PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हिन्दू धर्म संस्कारका विभेदकारी अभ्यास र व्याख्यालाई पादरीहरुले सुझाव दिँदैनन्



हिन्दू धर्म संस्कारका विभेदकारी अभ्यास र व्याख्यालाई पादरीहरुले सुझाव दिँदैनन्

  • - प्रकाशचन्द्र परियार

हामीले हाम्रा पुर्खा, अग्रज र देवतुल्य विभूतिहरुको धर्म, संस्कृति, संस्कार, परम्परा, रीतिरिवाजबारे गरिएको राम्रा व्याख्या र असल अभ्यासहरुको निरन्तरता दिनै पर्छ।

देवतुल्य हाम्रा ऋषि, गुरू, विद्वानहरुले वर्षौंदेखि धर्म, संस्कृति, संस्कार र अभ्यासमा रहेका कतिपय विभेद, दुर्गुण र अन्ध विश्वासलाई त्यतिबेला देखि नै सामयिक सुधारको पक्षमा काम गर्दै आएका थिए जसले पछिल्लो समयमा उल्लेख्य निरन्तरता पाएन। जसका कारण आजकाल आफ्नै धर्म संस्कृति परम्परामा मौलाएको विभेद, विकृति र असमानताबारे बोल्न हामीहरुलाई अप्ठ्यारो परिरहेको छ। सामयिक मत- मतान्तर, बहस टिप्पणी खुला, स्वस्थ र उल्लेख्य मात्रामा हुनै सकेको छैन।

विगत फेर्न नसकिएला, कतिपय नकारात्मक विभेदी संस्कार फेर्नै पर्छ। त्यसैले गुरु र पुरोहित-पण्डामा केही फरक छ, पुरोहित्याईं पूर्णकालीन पेशा हो। आफ्नो पेशा टिकाइरहन उसले सजिलो भएसम्म सुधारको प्रयत्न किन गरोस?

मेरी श्रीमती तीजमा फलाहार ब्रत बस्छिन्, यसपटक जुठो परेकाले बसिनन्, बिहे भएदेखि ऋषि पंचमीको ब्रत बसेकी छैनन, खुट्टाको पानी त के मेरो संस्कारका हिसाबले खुट्टा पनि छुन्नन्, न म दिन्छु। यो हाम्रो सामयिक सुधारको पाटो हो। ढोङ्ग होइन समझदार अभ्यास हुँदै हो।

एकपटक ऋषि धमलाको पत्नीले खुट्टाको पानी खाएपछि पतिको खुट्टा ढोगेको फोटो सार्वजनिक गरिन्। यो उनको आस्था, विश्वास र अधिकार भयो, सन्देश के गयो समीक्षा गरौंला।

कुरो यत्ति मात्र कहाँ हो र, समयले अझ धेरै कोल्टे फेरिसकेको छ।

हिजो श्रीमानको निधन भएपछि उनीसँगै सती जानुपर्ने बाध्यताको कानूनी रुपमा अन्त्य भएको असार २५ गते सय वर्ष पूरा भयो। त्यतिबेला सति प्रथालाई धार्मिक रंगरोगन लगाएर फैलाइएको थियो- उफ ! सम्झदा पनि आगो बल्छ, कसरी सहे होला हाम्रा जिजुहजुरीहरुले, त्यतिबेला राणा शासन थियो।

अस्तीसम्म ‘छाउ घर’ बनाएर महिनावारी बारेको कुरा पछिल्लो पुस्तालाई एकादेशको कहानी जस्तो हुन सक्छ, नपत्याउन सक्छन्। ‘छाउ घर’ अब आस्था अभ्यास गर्ने मन्दिर रहेन, छाउ घर बने, बनाइए दण्डनीय बनिसक्यो।

छुवाछूत प्रथाको जड धार्मिक हुँदै कानून समेत थियो, अब छुवाछूत गर्नेहरु कारागार चलान हुनेछन्। गाँउघरको, समाजको चलन भन्दै जोगाउनेहरु खोजी खोजी कानूनको दायरामा ल्याएर कारबाहीको भागिदार बनाउनै पर्छ। छुवाछूत विभेदको जरियामा हत्यासम्मै जारी छ। बेलायती चर्चको पादरी आएर यो कलंकको अन्त्य गर्न आउनेवाला छैन। हामी सबै लागेर निमिट्यान्न पार्ने हो।

म जन्मजात हिन्दु हुँ। त्यसैले यो धर्ममाथि सुधारका लागि त्यत्ति नै मलाई हक छ, जति पण्डित, पण्डा र पुरोहितको छ। धर्म, संस्कृति र अभ्यासमा बहस र सुधार नखोज्नु भनेको बर्षौदेखि हामीलाई यस्तो पनि राजनीति हुन्छ? यो त तिमीहरुले गर्ने नै होइन भन्ने जस्ता ‘वातावरणीय बाध्यता’, कानूनी जंजीर र जबरजस्त किनाराको विषय बनाएर जसरी कुशासन लादियो त्यस्तै हो, धर्म संस्कारका विभेदी अभ्यास पालना गराइरहनु, गरिरहनु पनि।

जब महिलामाथि शासन र आधिपत्य जमाउन धर्मका कतिपय धाराहरु, अभ्यासहरु, चलनहरु एउटा टुल्सको रुपमा टिकाउँदै ल्याइयो। त्यसको व्यवहारिक अन्त्य अवश्यंभावी थियो, समयक्रमसँगै हामीले सुधार भोगिरहेका पनि छौं। जसलाई यहाँसम्म ल्याउन सामयिक सुधारवादी पहलले, कानुनी सुनिश्चितताको पहलले काम गरेकै हो।

धार्मिक र संस्कारजन्य सुधारका लागि नबोलोस्, सोधीखोजी नहोस् भन्नका लागि योजनाबद्ध ‘आ यो त हाम्रो विषय नै होइन’ जस्तो बनाइएको थियो। अब मुख खोल्नु पर्छ। त्यसैले महिलाहरु बोल्नु पर्छ। सुधारकहरुले खोज्नुपर्छ। अभ्यासकर्ताहरुले रोज्नुपर्छ। विभेदजन्य संस्कारहरु परिमार्जन गर्न सकिन्छ। दलित समुदाय त झन बोल्नुपर्छ। मान्छे हुनै नदिने संस्कारजन्य अभ्यास कहिलेसम्म टुलुटुलु हेरेर मौन बसिरहने?

पुर्खाले मन्दिर प्रवेश आन्दोलन चलाए भने हामीले संसद प्रवेश आन्दोलन किन नचलाउने? पुर्खाले सहभोज आन्दोलन चलाए भने हामीले पुस्तकालय आन्दोलन किन नचलाउने?

आजको युगमा धर्मको मूल भावलाई जटिल बनाएर जिन्दगी नै अझ जटिल किन बनाउने भन्ने विचारले गरिखाइरहेको छ। आध्यात्मिक चेत भएको मानिसले ७ लाख तिरेर पशुपतिनाथ मन्दिरमा विशेष पुजा लगाएको मैले सुनेको छैन, बरु त्यहाँ सुकेको परबलमा हरियो रंग घोलेर बजार पठाउने खराब ब्यापारीहरुको अचाक्ली इच्छाचैं बुझी नसक्नु छ। आध्यात्मिक ज्ञानका धनीले छुवाछूत गर्दैनन। महिला हिंसा गर्दैनन। गर्नु हुँदैन भनेर समाजलाई जगाउँछन्। एक कदम अघि सरेर।

धर्मलाई व्यापार बनाउने, राजनीतिको माध्यम बनाउने चलन विश्वमै चलिनै रहेको छ। त्यसैले महिलाहरु अलि बढी नै सचेत हुन जरुरी छ, पुरुषहरुको अधिक सहयोगमा।

अमेरिकामा पूरानो चर्च किनेर नेपालीहरुले सामुदायिक भवन बनाएको समाचारले हामी जति खुसी हुन्छौ, अष्ट्रेलियामा पुगेर पनि छुवाछुत गर्ने नेपाली सोचलाई श्रद्धान्जली नदिने हाम्रो कुण्ठाको भो कुरा नगरम।

नेपालमा यसो धर्म संस्कार सुधारको कुरा, परिमार्जनको कुरा विभेद विरोधी क्रान्तिकारी कुरा आयो कि क्रिश्चियन मिशनरीको कुरो आइहाल्छ। हिन्दू धर्म संस्कारको सामयिक सुधारमा जोडबल नदिने, गोडमेल नगर्ने, रंग रोगन नगर्ने, मानवतावादी ब्याख्या नफैलाउने, दलित र महिला विरोधी धाराको पानी नखोली दिने, अनी मिशनरीलाई मात्रै दोष दिएर पानी माथिको ओभानोवाला तमासे पाराले हाम्रो श्रीवृद्धि महिनावारीको पाप पखाल्नमै सीमित होला कि भन्ने चिन्ता किन नगर्ने? अब ‘विप्र वाक्य जनार्दनम!’ होइन, ‘परिवर्तन आत्मसाथे सर्वहिताय बहुजन सुखाय’ पो हुनुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell