PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित, 'अब पक्ष-विपक्ष हुँदैन, हामी सबै एकै ठाउँ हुन्छौं'



उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित, 'अब पक्ष-विपक्ष हुँदैन, हामी सबै एकै ठाउँ हुन्छौं'

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासंघको शनिवार भएको ५४औं वार्षिक साधारणसभाबाट उनी निर्वाचित भएका हुन्। ढकालका प्रतिस्पर्धी किशोरकुमार प्रधान थिए।

ढकालले एशोसिएटमा कुल सदर मत ८ सय ९७ मध्ये ५ सय २२ अर्थात् ५८. १९ प्रतिशत मत पाए। उनका प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले ३ सय ७४ मत पाए।

वस्तुगतमा ढकालले ५६ मत पाएका थिए भने प्रधानले ३९ मत पाए। वस्तुगतमा ढकालले पाएको मत कुल सदर मतको ६०.२० प्रतिशत हो। जिल्ला-नगरतर्फ खसेको कुल १०५ भोटमा ढकालले ५२ र प्रधानले ५३ मत पाए। ढकालले जिल्लामा ४९.५२ प्रतिशत मत पाएका हुन्।

ढकाल निर्वाचित भएपछि आइतबारदेखि अध्यक्ष बनेका शेखर गोल्छाले बधाई दिएका छन्।

ढकाल देशकै पहिलो रेमिटेन्स कम्पनी आइएमईमार्फत व्यवसायिक साम्राज्य तयार पारेका थिए। आइएमई ग्रुपका अध्यक्ष रहेका ढकालले ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आइएमई कोअपरेटिभ, चन्द्रागिरि हिल्स, आइएमई अटोमोटिभ्स, हिमालय पावर पार्टनर्स, माउन्टेन इनर्जी, शंकर अक्सिजन लगायतका डेढ दर्जनभन्दा बढी व्यवसायिक संस्थाको नेतृत्व गरिरहेका छन्।

सरकारले दिने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) समेत उनले पाएका छन्।

'मेरो अध्यक्ष शेखर गोल्छा नै हो'

ढकालले निर्वाचनपछि पक्ष-विपक्ष सकिएको बताएका छन्। ‘मैले पहिला पनि भनेको थिएँ, १३ गते (शनिबार) पछि पक्ष-विपक्ष हुँदैन। हामी सबै एकै ठाउँ हुन्छौं,’ निर्वाचित भएपछि संचारकर्मीसँग ढकालले भने, ‘मेरो अध्यक्ष शेखर गोल्छा नै हो। हामी एक ठाउँमा बसेर निजी क्षेत्रको आवाज उठाउनेछौं।’

ढकालले व्यवसायिक गतिविधि बढाएर मुलुकको आर्थिक समृद्धितर्फ लाग्ने धारणा समेत राखे। उनले आफूले उठाएको २५ बुँदे कार्यक्रमलाई समेत अगाडि बढाउँदै ती मुद्दा समाधानका लागि सरकारका निकायसँग एड्भोकेसी गर्ने पनि बताए।

ढकालले सबै क्षेत्रको प्रतिनिधित्व गर्दै आफू निर्वाचनमा होमिएको बताउँदै सबैको मुद्दालाई साकार बनाउन लाग्ने समेत प्रतिवद्धता जनाए। उनले आफ्ना प्रतिस्पर्धी किशोरकुमार प्रधानलाई समेत समेटेर अगाडि बढ्ने संकेत गरे। ‘मेरो आदरणीय किशोर दाइ र मैले दिउँसो सँगसँगै भोट मागेका थियौं। अब मत परिणाम मेरो पक्षमा आए पनि हामी एकै ठाउँमा रहन्छौं,’ ढकालले भने।

महासंघको ५४औं वार्षिक साधारणसभामा ढकाल र प्रधान समूह दुई प्यानल बनाएर निर्वाचनमा होमिएका थिए। वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले प्रधान समूहलाई समर्थन गरेका थिए। गोल्छा आइतबारदेखि स्वत: अध्यक्ष भइसकेका छन्।

एशोसिएट सदस्यमा निर्वाचित हुनेमा प्रधान समूहका धेरै

महासंघको नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनको एशोसिएट सदस्यतर्फको पनि मत गणना सकिएको छ।

जिल्ला नगरजस्तै यस समूहबाट निर्वाचित हुने सदस्यहरुमा पनि अधिकांश किशोर प्रधान समूहबाट आएका छन्।

यस समूहबाट कार्यकारिणी सदस्यमा कुल १९ पदका लागि ३१ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये १० जना किशोर प्रधान प्यानलका र ८ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएका छन्। यसबाहेक ढकाल समूहका विराट थापा र प्रधान समूहका मंगेशलाल श्रेष्ठको समान ४५७ मत आएको छ। उनीहरुमध्ये एक जनालाई गोलाप्रथाबाट चुनिने बताइएको छ।

निर्वाचित हुनेमा अम्बिका प्रसाद पौडेलले सर्वाधिक मत ल्याए। यससँगै अन्य निर्वाचित एशोसिएट सदस्यहरुमा अविनाश बोहरा, आनन्द बगडिया, कृष्ण लाल महर्जन, गोपाल खनाल ज्योत्सना श्रेष्ठ देशबन्धु बस्नेत प्रबल जंग पाण्डे भरत राज आचार्च रञ्जित आचार्य राजेश कुमार अग्रवाल विजयसिंह वैद्य छन्।

यस्तै, शक्ति कुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई, सुशिल थापा, सञ्जय गिरि र हेमन्त गोल्छा पनि महासंघको एशोसिएट समूहबाट कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन्।

जिल्ला-नगर सदस्यमा निर्वाचित १८ जनामध्ये अधिकांश प्रधान समूहकै

महासंघको नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनको जिल्ला-नगर सदस्यतर्फको पनि मत गणना सकिएको छ।

यस समूहबाट कार्यकारिणी सदस्यमा कुल १८ सदस्य पदका लागि ३८ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये ११ जना किशोर प्रधान प्यानलका र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएको बताइएको छ।

निर्वाचित हुनेमा राजन श्रेष्ठ (७९ मत), तारानाथ घिमिरे (७२ मत), शोभाकान्त पौडेल (७० मत), कमलकुमार श्रेष्ठ (७० मत), गजेन्द्रकुमार भगत (६८ मत), चक्रबहादुर अधिकारी (६७ मत), अरुणराज सुमार्गी (६६ मत), देवकुमार श्रेष्ठ (६४ मत), रामेश्वर मानन्धर (६३ मत), कमानबहादुर खड्का (६२ मत), सुरकृष्ण वैद्य (६१ मत) छन्।

यस्तै, कुविरकुमार श्रेष्ठ (५८ मत), डीबी बस्नेत (५८ मत), गोपाल केडिया (५५ मत), महेन्द्रकुमार श्रेष्ठ (५४ मत), उमेश डालमिया (५३ मत), किशोरकुमार आचार्य (५२ मत) र अमृत भट्टचन (५१ मत) पनि जिल्ला-नगरबाट महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।
जिल्ला-नगरतर्फको पूरै १०५ भोट नै खसेको थियो । त्यसमध्ये ३ वटा बदर भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell