PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सिंगापुरमा 'जुम' भिडियो कन्फरेन्सबाट 'ड्रग डिलर' लाई सुनाइयो मृत्युदण्डको सजाय



सिंगापुरमा 'जुम' भिडियो कन्फरेन्सबाट 'ड्रग डिलर' लाई सुनाइयो मृत्युदण्डको सजाय
PHOTO : How Hwee Young/EPA

कोरोना संक्रमणका कारण विश्वका अधिकांश देश लकडाउनमा छन्। महिनौं देखि नागरिकहरु घरभित्र छन्। यो लकडाउनको समयमा मानिसहरु 'वर्क फ्रम होम' (घरबाटै काम) गरिरहेका छन्। सरकारी र निजी कार्यालयहरु भर्चुअल भएका छन्। भिडियो कन्फरेन्स सामान्य बनेको छ।

सिंगापुर पनि संक्रमणको त्रासमा लकडाउनमा छ। सरकारले सकेसम्म मानिसहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। अत्यावश्यक बाहेकका काम घरबाटै गर्न भनिएको छ। यसैबीच सिंगापुरमा  भिडियो कन्फरेन्समार्फत् एक जनालाई मृत्युदण्डको सजाय दिइएको छ।

जुम एपको प्रयोग गर्दै गरिएको सुनुवाइमा ३७ वर्षीय मलेसियन नागरिक पुनिथन गेनासनलाई मृत्युदण्डको सजाय सुनाइएको हो। उनलाई सन् २०११ मा लागू औषध कारोवारको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

लकडाउनको समयमा भर्चुअल रुपमा सिंगापुरमा मृत्युदण्ड दिइएको यो पहिलोपटक भएको बीबीसीले उल्लेख गरेको छ।   

लकडाउनका कारण सिंगापुरका अधिकांश अदालतहरु बन्द छन्। जुन १ सम्म लकडाउन घोषणा गरेकाले त्यसपछि मात्रै अदालत खुल्न सक्ने बताइएको छ। यद्यपि, अति आवश्यक मानिएका मुद्दाहरुको भने जुममार्फत् सुनुवाइ भइरहेको छ।

मानव अधिकारवादी संस्थाहरुले भने कोरोना महामारीको बेला विश्व नै आतंकित भएको बेला सिंगापुरमा मृत्युदण्डको सजाय सुनाउने कार्यको विरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell