PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतको संसदमा हंगामा, सांसदहरुले रुल बुक च्याते, माइक तोडे, विरोधका बीच किसान विधेयक पारित



भारतको संसदमा हंगामा, सांसदहरुले रुल बुक च्याते, माइक तोडे, विरोधका बीच किसान विधेयक पारित

विपक्षीको विरोधका बीच भारतको बहुचर्चित किसान बिल राज्यसभाबाट पारित भएको छ। कृषिसँग सम्बन्धित दुई विधेयक ध्वनी मतले पारित भएको हो। संसदमा कृषि मन्त्री नरेन्द्र सिंह तोमरले जवाफ दिने क्रममा विपक्षी सांसदले हंगामा गरेका थिए।

दिउँसो १ बजे नै सकिनुपर्ने सांसद बैठकको अवधि विधेयक पारित गर्नकै लागि बढाएपछि विपक्षी सांसदले संसदका उपसभापति हरिवंशविरुद्ध नाराबाजी गरेका थिए भने उपसभापतिको आसननजिकै गएर रुक बुक च्यातेर माइक पनि तोडफोड गरेका थिए। परिस्थितिलाई नियन्त्रणमा लिन मार्शल बोलाउनु परेको थियो।

अन्तत: विपक्षको हंगामा बीच कृषक उपज व्यापार र वाणिज्य (सम्वर्द्धन र सरलीकरण) विधेयक, २०२० र कृषक (सशक्तिकरण र संरक्षण) मूल्य आश्वासन र कृषि सेवा करार विधेयक, २०२० राज्यसभाबाट पारित भएको हो। लोकसभाबाट यसअघि नै पारित भइसकेको छ।

विधेयक पारित भएपछि १२ विपक्षी दलका सांसदले उपसभापति हरिवंशविरुद्ध अविश्वासको प्रस्तावका लागि निवेदन दिएका छन्।

अर्कोतिर सत्ता पक्षले सदनको कारवाहीका क्रममा अराजकता फैलाउने सांसदमाथि कारवाहीको माग गर्दै अर्को प्रस्ताव पेश गर्ने तयारी गरेको छ।

विपक्षीको व्यवहारलाई लिएर हिजो राती नै राज्यसभा सभापति एवं उपराष्ट्रपति वैंकैया नायडूको निवासमा उपसभापति हरिवंश, केंद्रीय मन्त्री पीयूष गोयल र संसदीय कार्य मन्त्री प्रहलाद जोशीको बैठक भएको थियो।

बैठकमा सदनमा सत्ता पक्षले अराजकता फैलाउने सांसदलाई निलम्बन प्रस्ताव ल्याउने विषयमा छलफल भएको सञ्चारमाध्यमले जनाएका छन्।

लोकसभाको बैठक मध्यरातीसम्म

यसैबीच लोकसभाको बैठक मध्यरातीसम्म चल्यो। दिउँसो राज्यसभामा हंगामा भए पनि मध्यरातीसम्म चलेको लोकसभा भने शान्त थियो। साँझ ४ बजे सुरु भएको बैठक राती १२ बजेर ३६ मिनेटसम्म चलेको थियो। साढे ५ घण्टाभन्दा बढी समय चलेको बैठकमा कोभिड १९ बारे चर्चा भएको थियो भने ४ वटा विधेयक पारित गर्‍यो। अध्यक्ष ओम बिरलाले लोकसभालाई सोमवार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरे।

बैठकले मन्त्रीहरुको तलबभत्ता (संशोधन) विधेयक, २०२० पारित गर्‍यो। जसअन्तर्गत कोभिड १९ महामारीका कारण सांसदहरुको तलबभत्तामा ३० प्रतिशत कटौतीको प्रावधान छ। यो विधेयक राज्यसभामा १८ सेप्टेम्बर (शुक्रवार) नै पारित भइसकेको छ।

यसका आलावा अर्हित वित्तीय संविदा द्विपक्षीय नेटिंग विधेयक, २०२० (द बाइलेटरल नेटिंग अफ क्वालिफाइड फाइनान्सियल कन्ट्रयाक्ट्स बिल), राष्ट्रिय रक्षा युनिभर्सिटी बिल २०२० र द नैशनल फरेन्सिक साइन्स युनिभर्सिटी बिल, २०२० पनि तल्लो सदनबाट पारित भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell