PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अधिनायकवादी यात्रामा दुई अध्यक्ष, भ्रम चिर्न असफल प्रतिपक्ष



अधिनायकवादी यात्रामा दुई अध्यक्ष, भ्रम चिर्न असफल प्रतिपक्ष

  • रत्नबहादुर कार्की -

विगत ७ महिनादेखि खोप, औषधि तथा उपचारको खोजीमा तल्लिन वैज्ञानिक अनुसन्धानलाई असफल तुल्याँउदै करीब छ लाख मानिसले ज्यान गुमाइसकेका छन् भने डेढ करोड हाराहारी मानिसहरु संक्रमित भइसकेका छन्। विश्वव्यापी कोरोना संक्रमण अपेक्षाकृत नेपालमा कम देखिए पनि हालसम्म ४० जनाले ज्यान गुमाइसकेका छन् भने १७ हजार ५ सय २ जना मानिसहरु संक्रमित हुन पुगेका छन्। नेपालमा कोरोना महामारीसँगै बाढीपहिरोको विपत्तिबाट पनि नागारिक प्रताडित छन्। कोरोना महामारीको तुलनामा केही दिनकै बाढीपहिरोमा परेर मृत्यु हुने र हराउनेको संख्या निकै बढी छ।

भ्रष्टाचार, अनियमितता तथा कुशासनले ग्रस्त नेपालको पछिल्लो छ महिनामा अरबौंको क्षति पुगेको छ। कोरोना महामारीका कारण लाखौंले रोजगारी गुमाएर गरिवीको रेखामुनि पुगेका छन्। अंग्रेजको लामो समयपछि औपनिवेशिक दासत्वबाट मुक्त भएका कतिपय एसियाली मुलुकले छोटो समयमै विकासको चमात्कारिक फड्को मार्न सफल भएका छन् तर इतिहासमै कसैको गुलाम हुन नपरेको नेपाल भने मूलत शासकको पश्चगामी शोच र अधिनायकवादी कार्य शैलीका कारण उत्तिकै रुपको विनासले असफलतातर्फ धकेलिएको छ।

नेपाली जनतालाई आज उत्पन्न महाविपत्तिबाट मुक्त गरी मुलुकमा शान्ति, सुव्यवस्था तथा अमनचयन कायम गर्ने जिम्मेवारी बोकेको वर्तमान सरकार अहिले पार्टीको आन्तरिक विवादमा रुमलिएको छ। भ्रष्टाचार, अनियमितता तथा अधिनायकवादी मनोवृत्तिका कारण चौतर्फीरुपमा आलोचित प्रधानमन्त्री केपी ओली हारेको सेनापति झैं आफ्नै मन्त्रीहरुलाई समेत पक्ष र विपक्षको रुपमा कित्ताकाट गर्न पुगेका छन्। जनताबाट लर्कारिएका पार्टी तथा संसदीय मोर्चामा समेत अल्पमतमा परेका प्रधानमन्त्रीलाई आफ्नै मन्त्रीले साथ छोड्ने अवस्थाले सरकार असफल भएको अर्को प्रमाण अब दिइरहनु पर्दैन। प्रधानमन्त्रीय पद्धतीको वर्तमान सरकारको गोपनीयता भंग हुने अवस्थाले अब सरकारकै वैधानिकतामा पनि प्रश्न उठाएको छ।

चुस्त प्रशासन, विकास निर्माण, शान्ति सुरक्षा तथा सुशासनमा पूर्णतय चुकेको सरकार पार्टीको आन्तरिक विवाद देखाएर अझै पनि आफ्नो अक्षमतालाई ढाकछोप गर्ने कसरतमा छ। रामको जन्मभूमि अयोध्या नेपालको भन्ने प्रधानमन्त्रीको निराधार दावीलाई पनि यही रुपमा लिन सकिन्छ। गम्भीर रुपमा कुटनीतिक विचलनबाट गुज्रिरहेका प्रधानमन्त्रीले राष्ट्रवादीको नाममा मुलुकलाई अन्तर्राष्ट्रिय मुठभेडतर्फ जबर्जस्ती डोहर्‍याइरहेका छन्। नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटिएको नक्सा पास गर्ने राष्ट्रिय एजेण्डामा प्रमुख प्रतिपक्ष पार्टी नेपाली कांग्रेसले संस्थागत रुपमै निर्णय गरेर समर्थन गर्‍यो। विपक्षी दलले समेत सर्वसम्मतिले पास गरेको नक्सा सरकारको गम्भीर अक्षमताको कारण जमीन फिर्ताको प्रकृयामा अगाडि बढ्न सकेको छैन।

नेकपाभित्र अल्पमतमा परेका ओलीले आफ्नै पार्टीका नेतालाई समेत भारत परास्त भएको गम्भीर आरोप लागाएका छन्। हुन त 'नाच्न जान्दैन आँगन टेडो' भन्ने उखान झैं प्रधानमन्त्रीको असफलतासँगै भारतलाई दोष थोपर्ने पुरानै प्रवृत्ति हो। तर, जनतालाई सार्थक परिणाम दिनुपर्ने जिम्मेवारी बोकेका प्रधानमन्त्री ओलीले कथित् राष्ट्रवादी बन्ने एकल दौडमा भने सबैलाई उछिनेका छन्। कागजमा होइन भूमि नै फिर्ता गरिन्छ भन्ने प्रधानमन्त्रीको बोलीमात्र थियो। सचिवालयको बहुमतले लतारेपछि मात्र नक्सा जारी गर्न तयार भएको सचिवालय सदस्यहरुले बताउँदै आएका छन्। भलै राष्ट्रवादको एकमात्र जश लिने दुष्कृत्य प्रधानमन्त्रीले गरिरहेका छन्। तर, उनका बोली र व्यवहारमा कुनै तालमेल देखिँदैन। बरु, उल्टै राष्ट्रवादको नारा अनापेक्षित विदेशी हस्ताक्षेप निम्त्याउने तानावाना त बुनिँदै छैन? आशंका बढ्दै गएको छ।

कम्युनिस्ट पार्टी मूलत व्यक्तिको अधिनायकत्वमा चल्ने एकदलीय व्यवस्था हो। त्यसैले प्रधानमन्त्री ओली र प्रचण्ड दुवै अधिनायकवादी नेता हुन्। तर, आफूलाई मात्र सक्कली कम्युनिस्ट देख्ने र अर्कोलाई गद्धार, संशोधनवादी करार गर्ने कम्युनिस्टको मौलिक संस्कृति नै हो। कम्युनिस्ट व्यवस्था भएको मुलुकको पार्टी नै सरकार हो। पार्टीको अध्यक्ष तथा महासचिव नै राष्ट्रप्रमुख तथा सरकार प्रमुख हुन्छन्। र, राज्यका सारा अंगहरु उनीहरुकै अर्थात् कम्युनिस्ट पार्टीद्वारा नियन्त्रित हुन्छ। पार्टीभित्रको केन्द्रीय समिति स्थायी समितिको नियन्त्रणमा र स्थायी समिति, पोलिटब्यूरोद्वारा नियन्त्रित गर्दै पोलिटब्यूमाथि महासचिव तथा अध्यक्षको तानाशाही मार्फत् सिंगो मुलकलाई कम्युनिस्ट तानाशाही व्यवस्थाले निलेको हुन्छ। त्यसैले सोभियत रुस, चीन, भियतनाम, क्यूवा, उत्तर कोरिया जस्ता विश्वमा बचेका कम्युनिस्ट देशको पदचाप यहाँको कम्युनिस्ट पार्टी नेकपाले पछ्याउँदै छ। प्रधानमन्त्री ओलीले पनि प्रकारान्तरले चीनकै एकदलीय कम्युनिस्ट मोडल नेपालमा लागू गर्ने कोसिस गर्दैछन्। चिनियाँ कम्युनिस्ट पार्टीबाट अनवरत लिइरहेको नेकपा सरकार प्रशिक्षण पनि यसैको उदाहरण हो।

असहमति राख्ने आफ्नै पार्टीको नेताको पनि सफाय गर्ने कम्युनिस्टका महान नेता मध्ये लेनिन, स्टालिन, पोलपोट तथा माओ प्रवृत्तिको कतै नेपालमा पुनरावृत्ति हुन खोजेको त होइन? नेकपाभित्र सत्ताको लुछाचुडीले यही कुरा बताइरहेको छ। सत्ता संकट गहिरिँदै जाँदा नेकपाभित्र आठ रेक्टरको भूईंचलो गएको छ। पार्टी नफोर्न दुवै पक्षले जोड दिएका छन्। पार्टी र सरकारको बागडोर समातेको सचिवालयको गतिविधिले पार्टी एक भएको सन्देश कतै पनि दिइरहेको छैन। प्रधानमन्त्री ओली, प्रचण्ड र नेपालबीच उत्पन्न द्वन्द्व एकअर्काको राजनीति नै सफाय गरेर पार्टी कब्जा गर्ने हदसम्म पुगेका देखिन्छ। विरोधीलाई सफाय गर्दै प्रधानमन्त्री ओली राष्ट्रवादको बुलडोजर चलाएर कम्युनिस्ट व्यवस्थाको नाममा मुलुकमाथि तानाशाही शासन लाद्न उद्दत छन्। तेसैले ललिता निवास जग्गा घोटालामा आफैंलाई जेल हाल्ने षड्यन्त्र गरिरहेका प्रधानमन्त्रीलाई कसरी सहयोग गर्ने? ओली विरुद्ध नेपालले यही अस्त्र प्रयोग गरिरहेका छन्। तत्कालीन प्रधानमन्त्री झलनाथ खनाललाई प्रधानमन्त्रीबाट गलहत्याउन ओलीले पनि कुनै कसर बाँकी राखेका थिएनन्। प्रधानमन्त्रीमा जति धेरै खनाल रहन्छन् उत्तिकै मात्रमा मुलुकको दुर्भाग्य हुन्छ भन्ने ओलीको सार्वजनिक बक्तव्य उनले कदापि बिर्सन सक्ने घट्ना भएन। जन्मजात एकअर्काविरुद्ध हतियार नै साँधेका प्रचण्ड ओली मित्रता निस्वार्थ हुनसक्ने कुरै भएन। ओलीलाई राँची लानुपर्ने भनेर प्रतिवाद गर्ने प्रचण्डलाई एकताका ओलीले सबैभन्दा ठूलो भ्रष्टाचारी भनेर खुलेआम घोषणा गरेका थिए। अहिले ओलीको सत्ता संकटका सबैभन्दा ठूलो खतरा पनि उनै प्रचण्ड हुन पुगेका छन्। हुन त प्रचण्डको हत्या, हिंसा र भ्रष्टाचारको काण्डै—काण्डबाट ओली अवश्य पनि अनभिज्ञ छैनन्। सत्ताका दावेदारलाई छिमाल्ने र आफ्नालाई ब्राम्हलुट मच्चाउन दिने कम्युनिस्ट व्यवस्थाको विशेषता नै हो। नेपालमा प्रधानमन्त्रीको रुपमा अहिले ओलीले त्यही काम गर्दै छन्।

नेपालमा दुई व्यक्तिको अधिनायकवादी व्यवस्था लाद्न खोज्दा आज नेकपामा समस्या उत्पन्न भएको हो। प्रचण्डको नजरमा ओली कम्युनिस्ट होइनन् बरु संशोधनवादी, कम्युनिस्ट आन्दोलनलाई धोका दिने गद्धार हुन्। त्यसैगरी ओलीका नजरमा पनि प्रचण्ड सच्चा कम्युनिस्ट होइनन् बरु उग्र वापपन्थी, बिसर्जनवादी, भारतीय दलाल हुन्। कम्रेड किरणले त प्रचण्डलाई वाम पन्थ बिसर्जनवादी, अवसरवादी दलाल, नोकरशाही दलाल र गद्धार भनेर करार गरिसकेका छन्। त्यसैले ओली र प्रचण्ड दुवैले आधा आधा कार्यकाल प्रधानमन्त्री हुने पार्टी एकीकरण पूर्वकै अप्राकृतिक शर्त नै उनीहरुको सिद्धान्तहीन अवसरवादी दलाल चरित्र हो। एकीकरणको भत्किसकेको जगमा अडेको वर्तमान नेकपा यहाँभन्दा अगाडि अझै जानु भनेको दुर्घटनाबाहेक अरु केही होइन।

नेपालको बहुदलीय लोकतान्त्रिक व्यवस्था, स्वतन्त्र न्यायपालिका, प्रेस तथा वैयक्तिक स्वतन्त्रता जस्ता अधिकारहरु प्रधानमन्त्री ओलीको तानाशाही अभिष्टको लागि निल्नु न ओकल्नु भइरहेको छ। अर्कातिर कम्युनिस्ट अधिनायकवादी यात्रा तय गरेर अघि बढेका ओलितन्त्रका तगाराको रुपमा मूलत उनकै पार्टीका समकक्षी नेता प्रचण्ड, नेपाल बन्न पुगेका छन्। यसैले एक व्यक्तिको अधिनायकत्वमा चल्ने नेकपालाई बहु ब्यक्तिको अधिनायकत्वमा चलाउन खोज्दा उत्पन्न द्वन्द्व आज सतहमा आएको हो। ओली र प्रचण्डले एउटै जहाजको दुइटा क्याप्टेन भनेर जेट त उडाए। तर, तथाकथित क्याप्टेनले ढङ्ग पुर्‍याएर उडान भर्न सकेका देखिँदैन। यसको मारमा उनीहरुको पार्टीमात्र होइन देश नै पर्ने जोखिम बढेर गएको छ। अध्यक्षद्वय भ्रमको राजनीति गर्न माहिर छन्। सर्पको खुट्टा सर्पले देख्छ भने झै दुवैले एकअर्काको नक्कली राष्ट्रवादीता रहस्य राम्ररी बुझेका छन्। भारतीय विस्तारवादी भन्ने र भारतकै दानापानीमा चलेको तत्कालीन माओवादी आन्दोलनलाई ओलीले नबुझ्ने कुरै थिएन। भारतीय नाकाबन्दीबाट तथाकथित राष्ट्रवादीको नामबाट एकाएक उदय भएका ओलीलाई पनि प्रचण्डले नचिन्ने कुरै भएन। तर, उनीहरुको भ्रमको राजनीतिलाई जनताको बीचमा भण्डाफोर गर्ने कर्तव्यबाट प्रमुख प्रतिपक्षी दल समेत विमुख हुँदाको परिणाम नेपाली नागरिकले भोगिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell