PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राजस्व छलीको अभियोगमा चार फर्मविरुद्ध मुद्दा, ७७ करोड बिगो दाबी, को-को तानिए ?



राजस्व छलीको अभियोगमा चार फर्मविरुद्ध मुद्दा, ७७ करोड बिगो दाबी, को-को तानिए ?

काठमाडौँ : राजस्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी तथा नक्कली बिजक प्रयोग गरी राजस्व हिनामिना गरेको अभियोगमा चार फर्मविरुद्ध मुद्दा दायर गरेको छ। यस्तै, भन्सार चोरी पैठारीमा एक व्यक्तिविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ। चार फर्म र एक व्यक्तिसमेतका प्रतिवादीसँग विभागले ७७ करोड चार लाख १३ हजार २२० रुपैयाँ बिगो कायम गरेको छ।

विभागले न्यू कोइराला ब्रदर्स इन्टरप्राइजेज, समर ट्रेडर्स, जिमी ग्रुप तथा न्यू क्रियसन इम्पेक्सविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। यस्तै, विभागले विदेशबाट मोबाइललगायतका इलेक्ट्रोनिक्स सामान चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा काठमाडौँ महानगरपालिका १५ का मयूर मालाकारलाई पनि मुद्दा दायर गरेको छ।

कसलाई कति बिगो ?

विभागले न्यू कोइराला ब्रदर्ससँग एक करोड ७० लाख ३९ हजार ८५५ रुपैयाँ बिगो दाबी गरेको छ। वास्तविक वस्तु तथा सेवा खरिद नगरी झुट्टा मूल्य अभिवृद्धि कर बिजकमात्र लिएर मूअक र आयकर छली गरेको अभियोग विभागले लगाएको छ।

यस्तै समर ट्रेडर्ससँग विभागले चार करोड ५८ लाख दुई हजार २३९ रुपैयाँ बिगो दाबी गरेको छ। ट्रेडर्समाथि आयात गरेका सबै वस्तुको विक्री नदेखाएको, कतिपयमा आयातभन्दा विक्री बढी देखिएको र सक्कल प्रज्ञापनपत्र पेस गर्न नसकेको अभियोग लगाइएको छ।

विभागले ट्रेडर्सका प्रोप्राइटर गौतम सरार्फ तथा फर्मको कारोबार र बैंक खाता चलाउने राधाकृष्णप्रसाद तुराहालाई पनि विपक्षी बनाएको छ। बिगो रकम बराबरको जरिवाना र ब्याज समेत असुलको दाबी विभागले गरेको छ।

यस्तै विभागले विदेशबाट मोबाइललगायत इलेक्ट्रोनिक्स सामान चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा काठमाडौं महानगरपालिका १५ का मयूर मालाकारविरुद्ध पनि मुद्दा दायर गरेको छ। विभागले मालाकारसँग ४३ करोड १८ लाख ९५ हजार ४३१ रुपैयाँ बिगो दाबी गरेको छ।

यस्तै विभागले झुट्टा तथा नक्कली मूअक र बिजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा जिमी ग्रुपसँग १८ करोड ३३ लाख बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

विभागले ललितपुर महानगरपालिका ३ स्थित न्यू क्रियसन इम्पेक्ससँग ९ करोड २३ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ। वस्तु तथा सेवाको खरिद नै नगरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट अभियोगमा मुद्दा दायर गरिएको हो। इम्पेक्ससँगै बंगलामुखी ट्रेड एण्ड सप्लायर्स, बिएस ट्रेड इन्टरनेशनललाई पनि सोही मुद्दामा विपक्षी बनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell