PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

वीर अस्पतालमा कोरोना संक्रमितको शंकास्पद मृत्यु



वीर अस्पतालमा कोरोना संक्रमितको शंकास्पद मृत्यु

काठमाडौं : असोज ३ गते वीर अस्पतालमा उपचारको क्रममा ६३ वर्षीय रामलखन जैसवालको मृत्यु भयो। जैसवालको मृत्यु शंकास्पद रुपमा भएको उनको परिवारले दाबी गरेका छन्। यो मृत्यु नभई हत्या भएको आशंका परिवारको रहेको छ।

मृत्युपछि उनको कोभिड-१९ परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गरिरहेका जैसवालाई स्वास्थ्यमा समस्या भएपछि वीर अस्पताल लगिएको थियो।

रुपन्देहीको सिद्धार्थ नगरपालिका घर भएका उनको शरीरमा चोट देखिएको दाबी गर्दै उनको परिवारले मृत्युलाई शंकास्पद भनेका छन्। 'शरीरमा चोट देखिएको छ। घाँटीमा पनि दागजस्तो भएकाले हामीलाई मृत्यु शंकास्पद लागेको हो,' जैसवाल  भाईका छोरो शिव जैसवालले भने।

मंगलवार परिवारले वीर अस्पताल पुगेर शव हेर्दा शंका लागेपछि घटनाको छानविन हुनुपर्ने माग गरेका थिए। केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले भने मृत्यु कुनै पनि शंकास्पद नभएको दावी गरेका छन्। पार्किन्सनको बिरामी भएका जैसवाललाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको उनले बताए।

'कारागारभित्र कुनै पनि शंकास्पद छैन। उहाँलाई आवश्यक परे सिसिक्यामरा फुटेजदेखि अन्य प्रमाण देखाउन सकिन्छ। बिरामी भएपछि ३ गते ९ बजेर ४५ मिनेटमा अस्पताल लगेका थियौं। करिब ११ बजेतिर मृत्यु भएको जानकारी आएको थियो,' जेलर बाँस्कोटाले भने।

जैसवाल ज्यान मार्ने मुद्दामा कारागारमा रहेका थिए। जिल्ला अदालत रुपन्देहीले ज्यान मार्ने मुद्दामा २० वर्ष कारागार सजाय सुनाएका उनले ८ वर्ष कैद भुक्तान गरिसकेका थिए। अहिले विभिन्न सामाजिक सञ्जालमा जैसवालको मृत्युलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

घटनाको अनुसन्धानमा शंका लागे गृहमन्त्रालयले छानविन समिति गठन गरेर अनुसन्धान गर्नसक्छ। तर कोभिड-१९ संक्रमितको पोस्टमार्टम गर्ने प्रावधान नभएकाले के गर्ने भन्ने प्रश्न भने उठेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell