PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

इगोको असन्तुष्टि



इगोको असन्तुष्टि

  • केदार वाशिष्ठ -

बेलायतीविरुद्ध गैरबेलायती

लुम्बिनी र कपिलवस्तुलाई नश्लीय र नागरिकताजस्ता तत्त्वले पनि प्रभाव पारेको पाइन्छ। भारतमा उपनिवेश जमाएको बेलायती राजमा बेलायती, अन्य युरोपेली र भारतीय मूलका कर्मचारी रहेको तर तिनीहरुबिच ठुलो विभेद रहेको पनि पाइन्छ। यसका साथै बौद्धिक अनुसन्धानमा समेत यसको प्रभाव परेको देखिन्छ। त्यसको प्रत्यक्ष मारमा फुहरर परेका देखिन्छन्।

फुहररलाई जर्मन भएकै कारण पनि ब्रिटिस इन्डिया सरकारमा रहँदा र अन्य कतिपय अवस्थामा भारतीय र बाहिरका लेखकहरुले समेत पक्षपात पूर्ण व्यवहार गरेको पाइन्छ। ब्रिटिस इन्डिया सरकारका कर्मचारी उच्च वर्ग र व्यापारी तथा किसान तल्लो जातका मानिन्थे। भारतमा जन्मेको कि बेलायतमा जन्मेको भनेर नै बेलायतीहरुबिचमा नै विवाह र जन्मका आधारमा भेदभाव हुने गरेकोमा जर्मन नागरिक फुहररप्रति भेदभावपूर्ण व्यवहार हुनु अनौठो नभएको मानिएको पाइन्छ। बेलायती र अन्य देशका कर्मचारीबिच भेदभाव तलब र पेन्सनमा रहेको असमानता फुहररले भोग्नु परेको देखिन्छ।

अर्को एक स्रोत अनुसार फुहररको तलब १० वर्षसम्म पनि बढेको थिएन। उनी प्रति महिना ४०० रुपियाँ (भारतीय) वा वार्षिक करिब ४०० पाउन्ड स्टर्लिङ पाउँथे। उनको जागिर पेन्सन पाक्ने खालको पनि थिएन जबकि बेलायती अध्ययन अनुसार नै जर्मन फुहररको तुलनामा बेलायती स्मिथले भने अवकाश पाउँदा पेन्सन नै वार्षिक १००० पाउन्ड पाएका थिए।

आर्थिक अभावबाट मुक्ति पाउन फुहरर विद्वत् वृत्तिको खोजीमा हुने गरेको देखिन्छ। जर्मनभाषी बुह्लर प्राच्य लिपिज्ञाता थिए। त्यसैले गर्दा नयाँ प्राचीन सामग्रीको अर्थ र आधिकारिकताका लागि फुहररले अस्ट्रियामा रहेका उनका गुरु जर्ज बुल्हरलाई नमुना पठाउने गरेको बुह्लरबाट अनुसन्धानवृत्ति पाउने गरेको पाइन्छ।

राष्ट्रियता जे भए पनि फुहरर ब्रिटिस इन्डिया सरकारका कर्मचारी थिए। तर, उनलाई बेलायतीले मात्र नभई भारतीयहरुले पनि तत्कालीन समयमा भारतीय सरकारी कर्मचारी नमानी आधिकारिक दस्ताबेजहरुमा ‘जर्मन विद्वान्’ मात्र भनेर लेखेको पाइन्छ जबकि विलियम क्लाक्स्टन पेप्पेलाई भने ‘अङ्ग्रेजी जमिन्दार’ भनेर चिनाएको पाइन्छ। चार्ल्स एलेनको पुस्तक बुद्ध एन्ड डा. फुहरर एन आर्कोलोजिकल स्क्यान्डलमा धेरै ठाउँ फुहररलाई जर्मन मात्र भनेर सम्बोधन गरिएको पाइन्छ।

जर्मन पुरातत्त्वविद् फुहरर बेलायती पुरातत्त्वविद् सर अलेक्जेन्डर कनिङ्घम सेवा निवृत्त भएपछि उनको ठाउँमा आर्कियलोजिकल सर्भे अफ इन्डियामा आएको देखिन्छ। तर, उनको हैसियतमा भने नपुगेको पाइन्छ।

विचारधारालाई चुनौती

कनिङ्घमले भारतको बुइला ताल आसपासको भग्नावशेष नै कपिलवस्तु हो भन्ने दावी गर्दै आएको पाइन्छ। उनको त्यो दावी अर्ची कार्लेइलको अध्ययनका आधारमा देखिएको छ। तर, फुहररले दुई चिनियाँ यात्रीका यात्रा विवरणका आधारमा बेग्लाबेग्लै समयमा गरेको अध्ययनका आधारमा कनिङ्घमको उक्त दावीलाई चुनौती दिएका थिए। साथै फुहररले कार्लेइलले सो ठाउँको अर्को स्थानीय नाम हात्तीकुण्ड रहेको भनी गरेको दावीको पनि खण्डन गर्दै कार्लेइल आफैले सो नामकरण गरेको तथ्य सार्वजनिक गरेका थिए। कनिङ्घमले भने कार्लेइललाई नै मान्दै आएका थिए। यी तथ्यका आधारमा जर्मन र बेलायतीबिच द्वन्द्व चल्न थालेको पाइन्छ।

बेलायती विद्वान् कनिङ्घमलाई जर्मन मूलका बेलायती कर्मचारीको यो एक किसिमको चुनौती नै रहेको देखिन्छ। भारतको पुरातत्त्वका पिता भन्ने गरिएका र बेलायतमा अवकाश जीवन बिताइरहेका कनिङ्घम एउटा विचार धारा (School of thought)नै रहेको पाइन्छ। कनिङ्घमले गरेको काममा प्रश्न उठाउँदै फुहररले आफ्नो निर्णय दिएको कामले कनिङ्घम र उनका अनुयायीहरुमा हलचल ल्याइदिएको पाइन्छ। त्यसैले फुहररलाई राम्रो नमानिएको देखिन्छ किनकि यो फुहररको पहिलो यस्तो कार्य थिएन। त्यसअघि पनि फुहररले कनिङ्घमले गरेको श्रावस्ती नजिकैको जितवन र मथुरामा जैन र बौद्ध परम्पराको अध्ययनमा त्रुटि फेला पारेको दावी गरेको देखिन्छ।

स्मिथले सन् १८७८ ताका आर्कियोलोजिकल सर्भे अफ इन्डियाको सर अलेक्जेन्डर कनिङ्घम संस्मरणात्मक प्रतिवेदनका २३ अङ्कको अनुसूचीकरण गर्ने काम गरेका थिए। त्यसबाट उनी पुरातत्त्व र कनिङ्घम दुवैतिर थप आकर्षित भएका थिए। तर, कपिलवस्तुका सम्बन्धमा कनिङ्घमलाई फुहररले गरेको पछिल्लो दावीले कनिङ्घम विचारधारामा हलचल ल्याइदिएको र स्मिथ पनि फुहररप्रति सशङ्कित बनेको पाइन्छ।

फुहररको चुनौतीपूर्ण दावी भने पहिलो पटक सन् १८९८ मा प्रकाशन भएको पाइन्छ। त्यसअघि यो बहसका रूपमा रहेको देखिन्छ। स्मिथमात्र नभई बेलायती विद्वत्वृत्तले नै यसलाई नकारात्मक इगोका रूपमा लिएको प्रतीत हुन्छ।

कनिङ्घमको विचारधारासँग आंशिक प्रभावित र जर्मन साइनोका अर्का जोन फेथफुल फ्लिट देखिन्छन्। फ्लिटलाई सर अलेक्जेन्डर कनिङ्घमले सन् १८८३ मा पुरालेखवेत्ता (इपिग्राफिस्ट) नियुक्त गरेको पाइन्छ। तर, फ्लिटलाई जर्मन विद्वानहरूसँग बढी सम्बन्ध रहेका र ‘बौद्धमार्गमा कम झुकाव भएका’ भनी अविश्वास गर्ने गरिएको पनि पाइन्छ।

उनले युनिभर्सिटी कलेज लन्डनमा संस्कृत भाषाका जर्मन प्राध्यापक थियोडोर गोल्डसुकरसँग संस्कृतको अध्ययन गरी सन् १८६७ मा ब्रिटिस इन्डियाको बम्बई प्रसिडेन्सीमा काम गरेको देखिन्छ। त्यहाँ पनि उनले अर्का जर्मन प्राध्यापक जर्ज बुह्लरसँग काम गरेको देखिन्छ। फ्लिट बेलायती भए पनि यो उनको जर्मन साइनो थियो। रिस डेभिड्स रोयल एसियाटिक सोसाइटीको सचिवबाट हटाइएपछि सो पदमा नियुक्त भएका पाइन्छ।

डेभिड्सलाई पनि पिप्रहवाको उत्खननलाई लिएर सचिवबाट हटाइएको पाइन्छ। एक अध्ययन अनुसार पिप्रहवा उत्खननलाई बढी महत्त्व दिई प्रवर्द्धन गरेको आरोपमा रोयल एसियाटिक सोसाइटी नै रिस डेभिस र जोन फ्लिटका पक्षमा विभाजित भएको देखिन्छ र रिस डेभिसलाई हटाएर फ्लिटलाई सचिव बनाइएको थियो। सोही पदमा रहँदा उनले पिप्रहवा उत्खननबाट प्राप्त अभिलेखको बुह्लरले भन्दा भिन्न अनुवाद गरेकोमा त्यसको व्यापक आलोचना भएपछि उनले तेस्रो पटकसम्म सच्याउँदै अनुवाद गरेको पाइन्छ। जर्मन विद्वान् (गोल्डसुकर र बुह्लर) सँगको सम्पर्क र शिक्षा तथा बेलायती व्यक्ति र संस्थासँगको संलग्नता (कनिङ्घम, रिस डेभिड्स् र रोयल एसियाटिक सोसाइटी) का कारण उनको मनस्थिति अस्थिर भएको देखाउँछ।

सर अलेक्जेन्डर कनिङ्घमको अवकाशले भारतीय पुरातात्त्विक सर्वेक्षण ओरालो लागेको र पुरातत्त्वविद् तथा संस्कृतज्ञको अभाव रहेको महसुस गरिएको पाइन्छ। त्यस्तो अभाव कर्मचारीतन्त्र र राजनीतिक दुवै क्षेत्रमा खड्किएको पाइएकोमा कनिङ्घमको कामप्रति फुहररको प्रश्नले ती क्षेत्रमा नवप्रवेशीलाई कनिङ्घमको पक्षमा लाग्न हौस्याएको पाइएको छ। त्यसक्रममा समकालीन भएर भिन्सेन्ट ए. स्मिथ र विलियम होई आएको पाइन्छ। समकालीन नै भए पनि फ्लिट भने काम गर्न दक्षिण भारतको बम्बई पुगेका थिए जहाँ उनको सम्पर्क बुह्लरसँग भएको देखिन्छ।

बेलायतीबिच नै मतभिन्नता

यता कनिङ्घमकै विषयलाई लिएर स्मिथ र होईबिच पनि मतभिन्नता रहेको पाइन्छ। सेहेत–महेतलाई श्रावस्ती–जितवन भनी होईले गरेको निर्णयमा उनीहरुबिच मतभिन्नता रहेको पाइन्छ।

होई र स्मिथ दुवैले लुम्बिनीको अशोक स्तम्भको शिलालेखको उतार पहिले नै पाएको देखिन्छ। तर, स्मिथले मध्यकालीन हुनसक्ने भन्दै त्यसको कुनै वास्ता गरेनन् पछि खड्ग र फुहररले पत्ता लगाएर बुह्लरले त्यसको अनुवाद गरेपछि पछुताएको पाइन्छ। यसबाट उनी नेपालबाट प्राप्त शिलालेख वा अवशेषमा अनिच्छुक रहेको वा उनले त्यो पढ्न नै नसकेर थन्क्याएको हुन सक्ने अनुमान गर्न सकिन्छ। होईले पनि प्राप्त उतारको प्रतिलिपि पुरानो हुन नसक्ने भनेर फर्काइदिएको पाइन्छ।

इसाको चौधौं शताब्दीमा जुम्लाका राजा रिपु मल्लले पनि लुम्बिनी भ्रमण गरी स्तम्भमा नाम लेखाएका थिए। दुवैले त्यही शिलालेख प्राप्त गरेको हुन सक्ने अनुमान गरिएको छ। तर, जमिनमुनि गाडिएको अवस्थामा रहेको शिलालेख कसैले फेला पारेका थिएनन्।

(लुम्बिनी कपिलवस्तु दिवस डिसेम्बर १ को अवसर पारेर आज सार्वजनिक हुने अनुसन्धानात्मक कृति नेपाल विद्या : सिद्धान्त र प्रयोगबाट।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell