PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फ्रान्समा ड्युटीमा रहेका प्रहरीको तस्विर प्रकाशन गर्न नपाउने कानूनको विरोधमा प्रदर्शन



फ्रान्समा ड्युटीमा रहेका प्रहरीको तस्विर प्रकाशन गर्न नपाउने कानूनको विरोधमा प्रदर्शन
Photo : Francois Mori/AP

फ्रान्समा ड्युटीमा रहेका प्रहरीहरुको तस्विर खिच्न र प्रकाशन गर्न नपाउने कानून ल्याउन लागिएपछि विरोध प्रदर्शन भएको छ। गत साता तल्लो सदनबाट स्वीकृत भइसकेको उक्त प्रावधानसहितको सुरक्षा विधेयक सिनेटबाट स्वीकृत हुन बांकी छ।

सरकारले गलत उद्देश्य राखेर प्रहरीलाई बदनाम गर्ने गरि तस्विर लिन र त्यसलाई प्रकाशन गर्न रोक लगाउने तयारी गरेको हो। तर, फ्रान्सेली सरकारको यो निर्णय प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताविरुद्ध भएको भन्दै आलोचना भइरहेको छ।

गत सातामात्रै पेरिसमा ड्युटीमा रहेका तीन प्रहरी अधिकारीले एक अश्वेत व्यक्तिमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। फ्रान्सेली राष्ट्रपति  इम्यानुल माक्रोनले प्रहरीको उक्त कार्यको विरोध गर्दै फ्रान्समा नश्लवादको लागि स्थान नभएको प्रतिक्रिया दिएका थिए। तर, आलोचकहरुले भने प्रहरीलाई संरक्षण गर्ने कानून् ल्याएर सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। भिडियो सार्वजनिक हुँदा प्रहरी अधिकारीहरुमाथि कारवाही भए पनि अहिले तस्विर र भिडियो खिच्न र प्रकाशनमा रोक लगाउँदा प्रहरी दमन बढ्ने र ती घटनाहरु सार्वजनिक नहुने उनीहरुको तर्क छ।

पेरिसमा ४६ हजारभन्दा बढी व्यक्ति नयाँ सुरक्षा विधेयकको विरोधमा उत्रिएको स्थानीय मिडियाले जनाएका छन्। प्रदर्शनकारीहरुले शहरका केही स्थानमा आगजनी समेत गरेका थिए। प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ। प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको थियो। प्रदर्शनस्थलबाट प्रहरीले सरकार विरुद्ध आन्दोलन गरिरहेका ४६ जनालाई नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell