PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोरोनाविरुद्ध सतर्कता : स्थानीयको गस्ती, अपरिचितलाई 'नो इन्ट्री'

कोरोनाविरुद्ध सतर्कता : स्थानीयको गस्ती, अपरिचितलाई 'नो इन्ट्री'


काठमाडौं : गत मंगलवार साँझ काठमाडौंको ओमबहालमा एक सरकारी नम्बर प्लेटको गाडी रोकियो। गाडीबाट तीनजना ओर्लिए र नातेदारको बसेको डेरामा जान लागे। अपरिचित मानिसहरु देखेपछि स्थानीयहरु आए र सोधपुछ गर्न थाले।

सर्लाहीमा जोखिम बढेको भन्दै उनीहरु सरकारी गाडीमा नै नातेदारको कोठामा आएका थिए। तर स्थानीयले रोकेपछि उनीहरु सहजै घरभित्र जान पाएनन्। यस विषयमा वडा अध्यक्ष र महानगर प्रमुखलाई समेत जानकारी गराइयो। पछि उनीहरुलाई आरडीटी टेस्टका लागि पठाइयो। अवस्था बुझेर सर्लाहीबाट आएका मानिसहरु सोही गाडीमा फर्किए।

केहीदिन यता काठमाडौंमा पुन: कोरोना भाइरसको संक्रमण देखिन सुरु भएको छ। पाँचवटा केस देखिएर 'जिरो एक्टिभ केस' मा पुगेको संक्रमण हाल बढ्दै गइरहेको छ। काठमाडौंका नयाँ संक्रमितहरु सबै जना लकडाउनको समयमा नै बाहिरी जिल्लाबाट आएको पाइएको छ। त्यसैले पनि काठमाडौं भित्रिने सबै नाका सिल गर्नुपर्ने माग स्थानीय सरकारले गरेको छ।

यता, काठमाडौंको भित्री वस्तीहरुमा बाहिरका मानिसहरु आउने क्रम बढ्दै गएको सूचनाको आधारमा टोलटोलमा स्वयमसेवक परिचालन भएका छन्। स्थानीयस्तरमा नै युवाहरु स्वत: आफ्नो टोलमा बाहिरी र अन्जान व्यक्ति देख्ने बित्तिकै सोधपुछ गर्ने र फर्काउने काम गरिरहेका छन्।

मरु,चिकंमुगल, मजिपात, ह्युमत, लगन, ओमबहाल, भीमसेनस्थान, जैशीदेवल, सिगल, वसन्तपुर लगायतका क्षेत्रमा स्थानीयहरु स्वत: गस्तीमा ओर्लिएका हुन्।

बाहिरबाट आउने गाडीसमेत रोक्नका लागि ठाउँठाउँमा अस्थायी तारबार लगाउने काम गरिएको छ। वडाहरुले पनि बाहिर जिल्लाबाट आउने र अपरिचित व्यक्तिलाई टोल वा घरमा प्रवेश नगराउनु भन्दै विज्ञप्ति निकालेपछि स्थानीयले सर्तकता अपनाउन थालेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell