PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नाओमी ओसाकाको सात वटा मास्कमा लुकेका सात कथा



नाओमी ओसाकाको सात वटा मास्कमा लुकेका सात कथा
Photo : Aljazeera

सातवटा खेल, सातवटा मास्कमा सातवटा नाम।

शनिवार बेलारुसकी भिक्टोरिया अजारेन्कालाई हराउँदै दोस्रोपटक युएस ओपनको उपाधि जितेकी नाओमी ओसाकाले टेनिस कोर्टमा आउँदा कालो रंगको मास्क लगाएकी थिइन्। हेर्दा सामान्य तर त्यसपछाडीको कथाको अहिले विश्वभर चर्चा भइरहेको छ।

ओसाका यसपटक युएस ओपनको हरेक खेलमा भिन्न तरिकाले उपस्थित भइन्। २२ वर्षीया जापानी खेलाडी ओसाका यो टुर्नामेन्टको हरेक खेलमा मास्क लगाएर आइन। हरेकपल्ट आउँदा उनको मास्कमा छुट्टाछुट्टै व्यक्तिको नाम लेखिएको हुन्थ्यो।

मास्कमा अमेरिकामा रंगभेदको सिकार भएका व्यक्तिहरुको नाम लेखिएको थियो। कमै बोल्ने ओसाकाले यसपटक खेल मैदानबाट नै रंगभेदविरुद्ध आवाज उठाइन्।

राउन्ड वानमा ओसाकाले अश्वेत समुदायका ब्रेओन्ना टेलरको नाम लेखिएको मास्क लगाएकी थिइन्। २६ वर्षीय टेलरको मृत्यु प्रहरीले गोली प्रहार गर्दा भएको थियो। तस्विर : फ्यांक फ्रयान्कलिन/एपी

राउन्ड टुमा उनले २३ वर्षको उमेरमा प्रहरीले नियन्त्रणमा लिने क्रममा मृत्यु भएका लिजाह म्याकक्लानको नाम लेखिएको मास्क लगाएकी थिइन्। तस्विर : म्याथिउ स्टकम्यान/गेट्टी इमेजेस

राउन्ड थ्रीमा ओसाकाले २५ वर्षीय अहमउद अर्बेरीको नाम लेखिएको मास्क लगाइन्। श्वेत समुदायका केही हतियारधारी युवाहरुको आक्रमणबाट अर्बेरीको मृत्यु भएको थियो। तस्विर : ड्यानियल पारहिजकरण/ रोयटर्स

राउन्ड फोरमा उनले ट्रेभोन मार्टिनलाई सम्झिन्। सन् २०१२ मा जर्ज जिम्मरम्यानले १७ वर्षीय मार्टिनको हत्या गरेका थिए। उक्त हत्यापछि फ्लोरिडामा ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चर्किएको थियो। तस्विर : फ्यांक फ्रयान्कलिन/एपी

क्वाटर फाइनलमा भने ओकासाले जर्ज फ्लोइडको नाम लेखिएको मास्क लगाएकी थिइन्। प्रहरीले नियन्त्रणमा लिने क्रममा घाँटीमा घुँडाले थिच्दा जर्जको मृत्यु भएको थियो। उनको मृत्युपछि विश्वभर रंगेभेदविरुद्ध आन्दोलनले नयाँ रुप लिएको थियो। अहिले पनि उनलाई न्याय दिलाउन अमेरिकामा प्रदर्शन भइरहेको छ। तस्विर : फ्यांक फ्रयान्कलिन/एपी

सेमिफाइनलमा उनले सन् २०१६ मा प्रहरीको गोली लागि मृत्यु भएका फिलान्डो क्यास्टिलको नाम लेखिएको मास्क लगाएकी थिइन्। तस्विर : सेथ वेनिग/ एपी

फाइनलमा सातौं मास्कबाट उनले २०१४ को घटना याद दिलाउने प्रयत्न गरिन्। ओहियोमा प्रहरी अधिकृत तिमोथी लोहम्यानले गोली प्रहार गर्दा १२ वर्षीय तमिर राइसको मृत्यु भएको थियो। फाइनलमा तमिरको नाममा उनले आफ्नो खेल समर्पित गरिन् र दोस्रो पटक युएस ओपन च्याम्पियन बनिन्।  तस्विर : ड्यानियल पारहिजकरण/ रोयटर्स

आफ्नो मास्कबाट उनले मानिसहरुलाई ती घटना याद दिलाउन प्रयत्न गरेको बताएकी छिन्।

युएस ओपन च्याम्पियन ओसाका भन्छिन्‘ यसको मुख्य उद्देश्य मानिसहरुले यसबारेमा बोलुन्, कुरा गरुन भनेर हो। धेरै मानिसले यो कथा थाहा पाउन जरुरी छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell