PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भारत लकडाउन : दिल्लीबाट २०० किलोमिटर हिँड्दै आगरा पुगेका एक मजदुरको मृत्यु, घर पुग्ने सपना भएन पूरा



 भारत लकडाउन : दिल्लीबाट २०० किलोमिटर हिँड्दै आगरा पुगेका एक मजदुरको मृत्यु, घर पुग्ने सपना भएन पूरा
सांकेतिक तस्विर , PHOTO : AP/QUNIT

३९ वर्षीय रणवीर सिंह भारतको राजधानी नयाँ दिल्लीमा एक रेष्टुराँमा होम डेलिवरी ब्वाईका रुपमा काम गरिरहेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमण रोक्ने भन्दै देशभर लकडाउन घोषणा गरे, त्यो पनि २१ दिनलाई। त्यसअघि दिल्लीमा आंशिक रुपमा लकडाउन गरिएको थियो।

देशव्यापी लकडाउन भएपछि सिंहलाई दिल्लीमा बस्न निकै गाह्रो भयो। उनी पनि हजारौंको भिडमा मिसिए जो आ-आफ्नो घर फर्किरहेका थिए।

दिल्लीबाट उनी मध्य प्रदेशस्थित मुरैनामा रहेको आफ्नो घरका लागि निस्के, पैदल। लकडाउनका कारण बस, रेल सेवाहरु ठप्प थिए। त्यसैले उनले पैदलै घर जाने योजना बनाए। दिल्लीबाट हिँड्दै यात्रा गर्दा उनको घर करिब ३०० किलोमिटर टाढा पर्थ्‍यो। यात्राका क्रममा अवरोध पनि आए। प्रहरीले रोक्ने, तर्साउने लगायतका काम गरे। कति समय भोकै बसे।

तर, सिंह आफ्नो घर पुगेनन्। दिल्लीबाट हिँड्दै २०० किलोमिटर यात्रा गरेर उनी आगरा पुगे। त्यही नै उनको मृत्यु भयो

दिल्लीमा काम गरेर उनी आफ्नो परिवारका लागि रकम जुटाउँदै थिए। दुई सन्तानका बुबा सिंह नेशनल हाइवे २ को कैलाश मोडमा बेहोस भएर ढलेका थिए। सँगै थिए सयौं पैदल यात्रुहरु।  त्यहाँ रहेका एक पसले उनी तर्फ दौडिए र उनका लागि पानी र केही खानेकुरा लिएर पुगे। तर, त्यति बेलासम्म निकै ढिलो भइसकेको थियो।

सिंहले ती व्यापारीलाई आफ्नो छातीमा समस्या भएको सुनाए र श्रीमतीको भाइलाई फोन गरिदिन आग्रह गरे। उनले फोनमा आफ्नो अवस्थाका बारेमा परिवारलाई जानकारी दिए। केही समयपछि उनको मृत्यु भयो।

प्रहरीका अनुसार सिंहको पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण हर्टअट्याक उल्लेख गरिएको छ। २०० किलोमिटर हिँडेकाले थकानका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सिंह त केबल एक प्रतिनिधि पात्र हुन्। भारत सरकारले भाइरस नियन्त्रणका लागि भनेर सबैलाई घर भित्रै बस्न आग्रह गरेको छ। तर, राजमार्गहरुमा हजारौं संख्यामा मानिसहरु हिँडिरहेका छन्। सयौं किलोमिटरको दुरी पार गर्दै आफ्नो परिवार कहाँ पुग्न।

भारतीय मिडियाका अनुसार २१ दिने लकडाउनले सबैभन्दा धेरै प्रभावित प्रवासी मजदुरहरु भएका छन्। जो अहिले पैदल आफ्नो घर पुग्ने प्रयासमा छन्। उनीहरुको यात्रा जारी छ तर गन्तव्य निकै टाढा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell