PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बजेट कार्यान्वयनका लागि प्रभावकारी काम गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको निर्देशन



 बजेट कार्यान्वयनका लागि प्रभावकारी काम गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको निर्देशन

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बजेट खर्च र राजस्व संकलनमा प्रभावकारी काम गर्न विषयगत मन्त्रालयहरुलाई निर्देशन दिएका छन्।

चालु आर्थिक वर्ष (२०७७/०७८)को पहिलो चौमासिकमा बजेट कार्यान्वनको समीक्षा गर्न आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले बजेट कार्यान्वयनमा प्रभावकारी काम गर्न निर्देशन दिएका हुन्। कार्यक्रममा प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदीले प्रस्तुत गरेका खर्च र आम्दानीको प्रतिवेदन माथि छलफल भएको थियो।

सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल बजेटको ६ दशमलव २९ प्रतिशत अर्थात २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ। यस्तै राजस्व संकलन तर्फ कुल लक्ष्यको ६४ दशमलव ४५ प्रतिशतले बढी राजस्जव संकलन भएको छ।

विषयगत मन्त्रालयका सचिवहरुले पनि आआफ्नो मन्त्रालयको प्रगति विवरण सार्वजनिक गरेका छन्। सबै मन्त्रालयको कार्यप्रगति हेरीसकेपछि मुख्यमन्त्री भट्टले जनअपेक्षा अनुसारका काम गर्न विषयगत मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन्।

कार्यक्रममा पहिलो चौमासिकमा सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सबैभन्दा बढी खर्च गरेको र आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै भन्दा कम खर्च गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो। जसअनुसार प्रदेश सभा सचिवालयले १९ दशमलव ५१ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले १ दशमलव २९ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले शुन्य दशमलव ८१ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७ दशमलव ४५ प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४ दशमलव २९ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले ८ दशमलव २५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ८ दशमलव ८ र वित्तीय हस्तान्तरण स्थानीय तहले ८ दशमलव ५१ प्रतिशत खर्च गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell