PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोरोना संक्रमणपछि घरबाटै सरकार चलाउँदै बेलायती प्रधानमन्त्री, काम गर्न नसके विदेशमन्त्रीले सम्हाल्ने छन् कार्यभार



कोरोना संक्रमणपछि घरबाटै सरकार चलाउँदै बेलायती प्रधानमन्त्री, काम गर्न नसके विदेशमन्त्रीले सम्हाल्ने छन् कार्यभार
PHOTO : METRO

कोभिड १९ (कोरोना भाइरस) को संक्रमण विश्वभर फैलिरहेको छ। युरोप त भाइरसको केन्द्रविन्दु नै बनेको छ। इटाली र स्पेन सबैभन्दा प्रभावित बन्दा भर्खरै युरोपियन युनियनबाट अल्लगिएको बेलायतमा समेत भाइरसले त्रास मच्चाएको छ।

भाइरसको संक्रमण बढ्दै गएसँगै हाल बेलायत ‘लकडाउन’मा छ। बेलायतमा मात्रै भाइरसबाट ११ हजार ६ सयभन्दा धेरै संक्रमित भइसकेको छन्।  ५ सय ७० भन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

यसैबीच प्रधानमन्त्री बोरिस जोनसनसमेत कोरोनाबाट संक्रमित भएका छन्। भाइरसबाट संक्रमित हुने सम्भवत पहिलो सरकार प्रमुख हुन् उनी। यसअघि राजकुमार चार्ल्स र बेलायती स्वास्थ्य मन्त्री नाडिन डोरिसमा समेत कोरोना भाइरसको संक्रमण देखिएको थियो।

बोरिसले आज ट्वीटरमार्फत एक भिडियो सन्देश जारी गर्दै आफूमा कोरोना पोजिटिभ देखिएको बताए।

यता, चार दिनअघि नै बोरिसले आफूमा संक्रमण देखिएमा विदेशमन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्री बनाउने घोषणा गरिसकेका थिए। प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटले चार दिनअघि नै बोरिस भाइरसबाट संक्रमित भए वा अस्वस्थ भएर काम गर्न नसक्ने भए सरकारको कार्यभार सम्हाल्ने गरी राबलाई ‘डेजिग्नेटेड सर्भाइबर’ बनाइएको बेलायती मिडियाहरुले उल्लेख गरिसकेका थिए। ‘डेजिग्नेटेड सर्भाइबर’ बन्न अरु नेताहरु समेत प्रयासरत रहेकोमा मन्त्रिमण्डलमा बोरिसपछि रहेका राबलाई नै चुनिएको थियो।

सांसदहरुले भाइरसको संक्रमणबीच प्रधानमन्त्रीले काम गर्न सक्ने अवस्था नरहे कसले काम गर्छ भनेर प्रश्न गरेका थिए। यसैकारण कोरोना प्लान अन्तर्गत राबलाई ‘डेजिग्नेटेड सर्भाइबर’ बनाउने निर्णय गरिएको थियो।

बोरिसमा पछिल्लो २४ घण्टामा मात्रै भाइरसको मध्यम लक्षण देखिन सुरु भएको हो। यसअघि उनलाई भाइरसको कुनै लक्षण देखिएको थिएन।

जोनसन कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेको यसअघि नै अधिकारीहरुले बताउँदै आएका थिए। जोनसनको दैनिक कार्य व्यस्तताका कारण र बेलायती संसदमा सांसदका अधिकांश सांसदहरु आइसोलेसनमा रहेकाले भाइरस सर्न सक्ने उच्च सम्भावना रहेको अनुमान गरिएको थियो।

शुक्रवार उक्त अनुमान सत्य साबित भयो। बोरिस जोनसनमा कोरोना भाइरसको संक्रमण देखियो। अहिले उनी आइसोलेसनमा छन्। भिडियो सन्देशमा उनले आफूले घरबाटै सरकार सञ्चालन गर्ने बताइसकेका छन्। 

डाउनिङ स्ट्रिटको योजनामा कुनै फेरबदल नभए घर बाहिर भने अब राबले सरकारको कार्यवाहक जिम्मेवारी सम्हाल्न बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell