PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इटलीमा कोरोनाको कहर: के सन सिरो स्टेडियममा भएको खेलबाट फैलिएको थियो भाइरस ?



इटलीमा कोरोनाको कहर: के सन सिरो स्टेडियममा भएको खेलबाट फैलिएको थियो भाइरस ?
Photo : inkhel.com

कोरोना भाइरसका कारण हाल विश्वका अधिकांश देश ‘लकडाउन’ मा छन्। युरोप त भाइरसको केन्द्रविन्दु नै बनेको छ। त्यसमध्ये इटाली भाइरसको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित भएको छ। अहिले इटलीसँगै अमेरिका, चीन, स्पेन, इरानलगायत विश्वका अधिकांश देशहरु कोरोनाको चपेटामा छन्। नेपालमा समेत कोरोनाको सम्भावित संक्रमणलाई ध्यानमा राखेर मंगलबारबाट लकडाउन गरिएको छ। जसको मुख्य उद्देश्य हो कोरोनाको फैलावटलाई रोक्नु। 

कोरोनाको फैलावटको कुरा गर्दा इटलीको चर्चा पहिला हुन्छ। कसरी इटलीमा आक्रामक रुपमा कोरोना फैलियो त? यो अहिले विश्वभर नै चासोकै रुपमा हेरिएको छ।

यसका विभिन्न कारणमध्ये एउटा कारण इटलीको सबैभन्दा धेरै कोरोना प्रभावित क्षेत्र बर्घामोमा भएको च्याम्पियन्स लिगको एक खेललाई समेत हेर्न थालिएको छ। त्यहाँका मेयर लगायत विज्ञहरुले समेत कोरोना इटलीमा फैलनुको कारण उक्त खेलबाट भएको अनुमान गरेका छन्।

१९ फेब्रुअरीमा इटलीको बर्घिमोस्थित सन सिरो स्टेडियममा एटलान्टा र भ्यालेन्सियाबीच च्याम्पियन्स लिगको खेल भएको थियो। उक्त खेलमा बर्घिमोका धेरै समर्थकहरु आफ्नो टिम एटलान्टालाई समर्थन गर्न पुगेका थिए। स्पेनबाट पनि करिव २ हजार ५०० को हाराहारीमा दर्शक भ्यालेन्सियालाई समर्थन गर्न पुगेका थिए।

त्यसको झन्डै डेढ महिना पछि विज्ञहरुले उक्त खेलबाट कोरोना ठूलो परिमाणमा फैलिएको हुन सक्ने औल्याएका हुन्। खचाखच भरिएको स्टेडियममा उक्त दिनको खेल हेर्न ४० हजार भन्दा बढी समर्थक उपस्थित रहेको बताइएको छ। खेल एटलान्टाले ४-१ ले जितेको थियो।

उक्त खेल सकिएको दुईदिन पछि नै इटलीमा पहिलो कोरोनाको केस देखापरेको थियो। र, तीब्र रुपमा फैलियो।

बर्घिमो शहरका मेयर जर्जियो गोरिले त कोरोना भाइरसलाई ‘जैविक बम’ भएको अभिव्यक्ति दिइसकेका छन्।

यही खेलमार्फत कोरोना फैलिएको हुन सक्ने तर्फको पछाडिको ‘लजिक’ हो भ्यालेन्सियाको टिममा देखिएको कोरोनाको संक्रमण। हालसम्म भ्यालेन्सियाको खेलाडी, स्टाफ लगायत ३५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ। अघिल्लो हप्ता नै भ्यालेन्सिया क्लबले आफ्ना एकतिहाइ भन्दा धेरै खेलाडी र कोचिङ स्टाफहरुमा कोरोनाको संक्रमण पोजिटिभ देखिएको जनाएको थियो।

‘खेलको क्रममा स्टेडियममा र खेलपछि बाहिर पनि ठूलो भीड थियो, ’ बर्घिमोका मेयर जर्जियोले एउटा भिडियो जारी गर्दै भनेका छन्, ‘पक्कै पनि त्यो रात मानिसहरुबीच संक्रमण को आदानप्रदान भएको हुनुपर्छ।’

उक्त खेलको दुई दिन पछि नै बर्घिमोबाट ४० माइल टाढा रहेको रहेको कोडोङ्गो शहरमा कोरोनाको संक्रमण भेटिएको थियो।

‘फुटबल एउटा कारक थियो तर अस्पताल पनि अर्को कारक रुपमा देखियो,’मेयर गोरीले भनेका छन्, ‘हामीलाई थाहा छैन कहिलेबाट, तर बिरामीहरुमा निमोनियका लक्षणहरु देखिँदै गए। तर यसका लक्षणहरु पत्ता लाग्न सकेका थिएनन्। बिरामीहरु सँगसँगै राखिएको थियो। उनीहरुको डाक्टर र नर्ससँग पनि सिधा सम्पर्क थियो।’

उक्त खेल सकिएको एक हप्ता भित्रै खेल हेर्न पुगेका भ्यालेन्सियाका एकजना पत्रकारमा पनि कोरोनाको संक्रमण  भेटिएको थियो।

मेयर गोरीले फरेन प्रेस एसोसिएसनसँगको कुराकानीमा जनवरीबाटै युरोपमा कोरोना देखिन थालेको खण्डमा इटलीमा उक्त खेलबाटै कोरोना फैलिएको हुनसक्ने बताएका छन्।

‘पछिल्ला दाबीहरु जस्तै जनवरीमै युरोपमा कोरोना फैलन शुरु गरेको हो भने सन सिरोमा ४० हजार मानिस उपस्थित भएको खेलबाट भाइरस संक्रमण  फैलिएको हुने सम्भावना धेरै रहन्छ,’ उनले भनेका छन्, ‘तर, दुर्भाग्य हामीलाई यसको हेक्का भएन। कसैलाई थाहा थिएन की यहा पहिल्यै भाइरस आइपुगेको थियो।

कोरोना संक्रमण  बढेसँगै पछिल्लो समयभने विश्वभरकै खेल गतिविधिहरु ठप्प छन्। त्यतिमात्र होइन युरोकप, कोपा अमेरिका, इन्डियन प्रिमियर लिग, ओलम्पिक लगायत विश्वका ठूला खेल इभन्टहरु स्थगित भइसकेका छन्। 

पछिल्लो रिपोर्ट अनुसार इटलीमा ८६ हजार भन्दा धेरै संंक्रमित छन् भने ९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell