PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जमर्नीका प्रान्तीय अर्थमन्त्रीद्वारा आत्महत्या, कोरोना भाइरसको महामारीलाई लिएर थिए चिन्तित



जमर्नीका प्रान्तीय अर्थमन्त्रीद्वारा आत्महत्या, कोरोना भाइरसको महामारीलाई लिएर थिए चिन्तित
Photo : Alliance/dpa/DW

जर्मनीको हेस्से प्रान्तका अर्थमन्त्री थोमस साइफरले आत्महत्या गरेका छन्। युरोपलाई केन्द्रविन्दु बनाएर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट उत्पन्न संकटका कारण साइफरले आत्महत्या गरेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्।

५४ वर्षीय साइफर जर्मनीकी चान्सलर एन्जेला मर्केलको पार्टीका वरिष्ठ नेता थिए। हेस्से प्रान्तमा दुई दशकदेखि राजनीतिमा सक्रिय रहेका उनी करिब १० वर्षदेखि प्रान्तका अर्थमन्त्रीका रुपमा काम गर्दै आएका थिए।

साइफर आगामी २०२३ मा हुने प्रान्तीय निर्वाचनमा प्रान्त प्रमुख (मिनिस्टर प्रेसिडेन्ट) को लागि निर्वाचनमा उठ्न सक्ने अनुमान गरिएको थियो। हालका प्रमुख भोल्कर बोउफिरीका अनुसार साइफर कोरोना भाइरसको महामारीलाई लिएर निकै चिन्तित थिए।

‘यो संकटको बेलामा जनताहरुको अपेक्षा अनुसार उनीहरुको इच्छा पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा उनी निकै चिन्तित थिए। अर्थतन्त्र धरासायी बन्न नदिन उनी प्रयासरत् थिए। तर, उनको लागि अरु कुनै बाटो थिएन। उनी निराश थिए। त्यसैको कारण उनले हामीलाई छोडेर गए। यो घटना हामी सबैको लागि अप्रत्याशित छ।’ उनले भने।

जर्मनीमा कोरोना भाइरसबाट ४ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ भने  ५५ हजारभन्दा बढी संक्रमित भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell