PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पार्टीको कारवाहीविरुद्ध सरिता गिरी निर्वाचन आयोगमा, अवैधानिक कदम भन्दै सभामुखलाई पत्र



पार्टीको कारवाहीविरुद्ध सरिता गिरी निर्वाचन आयोगमा, अवैधानिक कदम भन्दै सभामुखलाई पत्र

काठमाडौं : आफ्नो पार्टी जनता समाजवादीले साधारण सदस्य नरहने गरी कारवाही गरेपछि त्यसकाविरुद्ध सांसद सरिता गिरीले निर्वाचन आयोगमा उजुरी हालेकी छन्। पार्टीको कुनै पनि निर्णय केन्द्रीय कमिटीबाट मात्रै छिनोफानो हुने भए पनि पार्टीका शीर्ष नेताले कार्यकारिणी समितिबाटै आफूलाई कारवाही गरिएको भन्दै त्यसलाई छानविन गरिदिन आग्रह गर्दै गिरीले आयोगमा उजुरी दर्ता गरेको उनी निकट स्रोतले जनायो।

'उहाँले आफूलाई गरिएको कारवाहीबारे छानविनका लागि आयोगमा उजुरी हाल्नु भएको हो। कार्यकरिणी समितिले अन्तिम निर्णय गर्न नसक्ने उहाँको दावी छ,' स्रोतले भन्यो।

यस्तै पार्टीको कारवाहीमा परेकी गिरीले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई पनि आफ्नो कारवाही वैधानिक नभएको भन्दै पत्र लेखेकी छन्। उनले आफूलाई वैधानिक तवरले कारवाही नगरेकाले सांसद पद निलम्बन नहुने दावीसहितको पत्र पठाएकी हुन्। गिरीले अदालतमा जाने तयारी गरेको स्रोतले बतायो। जनता समाजवादीले संसदमा नयाँ नक्सा संविधानमा समावेश गर्दा संसदमा छलफलका लागि प्रस्तुत विधेयकका बेला पक्षमा भोट हाल्ने पार्टिको ह्विप नमानेको भन्दै कारवाही गरेको थियो। पार्टीको  कारवाही पछि उनले अदालतको ढोका ढकढक्याउने अभिब्यक्ति दिएकी थिइन। उनले पार्टीका शीर्ष नेतालाई मुद्दा हाल्ने चेतावनी पनि दिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell