PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वर्षा राउतका जुम्ल्याहा भाइ तर लगाउन पाइनन् भाइटीका,भन्छिन्: 'एकअर्कासँग बिताउने समय नै महत्वपूर्ण'



वर्षा राउतका जुम्ल्याहा भाइ तर लगाउन पाइनन् भाइटीका,भन्छिन्: 'एकअर्कासँग बिताउने समय नै महत्वपूर्ण'

काठमाडौं: वर्षा राउत घरकी एक्ली सन्तान थिइन्। एक्लो हुनुको अर्थ घरका सबैकी प्यारी। तर, हरेक वर्ष तिहारमा उनलाई त्यही एक्लोपनले बिझाउँथ्यो। किनकि भाइटीका लगाउन कहिले एउटा आफन्तको घरमा पुग्नु पर्थ्यो कहिले अर्को।

उनी उमेरले ८ वर्षको हुँदा उनकी आमा गर्भवती भइन्। थाहा भयो – आमाले जुम्ल्याहा भाइलाई जन्म दिँदै छिन्। उनको खुशीको सीमा रहेन। उनी मनमनै योजनाहरू बनाउँथिन्, भाइहरूलाई खेलाउने, हुर्काउने।

‘म बुझ्ने भइसकेको थिएँ। त्यसैले उनीहरूको टिचर बन्छु। धेरै कुरा सिकाउँछु भन्ने सोच्थें’, उनी सुनाउँछिन्।

पहिलो पटक ओम अस्पतालको एउटा शय्यामा आमाको छेउमा दुई साना भाइहरू देख्दा उनको उत्साह चुलिएको थियो। सबैभन्दा खुशीको कुरा थियो – अब उनी आफ्नै भाइलाई भाइटीका लगाउन पाउने भइन्। त्यो पनि एकजना होइन दुईजनालाई। भाइहरू जन्मिएको वर्षदेखि उनको निधार कहिल्यै खाली भएन। खासमा उनीहरू हुँदा घरपनि कहिल्यै शून्य भएन।

एकै पटक बोल्न थाले, एकै पटक हिँड्न। एकसाथ रुन्थे एकसाथ हाँस्थे। कहिले काहीं त बिरामी पनि सँगै हुने। कस्तो संयोग।

‘दुई जना भएकाले ममी एक्लैलाई सम्हाल्न गाह्रो पर्थ्यो। त्यसैले म एउटालाई खेलाउँथें। ममी अर्कोलाई खुवाउने वा सुताउने गर्नुहुन्थ्यो’, वर्षा सम्झन्छिन्,’उनीहरू हिँड्ने भएपछि म दुवैलाई डुलाउन लिएर जान्थें।’

भाइहरू लिएर डुल्दै गर्दा केही जुम्ल्याहा देखेर दङ्ग पर्थे। चिनजानका केही वर्षालाई सोध्थे ‘तिमीभन्दा कति वर्ष कान्छा?’ जवाफमा ‘आठ वर्ष’ भन्दा छक्क पर्नेहरू पनि हुन्थे।

अब त वर्षा र दुई भाइ सफल र कुशलबीचको उमेर अन्तर कति हो कमैले अनुमान गर्न सक्छन्। यो पटक ८ वर्षको उमेरान्तर भन्दा नपत्याउने धेरै हुन्छन्।

‘हर्लक्क बढे। अब त मभन्दा ठूला देखिन्छन्। तर आफूलाई भने सधैं सानै लाग्दो रहेछ। त्यो बेलामा दुईतिर हात समातेर हिँड्ने जत्रै।’

उनीहरू दुवै कक्षा १२ मा पढ्छन्। दुवै व्यवस्थापन। सफल सीसीआरसी कलेजमा र कुशल ग्लोबलमा।

यस वर्ष भने वर्षाले भाइहरूलाई टीका लगाउन पाइनन्। आफन्त बितेका कारण। तर, उनको तिहार भाइहरूसँगै बित्यो। घर सजाएर। सेल पकाएर। तास खेलेर। दिउँसोसम्म सबैकुरा राम्रै भइरहेको थियो। टीका लगाउन नपाउनुमा कुनै खेद थिएन वर्षाको। तर जब सामाजिक सञ्जालका भित्ताहरू टीका र दिदीभाइको फोटोले रङ्गिन थाल्यो तब केही खल्लो महसुस गरिन् उनले।

‘टीका नहुँदा गिफ्ट पनि भएन’, उनले व्यङ्ग्य गर्दै भनिन्।

हरेक वर्ष टीकाको अघिल्लो दिनसम्म ‘दामी गिफ्ट दिन्छौं’ भन्ने भाइहरूले भोलिपल्ट दक्षिणा बुवासँग लिएर वर्षालाई दिँदा रहेछन्।

भन्छिन्,’उनीहरूलाई दिँदा चाहिं सधैं गाह्रो। दुवैलाई उस्तै दिनु पर्‍यो। एक जनालाई मात्र दिने भन्ने त कुरै हुँदैन।’ तर पर्वमा उपहारभन्दा बढी महत्व एकअर्कालाई दिने समयले राख्ने विश्वास छ उनको। अहिले १८ वर्ष पुगेका भाइहरूसँग उस्तै गरी रमाउँछिन् जसरी बाल्यकाल बित्ने गर्थ्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell