PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

एकले अर्कालाई 'उल्लु' भन्ने नेताहरुलाई 'उल्लु'को बारेमा कति थाहा छ कुन्नि?



एकले अर्कालाई 'उल्लु' भन्ने नेताहरुलाई 'उल्लु'को बारेमा कति थाहा छ कुन्नि?

  • राजु आचार्य-

लाटोकोसेराको (उल्लु) समूहलाई पार्लियामेन्ट (व्यवस्थापिका) भनिन्छ। त्यसैले नेताहरूले यिनको बारेमा कुरा गर्नु अनौठो मान्नु पर्दैन l तर यसपाली अलि बढी नै गरे।

कसले कसलाई उल्लु भने?

पछिल्लोपटक नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेताहरु सत्ता र सडकमा बाँडिएपछि एकले अर्कोलाई उछित्तो काढ्ने होडमा छ उल्लुलाई प्रयोग गरेर। पुष्पकमल दाहाल प्रचण्डलाई लाटोकोसेरोसँग तुलना गर्दै पुस २४ गते धनगढी पुगेका प्रधानमन्त्री केपी ओलीले नियमित ठट्यौली पारामा भने, ‘राती चरी खानेहरूलाई उज्यालो मन पर्दैन। लाटोकोसेरो झलल्ल घाम लागे टिक्न सक्दैनl अँध्यारोमा उड्ने, चर्ने बनी गरेका यिनीहरू घाम लागे पछि टिक्न सक्दैन।’

सोही दिन यो भनाई सुनेपछि सुदूरपश्चिम पुगेका ओलीलाई भीम रावलले भने, ‘तपाईँको टुक्का उल्लुले मात्र बुझ्छ।’

प्रचण्ड पनि के कमl ओलीलाई प्रचण्डले चुनौती दिदैं भने ‘जनतालाई हास्य व्यङ्ग्य गरेर प्रहसन गराएर जनतालाई उल्लु बनाउन सक्छु भन्ने ठान्नु भएको हो?’

जसले जसलाई लाटोकोसेरो वा उल्लु भने पनि राम्रोको लागि यो शब्दको प्रयोग गरिएको थिएन। लाटोकोसेरो वा उल्लु शब्दको प्रयोग सार्वजनिक ठाउँमा गरिएको तल्लो दर्जाको उपमा वा गाली थियो। नेपाली समाजमा उल्लु, गिद्ध, छेपारो आदिलाई मानिससँग जोडेर उपमा दिने चलन नौलो होइन।

उल्लु भनेको राम्रो कि नराम्रो?

हाम्रो समाजमा काम नलाग्ने वा एकै ठाउँमा धुमधुमती बस्ने अल्छी मानिसलाई कस्तो उल्लु जस्तो भनेर जिस्क्याउने चलन छ । उल्लु भन्ने बित्तिकै काम नगरी, नबोली एकै ठाउँमा बस्ने भन्ने अर्थ पनि लगाउने चलन छ। अहिले भर्खर हाम्रा देशका प्रधानमन्त्रीदेखि नेताहरूले एक अर्कालाई उल्लु, लाटोकोसेरो भनेर होच्याउने गरी जुहारी खेली रहेका छन्।

तर उता युरोपेली मुलुकहरू र केही एसियाली मुलुकहरूमा पनि सबै भन्दा बुद्धिमानी, विवेकी मानिसलाई उल्लुसँग तुलना गरिन्छ। उल्लुलाई देख्नु भनेको कुनै पनि काम गर्दा साइत पर्छ भन्ने चलन पनि छ। सपनामा लाटोकोसेरो देखे पनि धन्य-धान्य हुने विश्वास गरिन्छ।

सबै भन्दा स्मार्ट लाटोकोसेरो वा हुचीलको सबैभन्दा ठुलो कमजोरी भनेको दिउँसोको समयमा राम्ररी आँखा देख्न नसक्नु मात्र हो। लाटोकोसेरोलाई वास्तवमा बाठोकोसेरो भन्नु पर्छ भनेर यसबारे पुस्तक नै लेखिएको छ।

के उल्लुहरू नेताहरूले भने झैँ काम नलाग्ने हुन्छ त?

यिनीहरूको आँखा मान्छेका जस्तै अगाडि फर्किएको हुन्छ। यिनीहरूले आफ्नो टाउकोलाई एकै दिशामा २७० डिग्रीसम्म घुमाउन सक्छन्, जबकि मानिसले मात्र ९० डिग्री मात्र। यिनीहरू राति बढी सक्रिय हुने भएकाले सुन्ने क्षमता पनि सोहीअनुरूप विकास भएको हुन्छ, जुन मानिसभन्दा १० गुणासम्म बढी हो।

एक अध्ययनका अनुसार गोठे लाटोकोसेरोको एउटा परिवारले फुल (अण्डा) पारेर, कोरल्दै चल्लालाई उड्ने बनाउने बेलासम्मको एक सिजन (करिब ४ महिना) मा २,००० देखि ३,००० वटासम्म मुसा खाने गरेको भेटिएको छ। मुसालगायत खाएर अन्नबाली जोगाउने भएकोले यिनलाई किसानको साथी पनि भनिन्छ। यसको उपस्थितिले एकातिर मुसाको सङ्ख्या नियन्त्रण गर्दछन् भने अर्को तर्फ किसानले विषादीमा गर्ने खर्चमा कटौती हुन्छ।

यिनीहरूको उपस्थितिले प्रकृतिको अवस्था, पर्यटन वृद्धि, अध्ययन र वातावरण सन्तुलन आदिमा अहम् भूमिका खेल्छन्। यिनलाई देवी लक्ष्मीको वाहनसमेत मानिन्छ।

वार्षिक रूपमा ५-७ प्रतिशत पर्यटकहरू चराहरू हेर्न आउँछन्। जसले गर्दा देशको आर्थिक विकासमा समेत सहयोग पुग्दछ।

आध्यारोमा पनि आवाजको आधारमा आफ्नो आहारा खोज्न सक्छन्।

बिहान र बेलुकी लाटोकोसेरोको सक्रियताले पुर्खाहरूले समयको बारेमा अनुमान समेत गर्दथे।

यो कस्तो चरा हो?

लाटोकोसेरो तराईदेखि हिमालसम्म पाइन्छन्। वन, पहरा, घाँसे मैदान, कृषि क्षेत्र, बस्ती र सबै खालको वासस्थानमा भेटिने गर्दछन्। आँखा र कान असाध्यै शक्तिशाली हुन्छन्। साना प्रजातिहरूलाई लाटोकोसेरो भनिन्छ भने ठुला हुचिल, भुद्रुङ र हाप्सिलो आदि नामले चिनिन्छन्।

त्यसो त यिनीहरूले दिउँसो पनि आँखा देख्न सक्छन्। लाटोकोसेराको शरीर अत्यन्तै हलुका तथा नरम भुवाहरूले ढाकेको हुनाले उड्दाखेरि आवाज आउँदैन। यसले १ देखि १४ वटासम्म फुल पार्छ। यसको अनुमानित आयु ४ देखि १२ वर्षसम्म हुन्छ।

लाटोकोसेरा प्राय राती तथा बिहान सक्रिय हुने र सिकार गर्ने चरा हो। यिनीहरू सिकारी चरा हुन्, त्यसैले अरूलाई मारेर खान्छन्। यिनीहरूले सर्प, भ्यागुता, मुसा, छुचुन्द्रो, गँगटा, गँड्यौला, किराफट्यांग्रा, माछा, माउसुली, छेपारो, चमेरा, माकुरा, शंखेकिरा, लोखर्के, फ्याउरो, मलसाँप्रो र खरायो आदिलाई आहारा बनाउँछन्।

अन्त्यमा,

मानिसलाई पटक्कै नोक्सान नगर्ने बरु हानिकारक जीवहरूको सङ्ख्या नियन्त्रण गरेर हामीलाई सहयोग गर्ने यो चरालाई किन साङ्केतिक रूपमा नराम्रो भनेर प्रयोग गरियो होला? उल्लु जस्तै सोच, जीवन शैली र मेहनत गर्ने हो भने हामी निकै अगाडि बढी सक्थ्यौँ। अब देखि राम्रा र मेहनतीलाई मात्र उल्लु जस्तो भन्ने कि!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell