PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बजेटमा प्रतिपक्षीको प्रतिक्रिया : पोहोरको हुबहु, प्रधानमन्त्री रोजगार कार्यक्रम दुरुपयोग हुने गरी ल्याइयो, सिर्जनात्मक रहेको सत्तापक्षको दाबी



बजेटमा प्रतिपक्षीको प्रतिक्रिया : पोहोरको हुबहु, प्रधानमन्त्री रोजगार कार्यक्रम दुरुपयोग हुने गरी ल्याइयो, सिर्जनात्मक रहेको सत्तापक्षको दाबी

काठमाडौं : राजनीतिक दलका नेताहरुले बिहीवार प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि प्रारम्भिक प्रतिक्रिया दिन थालेका छन्।

बिहीवार अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमाथि प्रारम्भिक टिप्पणी गर्दै प्रतिपक्षी दलका नेताहरुले बजेट पुरानै ढर्राको बताएका छन् भने सत्तापक्षका नेताहरुले बजेट सिर्जनात्मक भएको दाबी गरेका छन्।

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बजेट परम्परागत रुपमा आएकाले वर्तमान समस्याको समाधान नगर्ने बताए। वित्तीय व्यवस्थापनको क्षेत्रमा सिद्धान्तको रुपमा ठीक रहेको उल्ले गर्दै बाबुरामले  कोरोना महामारीबाट न्यूनिकरणको लागि गरिएको व्यवस्था, व्यवसायीलाई राहत दिने, रोजगारी सिर्जना गर्ने, कृषि क्षेत्रमा प्राथमिकता दिने कुरा कार्यान्वयनमा जान कठिन हुने गरी बजेट ल्याइएको तर्क गरे। बजेट चालु आर्थिक वर्षको भन्दा कम भएको र राजस् समेत घटेको अवस्थामा विशेष क्षेत्रलाई बढी लक्षित गरेर बजेट ल्याउनुपर्ने उनको सुझाव रह्यो।

उनले धेरै कुरा अघिल्लो वर्षको हुबहु सारिएको आरोपसमेत लगाएका छन्। भट्टराईले भनेका छन्, 'यो वर्षको बजेट सँगसँगै पेहोर सालको बजेट-बक्तव्य पनि खोलेर हेर्नुहोला। बजेट शीर्षक केही फरक परे पनि धेरै कुरा हुबहु उही छन्। बजेटको आकार मात्रै उस्तै हैन स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, शिक्षा जस्ता प्राथमिकता दिने भनिएका क्षेत्रमा रकम विनियोजन पनि उस्तै उस्तै छ। यसले समस्या हल होला?'

स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट ९० अर्ब मात्र रहेकोले अहिलेको परिस्थितिसँग जुध्न कठिन हुने भट्टराईले बताए।

पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटमा धेरै कुरा आएको भएपनि प्राथमिकतामा कुनै पनि क्षेत्र नपरेको टिप्पणी गरे। स्वास्थ्य, रोजगारी तथा शिक्षामा आएका विषयहरु पुरानै प्रकृतिको भएको कार्कीले बताए। कृषि क्षेत्रको विकासमा पनि खासै योजना आउन नसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम बढाइएको र उक्त रकम फेरी दुरुपयोग हुने गरी ल्याईएको आरोप लगाए। समग्रमा बजेट आश्वासन मुखी भए पनि कार्यान्वयनको दिशामा विगतको निरन्तरतालाई जोड दिएको उल्लेख गरे। कोरोना भाइरसबाट प्रभावित भएका क्षेत्रमा पनि राम्रोसँग, उत्साहित रुपमा काम गर्ने गरी कार्यक्रम बजेटमा समावेस नभएको उनको भनाई थियो।

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले अहिलको परिस्थितिलाई ख्याल नगरी बजेट ल्याइएको आरोप लगाए। सरकारले अबको २, ३ महिनाभित्रै कोरोना पूर्ण रुपमा नियन्त्रणमा आउने विश्वासका साथ खर्च जुटाउने र खर्च गर्ने संकल्प लिएको बताए। कोरोनाबाट नेपाल मुक्त हुने र यसबाट हामी कही पनि प्रभावित हुँदैनौ भन्ने आत्मविश्वास राखेको बताए। कोरोना महामारीको भविष्य अहिले किटान नभएको अवस्थामा अहिलेको बजेटबाट ठूलो अपेक्षा गर्न नसकिने उनको भनाई थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बजेट पुरानै ढर्राको भएको प्रतिक्रिया दिएका छन्। बजेटमाथि प्रारम्भिक टिप्पणी गर्दै थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु सकारात्मक भएको बताएका छन्।

'स्वास्थ,कृषीलाई प्राथमिकता तथा दुध/मासु /तरकारीमा आत्मनिर्भर बन्ने सकारात्मक,' सामाजिक सञ्जाल ट्वीटरमा अध्यक्ष थापाले लेखेका छन्, 'विदेशीलाई वर्क पर्मिटमा कडाई गर्नसके राम्रो।'

पूर्वाधार विकासमा बजेट घटाएकोप्रति भने उनले असन्तुष्टि व्यक्त गरेका छन्। भनेका छन्, 'पूर्वाधार बिकासमा बजेट घटाएको ठीक भएन।'

संभावित चुनौति सामना गर्ने सिर्जनशील सोचाईको अभाव बजेटमा देखिएको उल्लेख गर्दै उनले थपेका छन्, 'समग्रमा पुरानै ढर्राकै सामान्य बजेट।'

सत्तारुढ दलका नेताको प्रतिक्रिया यस्तो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोरोना महामारीको विषयम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताए। बजेट सिर्जनात्मक, प्रगतिशिल, जनपक्षिय र समाजवादउन्मुख ढंगले आएको प्रचण्डको प्रतिक्रिया रह्यो। बजेटले सबै जनता र खासगरी निम्न वर्गका जनतालाई राहत दिने गरी आएको उनले बताए। आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको अनुमान वस्तुवादी भएकाले बजेटको स्रोतहरु त्यसैबाट जुट्ने आशा प्रचण्डले व्यक्त गरे।

नेकपा वरिष्ठ नेता माधव नेपालले बजेटले अहिलेको आवश्यकतालाई सम्बोधन गरेको दाबी गरे। व्यापक रुपमा कोरोना फैलिरहेको बेला यसको सामना कसरी गर्ने, स्वास्थ्य समस्या कसरी सम्बोधन गर्ने, रोजारीको समस्या कसरी सम्बोधन गर्ने र कृषि क्षेत्रलाई कसरी गर्ने भन्ने कुराहरु बजेटमा सम्बोधन भएको नेपालको भनाई थियो।

नेकपा सांसद गोकुल बास्कोटाले स्वास्थ्य क्षेत्रका कर्मचारी बाहेक अन्य कर्मचारीहरु र विलासिताका क्षेत्रहरु कटौती गरिनु सकारात्मक भएको बताए। अहिलेको परिस्थितिको अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्दै सरकारले बजेट ल्याउनु सकारात्मक भएको बास्कोटाको भनाई थियो। अन्य क्षेत्रका कर्मचारीहरुलाई केही असन्तुष्ट बनाए पनि स्वभाविक रुपमा लिनुपर्ने उनले बताए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रमा पारेको असरलाई कम गर्ने र नागरिकको जीवन रक्षासँग केन्द्रीत भएर बजेट आएको उल्लेख गरे। स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा झण्डै २२ अर्ब बढी बजेट विनियोजन हुनुले स्वास्थ्य क्षेत्र बढी प्राथमिकतामा परेको भट्टराईले बताए।

सबैभन्दा धेरै धक्का परेको पर्यटन व्यवसायमा कर छुट, सस्तो ब्याजमा ऋण दिने व्यवस्था, त्यस्तै कर्मचरीको सुरक्षाका लागि कोषको व्यवस्था गरेकोले बजेट सन्तुलित रहेको भट्टराईको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell