११ वर्षमा यिनको छाला बरामदको घटना बढ्दै गएको तर किन बढेको भन्नेबारे अन्योल रहेको उल्लेख गरेको छ। ३३ जिल्लाका ५२५ जनामा गरिएको यो अनुसन्धानले  बहुसङ्ख्यकलाई यसको बारेमा थाहा भए पनि १५ प्रतिशतले मात्र हाब्रे देखेको उल्लेख गरेको छ।

सन् २००८ देखि २०१८ सम्म हाब्रेका १२१  वटा छालाहरू भेटिएको घटनाको अभिलेख गरिएको  छ। पछिल्लो समयमा यो दर  बढ्दो पनि छ। एकै पटकमा  ९ वटासम्म छाला भेटिएको पनि अभिलेख छ। तर यसरी छालाको सङ्ख्या बढ्नुको पछिको कारण अझै पनि अनिश्चित नै छ।

यसको अङ्गको प्रयोग असाध्यै न्यून छ। मानिससँगको धार्मिक र  सांस्कृतिक सम्बन्ध पनि कमै छ। यिनलाई मार्न यिनको औषधीय रूपमा प्रयोग पनि हुने गरेको छैन।  यसको छालाको प्रयोग दुई  दशकअघि सम्म केही समुदायमा सामान्य थियो जुन अहिले लगभग निकै कम भएको छ।

मासुको लागि यो जन्तुलाई मारिएको पनि भेटिएको छैन। यसकै लागि भनेर पासो पनि कमै थापिन्छन्। बालीनाली पनि नोक्सान नपुर्‍याउने यसले घरपालुवा जनावरलाई नोक्सान गर्ने त कुरै भएन। तसर्थ गाउँलेहरूले प्रतिशोधको कारणले यिनलाई मार्ने सम्भावना पनि कम छ। १९६० र १९७० को दशकमा जस्तो समाउने र बेचिने पनि निकै कम भएको छ।

नेपालमा हालसम्म समातिएका छालाहरू के मा प्रयोग हुन्छन् भन्ने नै निश्चित छैन। डम्बर विष्टसहितको अध्ययन समूहले मानिसलाई ‘हाब्रे मर्दा के नै हुन्छ र? भन्ने भएको’, पैसा पाइन्छ कि भनेर मारेको  हुन् सक्ने आँकलन गरेका छन्।

अनुसन्धानकर्मी एवम् मुख्य लेखक डम्बर विष्ट भन्छन् ‘बजारमा फैलिएको अनावश्यक हल्लाको कारणले मानिसहरूले  मार्न थालेका हुन्।’ सो अनुसन्धानमा विष्टसमेत अस्ट्रेलियाको कुइन्सल्याण्ड विश्वविद्यालयका ग्रेग बेक्सटर र पिटर जोन मुरेसमेत संलग्न रहेका थिए।

अनुसन्धान लेखले प्रहरीले अपराधी पत्ता लगाउने क्रममा ‘प्रति गोटा छालाको यति सम्म दिन्छु’  भन्दा यसको उल्टो प्रभाव परेको उल्लेख गरेको छ। साथै गाउँ घरमा सञ्चालन  गरिने संरक्षण चेतना शिविर तथा तालिमहरूमा हाब्रेको छालाको मूल्यबारे हुने कुराकानीले पनि सर्वसाधारणलाई पैसा कमाउन अभिप्रेरित गरेको देखिन्छ,’ भनेरसमेत उल्लेख गरेको छ।

साथै यसको व्यापार वा सिकार गर्दा हुने सजायबारे जानकारी नहुनुले पनि यो प्रजातिलाई चुनौति थपिएको छ। अनुसन्धानको क्रममा ८३ प्रतिशत सहभागीले कानुनी प्रावधानबारे  अनविज्ञता प्रकट गरेका थिए।

अरूलाई थापेको पासोमा पर्नु, एक पटक भेटेपछि हाब्रेले प्रतिकार गर्न नसक्नु, यसको व्यापार वा सिकार गर्दा हुने सजायबारे जानकारी नहुनु, छालाको प्रयोग न्यून भए पनि सांस्कृतिक रूपमा प्रयोग हुनु, सुरक्षाकर्मी /अनुसन्धानकर्मी/संरक्षणकर्मिहरुले यसको व्यापारबारे जानी/नजानी सर्वसाधारणलाई जानकारी गराउनु आदि कारणले हाब्रेको सिकार र छाला भेटिने घटना बढ्न थालेको अनुमान गर्न सकिन्छ।  गरिबी र सहजै पैसा आउने भएपछि मानिसहरू सिकारमा सहभागी भएको हुन सक्ने अनुमानसमेत गरिएको छ।

