PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोना भाइरस नियन्त्रणमा ठूलो उपलब्धी हासिल गरेको सीको दाबी,चीनमा खाद्यान्न संकट टार्न ३० हजार भेडा दिँदै मंगोलिया



 कोरोना भाइरस नियन्त्रणमा ठूलो उपलब्धी हासिल गरेको सीको दाबी,चीनमा खाद्यान्न संकट टार्न ३० हजार भेडा दिँदै मंगोलिया
LIU BIN / XINHUA

चिनियाँ राष्ट्रपति सी जिनपिङले नोवेल कोरोना भाइरस नियन्त्रणमा चीनले ठूलो उपलब्धी हासिल गरिरहेको बताएका छन्। उनले कोरोना भाइरस विरुद्धको लडाइमा चीन सफल हुने विश्वास समेत व्यक्त गरेका छन्।

बिहीवार मंगोलियाका राष्ट्रपति खाल्त्मा बात्तुल्गासँग बेइजिङस्थित ग्रेट हलमा भएको भेटमा उनले यस्तो बताएका हुन्।

मंगोलियाका राष्ट्रपति बात्तुल्गा चीनमा नोवेल कोरोना भाइरस 'आउटब्रेक'पछि चीन भ्रमण गर्ने पहिलो विदेशी राष्ट्र प्रमुख हुन्। यसअघि कम्बोडियाका प्रधानमन्त्री साम्देक हुन सेन पनि चीनको भ्रमण गरेका थिए।

राष्ट्रपति सीले मंगोलियाका राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धको महत्त्वलाई दर्शाएको बताएका छन्।

'चीन सरकार र चिनियाँ जनता रोग विरुद्ध लड्न आफ्नै सबै तागत लाइरहेका छन्,' राष्ट्रपति सीले भनेका छन्, 'चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारले आफ्नो सबै ध्यान भाइरस नियन्त्रणका लागि लगाइरहेको छ।'

उनले चीनले आर्थिक उत्पादनलाई पनि नियमित रुपमा सञ्चालन गरिरहेको बताए।

चीनको खुला, पारदर्शी र उत्तरदायी व्यवहारका साथै रोगसँग लड्नका लागि अन्तर्राष्ट्रिय साझेदारीले कोरोना भाइरस विरुद्धको लडाइले विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समुदायबाट समर्थन पाएको बताए। उनले कोरोना विरुद्ध लड्नका लागि चीनले अन्य मुलुकहरुसँगसमेत साझेदार गर्ने बताए।

भेटका क्रममा मंगोलियाले चीनमा हुन सक्ने खाद्यान्न संकट टार्नका लागि ३० हजार भेडा सहयोग गर्ने घोषणा गरेको छ। बात्तुल्गाले भेटसँगै भेडा हस्तान्तरण गर्ने पत्र राष्ट्रपति सीलाई पेश गरेका थिए।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बिहीवार मात्रै चीनमा ३२७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ भने ४४ जनाको मृत्यु भएको छ।

चीनमा मात्र हालसम्म १८ हजार आठ सय २४ जनामा संक्रमण पुष्टि भएको छ भने दुई हजार सात सय ८८ जनाको मृत्यु भएको छ। त्यस्तै दुई हजार ३ सय ८ जना संकास्पद विरामी रहेको तथ्यांकमा उल्लेख छ। हालसम्म ३६ हजार एक सय १७ जनाको सफल उपचार भइसकेको छ।

चीनमा बुधवार मात्र ४३३ जना नयाँ संक्रमित बढेका थिए। भने २९ जनाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell