विश्व भण्डारी
सर,
म भन्दै छु
गल्ती मै बाट भएको हो ,
मेरै आमा को कोख
मेरै भाग्य हो
मेरो कहालीलाग्दो वर्तमान को दुस्मन
मेरै समाजले राखेको हो फरक कित्तामा मलाई
म जान्दछु सबै बिगत र वर्तमान
गल्ती मै बाट भएको हो
जाबो तपाईको प्रतापी लाती म माथि पर्दा म आतिनु पर्ने ?
म भन्दै छु कृपया मलाई एक चिम्टी श्वास फेर्न दिनुस्।
सर ,
ईतिहास देखी तपाईंका तलुवा बनेको म
कसरी भुसुक्कै बिर्सें तपाईको रङ्गभेदी पराक्रम
हुन त म कहिले तपाई सरह थिए र
तपाईको लाती बर्सिदा दुखित हुनुलाई ?
म त सधैं तल पर्ने जात
मेरी सानी छोरीलाई
तपाई को पराक्रममा शंका नगर्न भन्छु
आमालाई नरुन भन्छु
ऐया.. उकुसमुकुस भयो
अन्धकारै अन्धकार देख्छु
धमिला भईसके आँखा
भो माफि भो सर
मलाई श्वास फेर्न दिनुस्।
तिमीले मेरो घाँटी थिची रहँदा
मेरी आमाको श्वास अड्किएको छ
मेरी प्यारीको आङमा घाम अस्ताएको छ
मेरी छोरीको सुन्दर भविस्य पनि कुल्चिएको छ
यी सबै मर्छन एउटै चिहानमा म सँगै
र म सँगै
सकिन्छ मन्डेला र लुथरका संघर्षका कुरा
म विगत जस्तै शान्त बस्न सकिन
र भनिरहेछु
सर म एकचोटी लामो श्वास फेर्न चाहन्छु।
यो पैतला मुनी कुल्चिएको जर्ज फ्लोएड होइन
रङ्गभेदी आन्दोलन को विश्व इतिहास हो
शताब्दीदेखी को मौनता
मन्डेला लुथर का सपना
कथित गोरा भनौदाहरु को इज्जत
नस्लवादी चिन्तन।
व्याकरण र धर्मग्रन्थको पैताला मुनी
न्याय फिलन्दो क्यसटाइलदेखी
एल्टोन स्टेर्लिङ्ग सम्म
सदियौंदेखीको दमनको श्रृंखला
भित्र म निस्सासिरहेको छु।
म कोही पनि हैन
म नागरिक हैन,
यो समाजको सैन्दर्य हैन,
चेतना हैन,
जस्लाई हेरेर कसैले गौरव गर्न सकोस
ममा त्यस्तो रहर लाग्दो केही चिज छैन।
संयोगले
म जर्ज फ्लोएड
आधा मानव
धमिलो मानवको आकृती जस्तै देखिने
सामान्य सडक छाप
जो मरिरहेको छु
आधुनिक समाजको वास्तविकता बनेर।