PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

रहस्य भरिएको किशोर उपन्यास 'सेकुवा' : विज्ञान र मनोरञ्जन मिसाउँदै नयाँ प्रयोग



रहस्य भरिएको किशोर उपन्यास 'सेकुवा' : विज्ञान र मनोरञ्जन मिसाउँदै नयाँ प्रयोग

बाल साहित्य सिर्जनामा क्रियाशील कृष्णदीप सिग्देलले किशोर पाठक लक्षित उपन्यास 'सेकुवा' सार्वजनिक गरेका छन्। साङ्ग्रिला पुस्तक प्रालिले यसलाई प्रकाशन गरेको हो। पहिलोपटक किशोर उपन्यास लेखेर बजारमा आइसक्दा नयाँ प्रयोग गर्न रुचाउने लेखक सिग्देल खुसी छन्। सरसर्ती पढ्दा सेकुवा एउटा रहस्यीमय उपन्यास हो।

यसका पात्रहरु अनौठा छैनन् तर यिनका लक्ष्य र योजना रहस्यमय छन्। १७२ पृष्ठको यो उपन्यासको उपत्यकाभित्र प्रवेश गरीसकेपछि किशोरहरुले मनोरञ्जनमात्र हैन जंगल जीवनको ज्ञान र विज्ञान थाह पाउनेछन्।

सलबलु स्याल, कत्ले कछुवा, खराने खरायो, सहरे माछो, गुजुल्टो गँगटो, ट्वारट्वारे भ्यागुता, बज्जी मौरी, डिङ्गी ड्रागन यस उपान्यसका पात्रहरु हुन्। यिनीहरुको एउटा योजनाले उनीहरुको बसोवास रहेको उपत्यकामा खैलाबैला मच्चाइदिएको छ। खरायो,  माछा र स्यालको अग्निस्नानले कथालाई रोचक बनाइदिएको छ।

सेकुवा कतिको स्वादिलो हुन्छ? कसैलाई मन पर्न सक्छ कसैलाई मन नपर्न। शाकाहारीले यसको नाम मन नपराउन सक्छ। त्यसैले किताबभित्र शाकाहारी न मांसहारी दुबैलाई बेग्लाबेग्लै परिकारको व्यवस्था लेखकले गरेका छन्।

यहाँ कथाको शुरुवात सलबलु स्यालबाट हुन्छ। सलबलुको नयाँ घरजम, उसका दु:ख र योजनामा कथाले मोड लिन्छ। कथा शुरु गर्ने सलबलु बाध्यताबश सेकुवा खान नपाई आफ्नो भूमिका छाड्न बाध्य हुन्छन्।

खराने खरायोले अग्निस्नान लिएको कुरा, कत्ले कछुवाले ८ वटी श्रीमती ल्याएको कुरा, गुजुल्टे गँगटोको कथा, सहरे माछाको चलाखी, ट्वारट्वारे भ्यागुताको कुराले उपन्यासलाई निकै रोचक बनाएको छ। तर, सेकुवाको कथामा सेकुवा खान नपाई पाठकका लागि छेपाराको कथा बनेकोमा भने अलिकति नमज्जा लाग्न सक्छ। यो बीच उपान्यासको पौने अन्तिम भागतिरको कुरो हो। जब त्यो कथा अघि फेरि अघि बढ्छ। सेकुवा खान नपाएपनि छेपारोको कथा थाह पाउँदा अगाडिको नमज्जा फच्चे हुन्छ।

बीचबीचमा कथा संयोजकको सूचनाले अलिकति बोर भने गराउँछ। पातमा सजिएका ती सूचनाहरु पढ्न एकैछिन त लाग्ने हो। कथा संयोजकले पात्रहरुलाई भूमिका दिनका लागि न्यारेसनसहित कन्ट्रोल गर्न इन्टरफेयर गरिएको पनि होला यो। यसले कथा कस्तो हुनुपर्छ भन्ने पाठ पनि सिकाइरहेको हुन्छ। साहित्यमा रुचि राख्नेले यसलाई सजिलै बुझ्ला। तर, खरर कथामात्र पढेर आनन्द लिनेहरुका लागि अलिकति अलमल पार्ने देखिन्छ। यद्यपि यसले कथा अघि बढाउन भने निश्चय नै सहयोग गरिरहेको देखिन्छ।

कथाको अर्को मुख्य पात्र डिङ्की हो। जो असध्यै बलवान ड्र्यागन प्रजातिको हो। तर यसलाई यति कमजोर देखाइएको छ कि यो कुनै पात्रले सोच्नै सक्दैनन्। कथामा डिङ्कीलाई धैर्यवान भनिएको छ। धैर्यताको नाममा उसले आफ्नो ज्यान सुकाएको छ। तर, सेकुवाको प्रबन्ध गर्न लागि परेका सलबलुलाई नै खरायोको सेकुवा खान नपाएको झोंकमा डिङ्कीले सेकुवा बनाउन खोजेका छन्। यसले डिङ्कीको अलिकति अधैर्यता उदंगिएको छ। हुन त हामी पनि कहिलेकही धैर्य गर्न सक्दैनौ नि। कथाका पात्र पनि यस्तै अधैर्य हुनु कुन ठूलो कुरा भयो र!

स्वेर कल्पनामा आधारित कथाका सकारात्मक पक्ष सिर्जनात्मक शैली हो। किशोर केन्द्रित उपन्यास भएकाले यसमा प्रजननका कुराहरु पनि अलिअलि जोडिएका छन्। दर्शनहरु मिसिएका छन्। बाल्यावस्थाबाट किशोरअवस्थामा प्रवेश गर्दै गरेका १२ देखि १५ वर्ष उमेर समूहका किशोरलाई किताब उपयुक्त देखिन्छ।

उपन्यासमा नयाँ प्रयोग गरिएको लेखकको दाबी छ। लेखक सिग्देल भन्छन्, 'कथामा नयाँ प्रयोग गरिएको छ। बेला बेला कथा संयोजक आउँछन्। कन्ट्रोल गर्न संयोजक आएको हो। कथा लेख्ने शैलीसमेत सिकाएको छ। यसरी लेख्ने कुनै योजना थिएन। अहिले सोच्दा अन्तरचेतनाबाट आएको रहेछ।'

नेपाली किशोरका लागि साहित्य नभएको देखेर आफूले कलम चलाएको लेखकको भनाई छ।

प्रत्येक शीर्षकमा चित्र समावेश गरिएको उपन्यासको अन्तिमतिर थप दर्जन चित्र प्रयोग गरिएको छ। अन्त्यतिरको चित्रले कथालाई औधी मिठास थपिदिन्छ। यसले डिङ्कीको वास्तविकता उघारिदिएको छ। यो कथाको निकै अचम्म लाग्दो र फन्नी पार्ट हो। यसपछि कथाले विस्तारै बिट मार्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell