PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिस, अविश्वास प्रस्तावमा के होला?



वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिस, अविश्वास प्रस्तावमा के होला?
File Photo

काठमाडौं : वाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रदेशमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। उनको विरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहबाट प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्तावित गरिएको छ।

पौडेलले आफूविरुद्ध दर्ता भएको प्रस्ताव प्रदेश सभामा अस्वीकृत हुने दाबी गरेका छन्। उनले संसदीय गणितमा आफ्नो पक्ष बलियो रहेको समेत दाबी गर्दै आइरहेका छन्। यता, प्रचण्ड नेपाल पक्षले भने यो अधिवेशनबाट पौडेललाई हटाउने जनाएको छ। त्यसका लागि प्रचण्ड नेपाल समूह नेपाली काँग्रेसका साथै विवेकशील साझासँगपनि छलफलमा छ।

नेकपाको आन्तरिक किचलो उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले पुष ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसपछि नेकपामा विभाजन आएको छ। केन्द्रको किचलो हाल प्रदेशमा देखिन थालेको छ। आफ्नो बहुमत भएको प्रदेशमा प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री विरुद्ध अविश्वसको प्रस्ताव दर्ताको तयारी थालेको छ। 

यस्तै बैठकले चितवन जिल्लास्थित राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्ने र यथाशीघ्र कार्यान्वयनका लागि अनुरोध गर्ने पनि निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell