PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘साहित्यको अर्थ’ माथि अर्थशास्त्री विश्व पौडेल : अर्थशास्त्रलाई साहित्यले उकासिरहेको छ



‘साहित्यको अर्थ’ माथि अर्थशास्त्री विश्व पौडेल : अर्थशास्त्रलाई साहित्यले उकासिरहेको छ

पोखरा : अर्थशास्त्री विश्व पौडेलले आर्थिक नीतिहरुले साहित्यको संवर्द्धनमा असर पार्ने बताएका छन्। त्यस्तै साहित्यले अर्थतन्त्रलाई टेको दिने उनले बताए। नेपाल लिटरेचर फेस्टिभलको ९ औं संस्करणको उद्घाटनमा पौडेलले विद्वत प्रवचन दिएका हुन्। ‘साहित्यको अर्थ’ शीर्षकमा उनले भने, 'साहित्य र अर्थशास्त्र नदीका दुई किनार भने होइनन्।'

उनले गत वर्षको बजेटमा विदेशबाट ल्याइएका पुस्तकमाथिको १० प्रतिशत भन्सार कर लगाउँदा भएको व्यापक प्रतिक्रियालाई उदाहरणका रुपमा प्रस्तुत गरे। साहित्य र अर्थतन्त्रको सम्बन्धमाथि प्रकाश पारेका उनले साहित्यले लेखकहरुलाई संरचनागतबाहेक अन्य बन्धनमा नबाँध्ने तर अर्थशास्त्रका तथ्याङ्कहरुमा भने स्थापित सिद्धान्तहरुमा वा गणित प्रयोग गरेर बनाइएका मोडेलहरुमा आधारित भएर बोल्नुपर्ने भए पनि यी दुई भिन्न क्षेत्र नभएको बताए।

पौडेलले अन्य उदाहरणका रुपमा प्रस्तुत गरे रूद्रराज पाण्डेको रुपमती उपन्यास। जसमा प्रमुख पात्र रविलालले लगाएको कपडाको वर्णनले विसं १९९० तिरको नेपालको मध्यमवर्गीय व्यक्तिले उपभोग गर्ने प्रवृत्तिबारे बुझाएको उनको तर्क छ। त्यस्तै बालकृष्ण समको मेरो कविताको आराधना पढ्दा राणाहरुले विदेशी आयातलाई कसरी हेर्थे भन्ने पनि जानकारी हुने बताए। ‘सरदार भीमबहादुर पाँडेको त्यस बखतको नेपालले जुद्ध शमशेरका पालाको नेपालको आर्थिक कथा भन्छ भने हर्क गुरूङको मैले देखेको नेपालले विसं २०३० को सेरोफेरोको नेपालको आर्थिक तथा सामाजिक चित्र देखाउँछ,' उनले भने, 'देवकोटाको मुनामदन र सीमापारीबाट लेखिएका लीलबहादुर क्षत्रीका बसाइँ र ब्रह्मपुत्रको छेउछाउ जस्ता साहित्यिक कृतिमा संवेदनशील राज्यको संरक्षणको अभावमा पहाडका हन्डर खाएर विदेश गएका नेपालीका कथा भेटिन्छन्।'

साहित्यले अर्थशास्त्रलाई मद्दत गर्ने उनको भनाई थियो। अर्थशास्त्रले ‘औसत’ जनताले के गर्थे, के खान्थे, मल्लकालबाट शाहकाल आउँदा ‘औसत’ जनताको जीवनस्तरमा कस्ता परिवर्तन आएजस्ता प्रश्नको उत्तर खोजिरहेको हुने पौडेलले बताए।

नेपालमा धेरै नयाँ आर्थिक घटना भएको र २०५० को निजीकरण र आर्थिक उदारीकरणले देशको जीवन फेरेको उनको तर्क छ। ती घटनापछि धेरै मध्यमवर्गीय व्यक्तिहरु निस्केको बताए। तथ्याङ्कहरुलाई आधार मान्दै भने, 'गाउँगाउँबाट मानिस सहरमा ओइरिएका छन्। हालैको श्रम शक्ति सर्वेक्षणमा प्रकाशित एक तथ्याङ्कअनुसार गाउँबाट सहरमा ६८ लाख ४२ हजार मानिस आएका थिए भने सहरबाट गाउँमा जम्मा ८४ हजार। गाउँका गाउँ रित्तिएका छन्। यसरी थातथलो छाडेका नेपालीको कथा अझै विभिन्न कोणबाट भनिनु छ।'

उनले एउटा कोणबाट मात्र कथा भन्नुको असर राम्रो नपर्ने बताए। तथ्याङ्कहरु, कथाहरु विभिन्न तरिकाले हेरिनुपर्ने बताए।

‘हरेक दिन यत्रा मानिस मरेर बाकसमा आइरहेका छन्; तैपनि किन नेपालीहरु विदेश गएका छन् भन्छौं।‘

अर्थशास्त्री महेश्वर श्रेष्ठको एक अध्ययनअनुसार उनको अध्ययन समूहमा भएका विदेश गएका नेपाली दुई वर्षमा प्रतिएक हजार जनामा १.३ जना मरेका थिए भने यता देशभित्र सोही उमेर समूहका नेपालीको मृत्युदर दुई वर्षमा प्रतिएक हजारमा ४.६ छ। अर्थात् विदेशमा काम गर्न जाने नेपालीको मृत्युदर नेपालमा बस्ने सोही उमेर समूहका नेपालीको मृत्युदरभन्दा कम छ। यस तथ्याङ्कभित्र अरु उपकथा भएको डाक्टर विश्व पौडेललको तर्क छ।

उनले अर्थशास्त्रभन्दा भित्र छिरेर, मिहीन तरिकाले समाजलाई केलाएका ‘बसाइँ’ जस्ता विभिन्न समुदायका, विभिन्न भेगका कथा हामीले पढ्नै बाँकी भएको बताए।

यस्ता कथाहरू उत्कृष्ट रुपले लेखे यिनीहरूको पनि बजार भएको उनको विचार छ।

र, सरकार पनि यस्ता कलासाहित्य प्रवद्र्धन गर्न हिचकिचाउन नहुने बताए। उनले भनेका छन्, ‘सरकारको प्रमुख दायित्व यस्ता ‘अनुत्पादनशील’ क्षेत्रको प्रवर्द्धन गर्नु होइन भन्ने मत हुन्छ। यदि सम्झने हो भने केही दशकअघि मात्र सरकारहरुले यस्ता साहित्य तथा अन्य कलाका कुरामा सब्सिडी दिनुहुँदैन भन्ने बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको मत थियो। र उनले सुरूमा त्यसैले धेरै बजेट फ्रिज गरिदिएकी थिइन्। अर्थशास्त्री जान मेयस्र्कफले सन् १९८८ मा लेखेको इकोनोमिक इम्प्याक्ट अफ आर्ट्स इन ब्रिटेन त्यसैको प्रतिक्रियामा थियो, जसले सांस्कृतिक धरोहरहरुमा लगानी गर्न सरकारलाई त्यसपछि प्रेरित गर्‍यो। हामी थ्याचर जस्तै मुढे हुनुहुँदैन।‘

पौडेलले मुलुकलाई पूर्खाले देखेको एक सपनाका रुपमा व्याख्या गरे। भने, 'दशेलाई छामेर छाम्न सकिँदैन। जसले राज्य विस्तार गर्दा जिते, तिनले सायद आफ्ना सन्तान यो मुलुकमा फलून् फुलून् भन्ने सोचेका थिए। जसले त्यो बेला हारे र पराजय स्विकारेर यो मुलुकमा बस्ने निर्णय गरे, तिनले पनि लडिराख्नुभन्दा पराजय स्विकार्नुमै आफ्ना सन्तानको भविष्य देखेका हुँदा हुन्।‘

उनले देश विजेताले मात्र नभइ कर तिरेर, आासु पुँछेर पराजित भएकाहरूले पनि बनाएको उनको तर्क हो। ती सबै विजयी तथा पराजयीहरूको कथा लेखनमा सक्रियहरूले भन्नुपर्ने उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell