PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

स्पेनको त्यो स्कुल जहाँ सिकाइन्छ गोरु जुधाउन, बालबालिका बन्छन् 'बुल फाइटर'

स्पेनको त्यो स्कुल जहाँ सिकाइन्छ गोरु जुधाउन, बालबालिका बन्छन् 'बुल फाइटर'


बिहीबार नुवाकोटका विभिन्न स्थानमा ३५ हल गोरु जुधाइयो। माघे संक्रान्तिका दिन हरेक वर्ष गोरु जुधाउने गरिन्छ। गोरु जुधाएको हेर्न विभिन्न जिल्लाबाट मानिस नुवाकोट पुग्ने गर्छन्। यसलाई कूल परम्पराको निरन्तरताका रुपमा समेत व्याख्या गरिन्छ।

वर्षको एक दिनमात्रै प्रतिस्पर्धाको रुपमा रहँदा भावी पुस्तालाई यो परम्पराको निरन्तरतामा खटाउन गाह्रो हुने देखिन्छ। अझ गोरु जुधाईलाई व्यवसायिक बनाउन त निकै कठिन छ।

यता स्पेनको पहिचान नै बनेको गोरु जुधाईको कला जोगाउन भने अहिले विभिन्न प्रयास भइरहेका छन्। स्पेनमा ‘बुल फाइट’ का रुपमा निकै प्रख्यात रहेको गोरु जुधाई कला लोप हुन नदिन बालबालिकालाई गोरु जुधाउने प्रशिक्षण दिइएको छ।

मड्रिडको लस भेन्टासमा रहेको बुलफाइटिङ स्कुलमा विद्यार्थी दैनिकजसो गोरु जुधाउने कला सिकिरहेका छन्। प्रशिक्षणका क्रममा गोरुलाई हेर्ने, नियन्त्रणमा लिनेदेखि परम्परागत तरिका समेत बुझाइन्छ।

स्टेडियममा एकजना विद्यर्थी रातो रंगको कपडा समाउँदै ‘बुल फाइटर’ बन्छन्। अर्को विद्यार्थी एक पांग्रे साइकलमा अड्याइएको नक्कली गोरुको टाउको लिएर ‘बुल’ बन्छ । अनि बुल फाइटर र बुलबीच सुरु हुन्छ फाइटिङ विद्यालयमा आफ्नो पढाइ सकेपछि विद्यार्थीहरु ‘बुल फाइटिङ’ सिक्न लस भेन्टास पुग्ने गर्छन्।

गत मार्चदेखि अगस्तसम्म कोरोना भाइरसका कारण बुल फाइटिङ स्कुल बन्द भएको थियो। अहिले भने फेरि सुरु भएको छ। स्कुल सञ्चालनमा आए पनि धेरै संख्यामा मानिस भेला हुने क्रियाकलापमाथि प्रतिबन्ध भने कायमै छ।  

स्पेनमा पशु अधिकारकर्मीहरुले बुल फाइटिङको विरोध गर्दै आइरहेका छन्। यद्यपि, स्पेनले यसलाई आफ्नो कूल परम्पराको रुपमा व्याख्या गर्दै आएको छ। त्यसैले पनि विद्यार्थी बुल फाइटिङलाई मज्जाले सिकिरहेका देखिन्छन्। प्रशिक्षणका क्रममा विद्यार्थी र शिक्षकहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सरकारले तोकेको हेल्थ प्रोटोकल पालना गरिएको छ।

स्पेनमा पशु अधिकारकर्मीहरुको विरोधपछि केही स्थानमा बुल फाइटिङमाथि प्रतिबन्ध समेत लगाइएको थियो। तर, बुल फाइटिङका लागि प्रसिद्ध रहेको लस भेन्टास भने विद्यार्थीहरुलाई गोरु जुधाई सिकाउन पाउँदा ‘प्रेभिलिज्ड’ छ। यहाँ बुल फाइटिङका लागि स्पेनमै सबैभन्दा बढी दर्शक अट्ने स्टेडियमसहितको ठूलो ‘रिङ’ छ। करिब २३ हजार दर्शक अट्ने यो रिङ बुल फाइटिङका लागि विश्वकै तेस्रो ठूलो रिङ हो।

बुल फाइटिङ स्कुलमा हाल ७० जना विद्यार्थी रहेका छन्। १४ वर्षमा बुल फाइटिङ सिक्न सुरु गरेका विद्यार्थी १६ वर्षको उमेरसम्ममा गोरु जुधाउन ‘प्रोफेसनल’ भइसक्छन्। तर गोरु जुधाउन प्रोफेसनल हुन त्यति सजिलो छैन। त्यसका लागि कडा मेहनत गर्नुपर्छ। १०० जनामा मात्रै ५ वा ६ जना मात्रै फाइटर बन्न सक्छन्। सबैभन्दा राम्रो बुल फाइटर एक दहबमा एक जना भेटिने प्रशिक्षक मिगुल रोड्रिगेज बताउँछन्।

STORY : AP NEWS /  Photo : Manu Fernandez



ट्रेन्डिङ पोस्ट

Ncell