अन्य वन्यजन्तुमा जस्तो सङ्कलनकर्ता, सहयोगी, व्यापारी र उपयोग गर्ने समूह हाब्रेको मामिलामा हालसम्म देखिएको छैन। अन्तर्राष्ट्रिय बजारमा समेत यिनको माग नभएको र देशैभित्र पनि प्रयोग नहुने हाब्रेको सिकार र अवैध व्यापारबारे विस्तृत अध्ययन गर्नुपर्ने कुरालाई सो लेखले  विशेष जोड दिएको छ।

हाब्रेको बासस्थान

 

नेपालमा संरक्षणका प्रयासहरू के भएका छन्?

सबै सरोकारवालाहरूको समन्वयमा हाब्रे संरक्षण परियोजनाहरु  सञ्चालित छन्। नेपालमा समुदायमा आधारित संरक्षणका कार्यक्रमहरू सञ्चालित छन्। रेड पाण्डा नेटवर्कले यसको विषयमा देशव्यापी अनुसन्धान गरिरहेको छ। नेपाल सरकारको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले  सन् २०१९ देखि सन् २०२३ सम्मको लागि ‘रेड पाण्डा संरक्षण कार्य योजना’ बनाएर लागु गरिसकेको छ। नेपाल प्रहरीको,  केन्द्रीय अनुसन्धान ब्युरोले यिनको अवैध व्यापारबारे विशेष निगरानी एवम् नियन्त्रण गर्ने गर्दछ।

अनुसन्धानकर्मी विष्ट भन्छन् ‘संरक्षण शिक्षा कार्यक्रममा वर्तमान कानुनी प्रावधान र वन्यजन्तु अपराधका आयामहरू समेट्न सकियो हाब्रे लगायत अन्य वन्यजन्तु संरक्षणमा थप टेवा पुग्ने छ।’   

सुधारिएको चुलोमार्फत दाउराको खपत कम गर्दै बासस्थान सुधारको प्रयास

 

डढेलो नियन्त्रणको लागि तालिम तथा सामग्री वितरण

 

हाब्रेको संरक्षणमार्फत स्थानीय पर्यापर्यटन विकास गर्न युवाहरुलाई प्रकृति पथ प्रदर्शकको तालिम

 

यो कस्तो स्तनधारी हो?

असाध्यै लजालु स्तनधारी मानिन्छ। गालामा, कानको भित्र पट्टी र थुतुनो निर सेतो भए पनि अन्य भाग रातो हुन्छl पुछर मोटो हुन्छl खुट्टा तिर कालो हुन्छl समुन्द्र सतहदेखि २८०० देखि ३६०० मिटर सम्मको उचाइमा भेटिएको छl यिनीहरू मुख्य गरी शाकाहारी हुन्। निगालाका कलिला मुनाहरू/पातहरू रुचाउँछन्। तर कहिलेकाहीँ फलफूल, जराहरू, साना चरा तथा तिनका फुल, साना स्तनधारी, किरा फट्याङ्ग्रासमेत खाने गर्छन्।

नेपालमा यिनको सङ्ख्या ३१७ देखि ५८२ सम्म भएको अनुमान सन् २०११ मा प्रकाशित स्तनधारीसम्बन्धी रातो पुस्तकमा उल्लेख गरिएको छ। यो प्रजातिलाई संसारमा संकटापन्न (इन्डेन्जर्ड) मानिन्छ। र, यिनको सङ्ख्या पनि घट्ने क्रममा नै छ। यो प्रजातिलाई नेपाल सरकारले विशेष संरक्षण प्रदान गरेको छl हालसम्म २४ जिल्लामा हाब्रे रहेको अनुमान छ। नेपालको कुल भूभागको करिब २३ प्रतिशत संरक्षण क्षेत्रले अगते पनि ७० प्रतिशत हाब्रे संरक्षण क्षेत्र बाहिर छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell