PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मनुजबाबु मिश्रले छोरा रोशनका लागि लेखेको त्यो पत्र



मनुजबाबु मिश्रले छोरा रोशनका लागि लेखेको त्यो पत्र

पोखरा : मंगलवार एउटा कलाकार बन्न लागेको छोरालाई कलाकार बुवाले लेखेको पत्र सम्झिए कलाकार रोशन मिश्रले। उनी जापानमा रहँदा बुवा मनुजबाबु मिश्रले नेपालबाट पठाएको पत्र रहेछ त्यो। जसलाई उनी प्रेरणाको श्रोत मान्छन्।

पत्रमा लेखिएको छ :

रोशनबाबु तिमीलाई कस्तो छ। जापानजस्तो भूस्वर्गमा तिमी पुगेका छौ। जति सकेको प्रविधि जापानी शैलीको कला, भाषा-इतिहास र साहित्यको अध्ययन गर। तीन चार घण्टा सुतेमात्र पुग्छ। बाँकी समय अध्ययनमा बिताउ। शहर घुमी मोजमस्ती गर्ने समय पछिका जीवनमा आइरहनेछ। जापानी कलाकार, जापानी कला सञ्जाल र जापानी मित्रसँग आफूलाई घोल। सकिन्छ भने, जापानी कला संस्थासँग पूरा एकाडेमिक कोर्सका लागि एउटा आर्ट कलेजमा पढ्न अनुरोध गर। उहेनो (मनुजबाबुका मित्र) प्रति आभार प्रकट गर।

पीर नमानीकन बस। यता हामी सबै आनन्द छौं। मेरो अर्को दुईवटा पुस्तक प्रेसमा छापिँदैछ।

तिम्रो माया गर्ने बुवा।

उक्त पत्र रोशनले नेपाल साहित्य महोत्सवमा वाचन गरेर सुनाएका हुन्। कार्यक्रममा ‘असाधारण लेखन’ शीर्षकको सत्रमा आफ्ना बुवा मनुजबाबु मिश्रले नेपाली कला तथा साहित्य क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए उनले। त्यस्तै मिश्रले ३ दशक घरभित्रै रहेर बिताएको असामान्य समयको समेत चर्चा गरेका थिए रोशनले।

पत्रबारे उनले भने, 'यो मेरा लागि प्रेरणाको श्रोत हो। बुवाले जीवनमा जे गर्नुभयो र जे गर्न सक्नुभएन यो पत्रमार्फत् मसम्म आइपुगेको अनुभूति गरें।' 

कार्यक्रममा रोशनले बाल्यकालको घटनासमेत सम्झिए। त्यतिखेर उनी भर्खर कक्षा ७ मा पढ्थे। उमेर र स्वभावले उनलाई बुवाको ओच्छ्यानमा लुटपुटिने बनाएको थियो। एकदिन एउटै सिरकभित्र गुटमुटिएका बाबुछोरा कुराकानी गर्दै थिए। त्यस्तैमा रोशनले बुवालाई एउटा सिन्का देखाउँदै सोधे – म यसलाई नभाँची छोट्याइदिउँ?

बुवाको उत्सुकता र स्वकृतिपछि रोशनले आफूसँग भएको भन्दा लामो सिन्का ल्याए। र, तुलना गर्दै भने,'ल छोटो भयो।'

त्यस घटनाबाट प्रभावित मनुजबाबुले एक निबन्ध ‘के म छोट्याइदिउँ?’ नै लेखे।

रोशनले आफ्ना बुवाका असाधारण व्यवहार र कलात्मक जीवनबारे बोलेका थिए।

सोही सत्रमा लेखक इल्या भट्टराईले आफ्ना पीता मदनमणि दीक्षितबारे चर्चा गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell