PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेकपा सचिवालय बैठक : बजेटमा एमसीसीको व्यवस्थाबारे अर्थमन्त्रीले पारे स्पष्ट



नेकपा सचिवालय बैठक : बजेटमा एमसीसीको व्यवस्थाबारे अर्थमन्त्रीले पारे स्पष्ट

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ।  प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा आज एमसीसी परियोजना बारेमा छलफल भएको थियो।

बजेटको अनुसूचीमा एमसीसी योजनाका बारेमा स्पष्ट गर्न छलफल गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

हाल एमसीसी सम्झौता संसदमा विचाराधीन रहेको भन्दै उनले बजेटमा भएको व्यवस्था त्यसै अन्तर्गत गरिएको बताए।  

नीति तथा कार्यक्रममा एमसीसीको कार्यक्रम समावेश गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र भीम रावलले आपत्ति जनाउँदै एमसीसी जस्केलाबाट घुसाउन खोजेको हो भन्दै प्रधानमन्त्रीलाई पत्र लेखेका थिए।

त्यसैले आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा सहित नेता भीम रावललाई आमन्त्रण गरी एमसीसीबारे छलफल गरिएको हो। एमसीसीलाई संसदबाट पारित गराउने विषयमा नेकपा भित्र नै विवाद भइरहेको बेला आमन्त्रित सदस्यहरुबीच बैठक बसेको थियो।

एमसीसी संसदबाट अनुमोदित भएको अवस्थामा त्यस अनुसार हुने कामका लागि बजेट ल्याइएको बैठकमा स्पष्ट गरिएको छ। यस्तै संसदबाट सम्झौता अनुमोदन नभए सरकारले वैकल्पिक उपाय खोजेर अघि बढ्ने अर्थमन्त्रीले बताएको श्रेष्ठले जानकारी दिए। अर्थमन्त्रीले यस बारेमा संसदमा थप स्पष्ट गर्ने बताइएको छ। 

एमसीसीबारेमा पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाइसकेको भन्दै उनले भने, ‘कार्यदलले दिएको प्रतिवेदनलाई छिट्टै सचिवालयमा छलफल गर्ने सहमति भएको छ। त्यसपछि हामी आवश्यक निष्कर्षमा पुग्नेछौं। त्यसबेलासम्म एमसीसीको काम अघि बढाउन भनिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell