PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

खोकनामा कतै रोपाई, कतै भिडन्त : प्रहरीको अवरोधबीच स्थानीयले बाग्मतीबाट ताने पानी, रोपे धान

खोकनामा कतै रोपाई, कतै भिडन्त : प्रहरीको अवरोधबीच स्थानीयले बाग्मतीबाट ताने पानी, रोपे धान


ललितपुर :  खोकनाको खुदोल फाँटमा प्रस्तावित फास्ट ट्रयाकको जिरो किलोमिटरको विरोधमा स्थानीयले सांकेतिक विरोध स्वरुप धान रोपेका छन्।  उनीहरु रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटो कुदालोसहित कुदेश, सिकाली हुँदै  खुदोल पुगेका थिए।

असार १५ गते खेतमा धान रोप्ने पुगेका किसानलाई प्रहरीले रोकेपछि शनिवार उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकनामा पुगेका हुन्। रुद्रायणीबाट करिब आधा घण्टा हिँडेर खुदोल पुगेका सयौं  व्यक्तिले खोकनाको सभ्यता विनाश गर्न नपाइने भन्दै नारा लगाएका थिए। 

प्रस्तावित फास्ट ट्रयाकको विरोधमा उनीहरुले खुदोलमा धान रोपाइ गरी सांकेतिक विरोध प्रदर्शन गरे। धिमे र भुस्या बजाउँदै धान रोपाईमा सहभागी भएका उनीहरुले खोकनाको कृषि योग्न जमिन अतिक्रमण गर्न नपाइने भन्दै प्रदर्शन गरे। 

जेनरेटर बोकेरै खेतमा पुगेका किसानले बाग्मती खोलाबाट पानी तानेर रोपाई गरेका थिए। त्यसक्रममा प्रहरीसँग केही बेर विवाद सम्म भएको थियो। किसानको समर्थनमा खुदोल पुग्नेको संख्या बढेसँगै प्रहरीले थप सुरक्षाकर्मी समेत बोलाएको थियो। सीमा चाहिने सुरक्षा फौज खेतमा किसानी गर्ने कृषकविरुद्ध तैनाथ गरिएको भन्दै स्थानीयहरुले प्रहरीलाई सहयोग गर्न आग्रह समेत गरेका थिए। जग्गाधनी लालपूर्जा लिएर खेतमा खेतमा रोपाइ गर्न पुगेकाहरुलाई रोकेपछि स्थानीय र प्रहरीबीच केही समय घम्साघम्सी समेत भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यासेत प्रहार गरेको छ भने केही घाइते भएका छन्।

खोकनाको अन्न भण्डारका रुपमा रहेको कुदेश, खुदोल हुँदै सरकारले फास्ट ट्रयाक निर्माण गर्ने घोषणा गरेदेखि त्यसको विरोध भइरहेको छ। निर्माणधीन फास्ट ट्रयाकका कारण  ऐतिहासिक सिकाली मन्दिर र खोकनाको संस्कृति नै लोप हुने संघारमा पुग्ने भन्दै शनिवार उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु खोकनामा पुगेका हुन्।

खोकना र बुंगमती हुँदै काठमाडौं-तराई (मधेश) द्रुतमार्ग (फास्ट ट्रयाक)सँगै १३२ केभिए विद्युत प्रसारण लाइन, बाहिरी चक्रपथ,  नयाँ स्याटलाइट शहर, वाग्मती कोरिडोर, काठमाडौँ तराई रेलमार्ग जस्ता आयोजनाहरू सञ्चालनमा ल्याउने सरकारको नीति छ। फास्ट ट्रयाकका कारण बुंगमती, खोकना, कुदेश र सिकाली मन्दिरको सांस्कृतिक र ऐतिहासिक सभ्यताका साथै उपत्यकाकै खेती योग्य जमिन मासिने भन्दै स्थानीयले विरोध गर्दै आएका हुन्।

सबै परियोजना एकै स्थानमा पारेर खोकनाको सभ्यता विनाश गर्न सरकार उद्दत रहेको स्थानीयको आरोप छ। उनीहरुले फास्ट ट्रयाक लगाउयतका परियोजना खोकनाको सभ्यता नमासिने गरि विकास गर्द माग गर्दै आइरहेका छन्।

राष्ट्रिय पुर्नजागरण अभियानका असोजकुमार महर्जनले बिना सहमति र मुआब्जा किसानको जग्गा अधिग्रहण गर्ने प्रयास गरिएको बताए।  भूकम्पको बेलामा केही मानिसले मात्रै मुआवजा लिएको बताउँदै अधिकांश खोकनाबासी प्रवेशविन्दुको विरोधमा रहेको बताए। हालसम्म करिब १५ देखि २० प्रतिशतले मात्रै बाध्यताबश् मुआब्जा लिएको उनले बताए।

फास्ट-ट्रयाकका कारण ३०० भन्दा बढी परिवार प्रत्यक्ष प्रभावित हुने बताउँछन् उनी। सरकारले बाँकी स्थानमा भन्दा कम क्षतिपूर्ति दिएको प्रति पनि स्थानीयको गुनासो छ।

‘सहमति बिना सेनाको क्याम्प बनाएको छ। वडा केही सकारात्मक भएपनि मेयरले हाम्रो सम्भता बचाउन चाहेनन्। सिडिओ र मेयर सँग अब वार्ता गरे केही उपलब्ध हुनेवाला छैन। अब वार्ता हुने भनेको रक्षा मन्त्री र प्रधानमन्त्रीसँग हो।’ उनले भने ।

सिकाली र कुदेशबाट काठमाडौँ उपत्यकाकै पहिलो र प्रमुख मानव सभ्यता सुरु भएको दाबी छ खोकनावासीको। सिकाली सभ्यता उपत्यकाको सबैभन्दा पुरानो सभ्यता रहेको असोज बताउँछन्। खोकनाको उबर भूमिमाथि अतिक्रमण गरेर उपत्यकाको नेवा: सभ्यतममाथि नै  आक्रमण गर्ने प्रयास गरेको उनले आरोप लगाए।

प्रवेशविन्दु बनाउने भनेको स्थानमा उत्खननका क्रममा मानव निर्मित बत्ती बाल्ने दियो, माटोको सामाग्री, इनार, घरको जगका साथै पुरातात्विक महत्त्वका सामानहरू भेटिएको र ती सम्पदाहरू मल्लकालीन रहेको उनीहरूको दाबी छ।

स्थानीयहरुले कुदेशमा पर्ने प्रवेशविन्दु परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन्।

सेनाले भने सो क्षेत्रफलभित्र जनताको घर वा स्थायी संरचना नभएको भन्दै जनताको उठिबास नहुने बताउँदै आएको छ। फास्ट ट्रयाकको निर्माणबाट खोकना क्षेत्रका ऐतिहासिक सम्पदा नष्ट नहुने सेनाको तर्क छ। तर स्थानीयभने कुदेश बिना खोकनाको अस्तित्व नै नरहने भन्दै विरोधमा छन्।



ट्रेन्डिङ पोस्ट

Ncell